बीस जना अट्ने कारागारमा एकसय ४४ जना

सल्यान, १३ भदौ ।
जिल्ला कारागार सल्यानमा क्षमताभन्दा अत्यन्तै बढी कैदीबन्दी राखिँदा समस्या हुन थालेको छ । अटाइ नअटाई कैदीबन्दी राखिँदा उनीहरु भान्साकोठा, कोलियामा सुत्न बाध्य भएका छन् । कारागारमा क्षमताभन्दा करिब आठ गुणा बढी कैदीबन्दी राखिएको छ। कारागार २० जना कैदीबन्दी राख्ने क्षमताको हो। तर बढीमा कोचेर राख्दा पनि ४० जना मात्र अट्छ ।

जिल्ला कारागार सल्यानका जेलर बलबहादुर केसी भन्छन्, ‘भान्साकोठादेखि कोलिया र ढोकासम्म लाइन लगाएर कैदीहरुलाई सुताउनुपर्ने बाध्यता छ ।’ कारागारमा चार बालबालिकासहित १ सय ४४ जना छन् ।

तीनमा १ सय १८ पुरुष र २२ जना महिला रहेका जेलर केसीले बताए । उनले भने, ‘पुरुषका लागी ६ वटा कोठा छन् भने महिलाका लागि २ वटा मात्रै छन् ।’ गत वर्ष पनि क्षमताभन्दा बढी कैदीबन्दीका लागि राति सुत्ने समस्या भएपछि कारगारको एउटा कोठामा आकाशे खाट बनाइएको उनले बताए ।

कारागारमा अहिले बढी मात्रामा कर्तव्य ज्यान, जबरजस्ती करणी उद्योग, बहुविवाहका कैदीबन्दी रहेको जेलर केसीले बताए । चर्पीको निकै सास्ती कारागारभित्र ११८ जना कैदीबन्दीले एउटै चर्पी प्रयोग गर्दै आइरहेका छन् । कारागारभित्र पुरुष र महिला कैदीबन्दीका लागि छुट्टछुट्टै दुई वटा चर्पी छन् ।

जसमध्ये २२ महिला कैदीबन्दी र ४ बाललिका गरी २६ जनाले एउटा चर्पी प्रयोग गर्दै आएका छन् । दिउँसोको समयमा भने पुरुषहरूका लागि बाहिरका थप दुई वटा र महिलाका लागि बाहिरका थप एक वटा चर्पीको व्यवस्था गरिएको छ । तर राति भने एउटै चर्पी प्रयोग गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया