एक बर्षमै उप्कियो फोरलेनको कालोपत्रे

सुर्खेत, १२ भदौ ।
वीरेन्द्रनगरकै गौरबको आयोजनाको रुपमा लिइएको फोरलेन (चारलाइन) सडक भत्किन थालेको छ । निर्माण पूरा भएको एक बर्षमै सडकमा खाल्डाखुल्डी बनेका छन् । धुलियाबिटदेखि बाङ्गेसिमलसम्मको यो सडकको कालोपत्रे उप्किन थालेको हो । यो सडकमा पर्ने पुलहरु अहिले पनि निर्माण भएका छैनन् । पूर्णरुपमा संचालनमा नआउँदै सडकमा खाल्डा परेका छन् । कालोपत्रे नै उप्किएका कारण सवारी साधनलाई असहज भएको छ ।

सडकमा रहेका खाल्डाका कारण दुर्घटनाको जोखिम पनि बढेको छ । हस्तान्तरण भएको केही महिनामै सडकमा खाल्डा पर्न थालेपछि सडक निर्माणको गुणस्तरमासमेत प्रश्न उब्जिएको हो ।  दोस्रो चरण अन्तरगत निर्माण भएको पुरोना कर्मचारी संचयकोषदेखि सिद्धार्थ होटल नजिकसम्मको खण्ड एक वर्षअघि मात्रै निर्माण भएको थियो । तर निकास विना नै सडक बनाइएको भन्दै लामो समयदेखि स्थानीयले विवाद गर्दै आएका थिए ।

जसले गर्दा सडक हस्तान्तरण हुन केही समय लागेको थियो । फोरलेन सडकमध्ये मंगलगढीचौकदेखि बुलबुलेचौकको विभिन्न खण्डमा अहिले कालोपत्रे उप्किएको छ । यस्तै सडकका अधिकांश स्थानमा कालोपत्रे उप्किएर खाल्डा बनेका छन् । सबैभन्दा बढी मंगलगढी चौकदेखि बुलबुल चौकसम्म कालोपत्रे उत्किएको छ ।  झण्डै १५ करोडको लागतमा बनेको यो सडक भत्कीएपछि सर्वसाधारणले गुणस्तरमा प्रश्न उठाएका छन् ।

कालोपत्रे उप्किएको क्षेत्रको सडक निर्माण कम्पनी स्वच्छन्द/श्याम एण्ड शंकर जेभीले झण्डै १५ करोड अर्थात भ्याट बाहेक १४ करोड ४० लाख ४१ हजार पाँच सय ९१ रुपैयाँ ४० पैसामा निर्माण गरेको थियो । एक वर्षअघि नै निर्माण सम्पन्न भए पनि हस्तान्तरण हुन झण्डै एक वर्ष लागेको थियो । सडक हस्तान्तरण भएको डेढ महिनामै कालोपत्रे उप्किन थालेपछि निर्माण कार्यमा गुणस्तरहीन काम भएको पुष्टि भएको छ । सडक उप्किएपछि तत्काल मर्मत तथा सुधार गर्न सडक डिभिजन कार्यालय सुर्खेतले निर्माण कम्पनीलाई ताकेता गरेको छ ।

यता निर्माण कम्पनीले भने कालोपत्रे भएको केही क्षणमै गाडी चलेका कारण कालोपत्रे उप्किएको बताएको छ । गुणस्तरहीन काम नभइ कालोपत्रे भएलगत्तै गाडी गुड्नु र निकास नहुँदा पानी सडकमा परेका कारण कालोपत्रे भत्किएको निर्माण कम्पनीको दाबी छ । बर्षात्को मौसम सकिएपछि सडक मर्मत गर्ने निर्माण कम्पनीका प्रतिनिधि पदम खड्काले बताए । मुख्य बजार क्षेत्रको पानी बग्ने निकास नहुँदा पानी सडकमा परेपछि अधिकांश ठाउँको कालोपत्रे उप्किएको खड्काको भनाइ छ ।

पुलको काम अधुरै
फोरलेन सडकको काम सम्पन्न भएको वर्षदिन पुगेको छ । तर यही सडकमा निर्माण गर्नुपर्ने विभिन्न पाँच वटा पुलहरु भने हालसम्म बन्न सकेका छैनन् । फोरलेन सडकका विभिन्न पाँच ठाउँमा पुल निर्माण भइरहेका छन् । सडक डिभिजन कार्यालयका सूचना अधिकारी देवेन्द्र भट्टराइका अनुसार सबै पुलहरु २०७७ साल माघ ११ गतेभित्र निर्माण गरिसक्नु पर्नेछ ।


पक्की पुल निर्माणका लागि सडक विभागले सपना, आशिष, श्याम एण्ड शंकर जेभी कम्पनीलाई भ्याट बाहेक ३३ करोड १९ लाख ७७ हजार ६ सय १७ रुपैयाँ ३३ पैसामा ठेक्का दिएको छ । फोरलेन सडक अन्तर्गत पर्ने गाग्रेताल खोला, नेवारेखोला, इत्राम खोला, खोर्केखोला र ढोढेखाली खोलामा पक्की बनिरहेका छन् । जसमध्ये तीन वटा पुलहरुको निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

इत्रामखोला र खोर्केखोला पुल भने बर्खापछि र लकडाउन खुलेपछि निर्माण सम्पन्न हुने उनको भनाइ छ । फोरलेन सडकमा पक्की पुल बनेपछि यात्रामा अझ सहज हुने अपेक्षा गरिएको छ । हिजोआज भने पुल बनिरहेका स्थानमा बैकल्पिक मार्गको प्रयोग गरिएको छ । पुल निर्माण सकिएपछि यात्र थप सहज हुने अपेक्षा गरिएको छ ।

मर्मत गर्न निर्माण कम्पनीलाई ताकेता
सडक डिभिजन कार्यालय सुर्खेतले कालोपत्रे उप्किएको सडकमा तत्काल मर्मत गर्न निर्माण व्यवसायीलाई आग्रह गरेको छ । ‘सडक हस्तान्तरण भएको वर्ष दिनसम्म निर्माण व्यवसायीले नै मर्मत गर्नुपर्छ’ सडक भिभिजन कार्यालय सुर्खेतका इन्जिनियर सजना पोखरेलले भनिन्, ‘अब यो बर्खा र लकडाउन हट्ने वित्तिकै सडक मर्मत गर्न लगाउँछाँै ।’

लकडाउनका कारण मजदुरहरु नपाउने र बर्खामा मर्मत गर्दा पुनः कालोपत्रे उप्किने भएका कारण बर्खा हटेपछि सडक मर्मत हुने उनको तकको तर्क छ । ‘फोरलेन सडकका विभिन्न क्षेत्रमा खाल्डाखुल्डी परेका छन्, निर्माण कम्पनीलाई मर्मत गर्न ताकेता गरेका छौँ’ उनले भनिन् । यो मर्मत गर्ने जिम्मेवारी निर्माण कम्पनीकै भएको उनको भनाई छ ।

सडकको बिचमा भएन हरियाली
वीरेन्द्रनगरमा निर्माण भएको फोरलेन सडकको बीच भागमा हरियाली बगैचा निर्माण योजना पनि अलपत्र परेको छ । बारभित्र रोपिएका कुनै क्षेत्रमा विरुवा नै रोपिएको छैन भने रोपिएका क्षेत्रमा पनि विरुवाहरु राम्रोसँग उम्रिएका छैनन् । सडकलाई सुन्दर बनाउन र बजारको प्रदुषण रोक्ने उद्देश्यले सडकको बीचभागमा हरियाली बगैचा निर्माण गर्ने तयारी गरिएको थियो ।

बिरुवा उम्रिएपछि फोरलेन सडक वातावरणिय हिसावले पनि वैज्ञानिक र सुन्दर देखिने अपेक्षा गरिएको थियो । सडकको बीचभागमा विरुवा रोप्न र बगैचा बनाउन झण्डै एक करोड रुपैयाँ खर्चिने गरिएको थियो । प्रदेश बन निर्देशनालयले आर्थिक वर्ष २०७५÷०७६ मा ४५ लाख र डिभिजन वन कार्यालयले ५० लाख रकम छुट्याएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार