सुर्खेत, १२ भदौ ।
कोरोना संक्रमणका कारण गम्भीर विरामी परेकाहरुका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामामा सात वटा बेड भेन्टिलेटर र १० वटा बेड आइसीयूको व्यवस्थापन गरिएको छ । तर हालसम्म एकजना विरामी पनि आइसीयू र भेन्टिलेटरमा राख्नु परेको छैन । अस्पतालको प्रयोगशालाका संयोजक विवेक पुनका अनुसार हालसम्म उपचार गरिएका कुनै पनि संक्रमित गम्भीर प्रकृतिका थिएनन् ।
त्यस्तै प्रदेश अस्पताल सुर्खेतमा हालसम्म तीनसय २० जना कोरोना संक्रमितको भर्ना भए । तर सात जनाबाहेक अन्य संक्रमितलाई आइसीयू वा भेन्टिलेटरमा राख्नु परेन । आइसीयूमा राखेका सात जनामध्ये ६ जना संक्रमणमुक्त भइसकेका छन् । बाँकी एकजना संक्रमित पनि छिट्टै निको हुने अस्पतालले जनाएको छ । दैलेखकी ति संक्रमित महिलालाई कोरोनाका कारण नभई एपेन्डिसाइडको पनि अप्रेशन गरेका कारण आसीयूमा राख्नु परेको हो । आइसियूमा राखिएका अन्य ६ जना पनि कोही बृद्ध, दीर्घरोगी र अन्य रोग रोगबाट ग्रस्त विरामी थिए । जसका कारण उनीहरुलाई आइसीयूमा राख्नु परेको हो ।
देशका अन्य स्थानमा लक्षणसहितका संक्रमित भेटिएका छन् । अधिकाँशलाई अहिले पनि आइसीयू र भेन्टिलेटरमा राख्नु परेको छ । कतिपय अस्पतालमा आइसीयू र भेन्टिलेटरको अभाव देखिएको छ । तर कर्णालीमा भने आजको दिनसम्म अवस्था सुखद छ । कारण यहाँका कुनै पनि संक्रमितलाई भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आएको छैन । चिकित्सकका अनुसार आईसीयू र भेन्टिलेटरमा राख्नु नपर्ने अवस्था भनेको सुखद् हो । प्रदेश अस्पतालको आइसोलेसनमा पुगेका संक्रमितमध्ये हालसम्म १९ जनामा कोरोनाको लक्षण देखिएका थिए । तर उनीहरुको अवस्था गम्भीर थिएन ।
पछिल्लो समयमा संक्रमण पुष्टि भएका दीर्घरोगी र बृद्धबाहेक अन्य सबै संक्रमित सामान्य छन् । ‘गम्भीर प्रकृतिका संक्रमित छैनन्, तर १९ जनामा लक्षण देखिएको छ’ प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकलपर्शन डाक्टर प्रदिप न्यौपाने भन्छन्, ‘कोरोना लाग्यो भन्दैमा डराइ हाल्नुपर्ने अवस्था छैन, तर संक्रणमको दर रोक्नका लागि सचेत हुनैपर्छ ।’
पछिल्लो समय समुदायमा संक्रमण फैलिएका कारणबढी सचेत हुनुपर्ने उनको भनाइ छ । तर मास्क, सेनिटाइजर र सामाजिक दुरी कायम गरेको खण्डमा भने आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । जुम्ला र सुर्खेतमा मात्रै होइन, कर्णाली प्रदेशका सबै दुईहजार तीनसय १९ जना नै कोरोनाका कारण गम्भीर विरामी थिएनन् । मृत्युपछि कोरोना संक्रमणपुष्टि भएका ६ जनामा पनि अन्य कारणले मृत्यु भएका हुन् । कोही आत्यहत्या र कोही दीर्घरोगका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोनाको त्रासपछि अस्पताल आउने विरामी घटे
कोरोना भाइरसको महामारीअघि प्रदेश अस्पताल सुर्खेतमा दैनिक पाँचदेखि सातसयसम्म विरामीहरु आउँथे । विरामीको चापका कारण विहान ९ बजे नै अस्पतालको ओपीडी सेवा सञ्चालन हुन्थ्यो । नाम लेखाउन र टोकन लिन विरामीहरु आठ बजे नै अस्पताल पुग्थे । ओपीडीका विरामीको चेकजाँच गर्न डाक्टरलाई भ्याइननभ्याई हुन्थ्यो ।
जनरल अप्रेशन, नियमित चेकजाँच गर्नुपर्ने विरामीले पनि सेवा पाउन घण्टौँ कुर्नुपथ्र्याे । कोरोना भाइरसको बैशाख ३१ गतेसम्म देशभरका अस्पतालले ओपीडी सेवा नै बन्द गरे । झण्डै तीन महिनासम्म लकडाउन भयो । लकडाउन खुलेपनि विरामी अस्पतालसम्म पुग्नका लागि यातायातहरु सञ्चालन भएनन् । केही समय अन्तरजिल्लामा मात्रै यातायातहरु सञ्चालन भए । केही हप्तादेखि कर्णालीका सात जिल्लामा निषेधाज्ञा नै लगाइयो । जसकाकारण अस्पतालमा आउने विरामी ह्वात्तै घटेका छन् ।
पहिले दैनिक सातसयसम्म विरामी आउने प्रदेश अस्पतालमा अहिले एक/डेढ सयमात्रै विरामी आउने गरेको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए । ‘कोरोनापछि ओपीडीमा ७५ प्रतिशत विरामी घटेका छन्, तर इमरजेन्सीका विरामीको चाप पहिलेकै जस्तो छ’ उनी भन्छन् ‘यातायात बन्द भयो, गम्भीर विरामी अस्पताल आए, सानोतिनो उपचार गाउँ घरमै गराए ।’ कोरोना त्रासका कारण अन्य अस्पतालले विरामीहरु प्रदेश अस्पतालमा रिफर गर्दा प्रसुतिका विरामी बढेको अस्पतालले जनाएको छ । गत आर्थिक वर्षमा ४८ सय विरामीले सेवा लिएको अस्पतालको तथ्याङ्कले देखाउँछ । अस्पतालमा आउँदा कोरोना संक्रमण हुने त्रासका कारण पनि अधिकाँश विरामीहरुले घरमै प्राथमिक उपचार गर्ने गरेका छन् ।
जनप्रतिनिधि र डाक्टरमा संक्रमण
सुर्खेतमा बुधबार एक/एक जना जनप्रतिनिधि र डाक्टरसहित ६ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश प्रयोगशालामा गरिएको परीक्षणले चौकुने गाउँपालिकाका एकजना जनप्रतिनिधि र कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टरसहित ६ जना स्वास्थ्यकर्मी संक्रमण पुष्टि गरेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार एक जना सवारीसाधन मर्मतकर्ता र क्वारेन्टाइनमा रहेका दुई जनामा संक्रमण पुष्टी भएको छ ।
योसँगै कर्णालीमा कोरोना संक्रमण हुनेहरुको संख्या दुई हजार तीन सय १९ पुगेको छ । यस्तै बुधबार कर्णालीमा १२ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै कर्णालीमा संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार १९ पुगेको छ । पछिल्लो २४ घण्टामा कर्णालीमा पाँच सय ६३ जनामा स्वाव परीक्षण गरिएको थियो ।
युग संवाददाता । । १२ भाद्र २०७७, शुक्रबार ०७:४९