जागिर छोडेर गहना बनाउने काममा फर्किएँ

तिर्थ सुनार/सुनचाँदी व्यवसायी

दैलेखको एउटा गाउँमा सामान्य परिवारमा जन्मिए । बाल्यकालदेखि नै संघर्ष गर्दै आएका तिर्थ सुनार अहिले अव्बल सुनचाँदी व्यवसायी बनेका छन् । जीवनमा धेरै दुखकष्ट पार गर्दै अन्ततः उनले सुर्खेतमा न्यू दैलेखी पञ्चकोशी काल भैरव आभुषण कला केन्द्र सञ्चालन गरेका छन् । उनले देखेको सपना भने सुनचाँदी व्यवसाय थिएन । गरिब परिवारमा संघर्ष गर्दै हुर्किएका तिर्थलाई समय र बाध्यताले यो व्यवसायमा तान्यो । अहिले उनी यही पेशामा सन्तुष्ट छन् । प्रस्तुत छ, आजको जम्काभेटमा उनीसँग गरिएको कुराकानीको शारांस :-

घरको काम गर्दै, पढ्दै
मेरो जन्म २०४९ बैशाख २ गते दैलेखको दुल्लु नगरपालिका–१ पाल्त गाउँमा भएको हो । म सामान्य परिवारमा जन्मिएको हुँ । म गाउमै जन्मिए र गाउँमै हुर्किएँ । बिहान बेलुका घरको कामसँगै स्कुल पढे । गाउँले जीवन फुर्सदको बेला घरासायी काम तथा मेलापात नगरी सुख थिएन । कक्षा ५ सम्म गाउँकै स्कुलमा अध्ययन गरेँ । पछि गाउँबाट बाबा सुनचाँची व्यवसाय गर्ने क्रममा तल्लो डुंगेश्वरमा आएपछि हामी पनि त्यही आयौं । त्यसपछि म कक्षा ६ देखि ८ सम्म तल्लो डुंगेश्वरमा रहेको एक विद्यालयमा पढेँ । भाइको पढाइ सुर्खेतमा भएपछि म पनि कक्षा ९ मा सुर्खेतको जन माविमा भर्ना भएर कक्षा १० सम्म पढेँ । तर एसएलसी भने गाउँकै भानु उच्च माविबाट दिएर पास भएँ ।

डाक्टर बन्ने सपना अधुरै
पहिले गाउँमा सुनको काम गर्नेलाई तिरस्कार गरिन्थ्यो । अर्काको घरमा वर्षभरी काम गरेको र त्यो घरमा चाहिने सुनका गहना बनाईदिए वापत अन्नपात दिने चलन थियो । मेरो बाबाले आफ्नो उमेर त्यही पेशा गरेर बिताए । तर मलाइ सुनका गहना बनाउने काममा नलागोस् भन्ने चाहना बाबाको थियो । समाजलाई देखाउनका लागि मेरो बाबा मलाइ डाक्टर पढोस् र बनोस् भन्ने चाहन्थ्ये । मेरो गाउँजस्तै दुर्गममा औषधि नपाएर मर्ने व्यक्तिलाई बचाउनुपर्छ भन्ने लाथ्यो । मैले डाक्टर बन्नका लागि एचए पढ्न प्रवेश परीक्षा दिएँ । उतिर्ण पनि भएँ ।

तर हाम्रो भनाइ र सोचाइ अनुसार पढ्नका लागि सजिलो थिएन । जो आर्थिक हिसाबले निकै महंगो हुने रहेछ । पछि धरौटी रकम तिर्न नसकेर मैले डाक्टर पढ्ने सपना छोडिदिएँ । विजय उच्च मावि दुल्लुमा प्लस टु साइन्समा भर्ना खुलेपछि मैले त्यहीबाट दुई वर्षे प्लस टु साइन्स पास गरेँ । घरायासी आर्थिक अवस्था कमजोर भएपछि प्लस टु को रिजल्ट आउन्जेलसम्म मासिक २५ सय देखि ३५ सयसम्मको तलबमा नजिकैको एक निजी विद्यालयमा पढाउने काम गरँे ।

घरको कमजोर आर्थिक अवस्थाका कारण साइन्स पढाइलाई अघि बढाउन सकिन । उच्च शिक्षाका लागि सुर्खेतमा आएर शिक्षा क्याम्पसमा भर्ना भएँ । तर बीएड प्रथम र दोस्रो वर्षको परीक्षा दिएपछि मेरो पढाइ रोकियो । सुर्खेतमा बसेर पढ्नका लागि घरबाट खर्च व्यवस्थापन गर्न हम्मेहम्मे भएपछि म पढाइ छोडेर जागिरका लागि महादेव निम्न माध्यामिक विद्यालय तल्लो डुंगेश्वरमा गएँ ।  त्यहाँ त्यतिबेला मासिक १०/१२ हजार तलब थियो । त्यही तलबमा दुई वर्षजति जागिर गरेँ । तर विवाहपछि सोही तलबले घर धान्न हैरान भएपछि जागिर छोडेर सुनचाँदीका गहना बनाउने काममा फर्किने निधो भयो ।


बाध्यताले रोजेको पेशा
मेरो श्रीमती पनि वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा पढ्दै थिइन् । मैले जागिरबाट कमाउने मासिक १०/१२ हजार रकमले आफ्नो, घरको र श्रीमतीको पढाइ खर्च कठिन भयो । त्यतीबेलै घर सम्हाल्ने मेरो बाबासरु सुनारको निधन भयो । मैले घर सम्हाल्नुपर्ने अवस्था आयो । आर्थिक संकट बढ्दै गयो । अन्ततः पैंसा कमाउने अन्य कुनै सीप र विकल्प नभएपछि बुवाबाट सिकेको सुन बनाउने पेशा नै रोज्ने निर्णय गरेँ । सुनचाँदी व्यवसाय सुरु गर्नका लागि घरमा ५०/६० हजार रुपैंया पनि थिएन । घरदेखि आफन्तहरु सबैले तैले सुनचाँदी व्यवसाय गर्न सक्दैनस् भने । अन्ततः कुनै विकल्प नभएपछि मैले झोलामा सुन बनाउने सामान राखेर गाउँगाउँ डुल्न थालेँ ।

गाउँगाउँमा सुन बनाउन जादाँ मलाइ यही पेशामा अनुभव बढ्दै गयो । आफैमा आटँ र जागँर बढ्यो । कमाइ पनि राम्रो हुँदै गयो । पछि मेरो श्रीमतीको हौसलामा सुर्खेतमा सुनचाँदी व्यवसाय सुरु गर्ने निधो भयो । पहिलो पटक सुर्खेतको इत्राममा पसल खोलेँ । त्यहाँ मैले ग्राहकको विश्वास जितेपछि ग्राहक पनि बढ्दै गए । विस्तारै कमाइ पनि राम्रो हुदै गयो । अनी ऐरीचोक नजिक पसल सारँे । अहिले राम्रै चलेको छ । १० जना बढीलाई काम दिएको छु ।

म खुसी हुदाँ बाबाको दुख सम्झिन्छु  
अहिले म मेरो पेशाबाट खुसी छु । आत्मसन्तुष्टि पनि मिलेको छ । तर अहिल म खुसी रहेको बेला मेरो बाबा साथमा नहुँदा विगतमा बाबाका दुख सम्झिएर मन भक्कानिन्छ । अहिले हामीले सजिलै आफ्नो पेशा गरेर खाएका छौं । तर मेरो बाबाले त्योबेला अर्कोको घरको काम गर्दागर्दै कहिल्यै राम्रोसँग खान र बस्न पाउनु भएन । ठुलो परिवार । बिहान ६ बजे काममा निस्किएको मेरो बाबा राती १० बजे मात्रै आउनुहुन्थ्यो । दिनभरको कामले थाकेका बाबा सँधै आफ्नो पीडा लुकाएर राख्नुहुन्थ्यो ।

अहिले बाबा साथमा नभएपनि ६२ वर्षिया आमालाई साथमा सुख दिएर राखेको छु । तर बाबालाई सम्झिदाँ न्यास्रो लाग्छ ।  जसले हिजोका दिनमा सुन बनाउने सुनार, कामी, सार्की र दलितलाई घृणा गथ्र्ये । आज उनीहरुले सुन बनाउने र लुगा सिलाउने जस्ता काममा लागेका छन् । समय परिवर्तनशिल छ । दिनपछि रात आउँछ भन्ने सोच्नुपर्छ । सबैले असल कर्म र व्यवहार गर्नुपर्छ । अवश्य सफलता प्राप्त हुन्छ । आज पनि अधिकांश समाजमा जातिय विभेद कायमै छ । यसको अन्त्य अबको माग हो ।

आगामी योजना
मेरो एक छोरा र एक छोरी छन् । आफ्नै पेशा छ । खान लगाउन पुगेकै छ । मलाइ खासै ठुलो महत्वकांक्षा त केही छैन । तर आफु मात्रै खुसी भएर हुँदैन । हाम्रो समाज पनि खुसी हुनुपर्छ । सबै आत्मनिर्भर हुनुपर्छ । समाजमा रहेका विकृती अत्त्य हुनुपर्छ । त्यसैले अबको मेरो बाटो व्यवसायसँगै समाजसेवा हो । समाजमा असल र सभ्य बन्न सिकाउँछु । मैले जानेका आत्मनिर्भर बन्ने विकल्प सुनाउने छु । जसले दुख पाएको छ, जसलाई सानो समस्याले ठुलै काम रोकिएको छ । म उसैलाई सहयोग गर्दै मेरो समाज सेवालाई अघि बढाउने छु । राजनीतिमा गएर ठुलै उपलब्धि गरौंला भन्ने पनि सोचाइ छैन । म जे गर्छु आफ्नो र अर्कोको आत्मसन्तु्ष्टिका लागि काम गर्नेछु ।
(२०७७ भदौं १२ गते शुक्रबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार