बर्षाले बाटो अवरुद्ध हुँदा सुत्केरी र नाबालक बच्चाको मृत्यु

गणेश विशु/नागरिक दैनिक
सुर्खेत, १० भदौं ।
वर्षाले सडक बाटो अवरुद्ध हुँदा कालीकोटमा एक सुत्केरी महिला र उनका नाबालकको मृत्यु भएको छ । रास्कोट–२, सिप्खानाकी २८ वर्षीया शीर सार्की र उनका नाबालक छोराको मृत्यु भएको हो । सुत्केरी बेथा लागेपछि स्टेचरमार्फत सेरा स्वास्थ्य चौकीमा रहेको प्रसूति गृह लिँदै गर्दा बीच बाटोमै उनी सुत्केरी भएकी थिइन् । उनले बाटोमा बच्चा जन्मिए पनि सालनाल खसेको थिएन ।

‘सालनाल नखसेपछि हामीले प्रसूति गृह लिएका थियौं,’ उनका जेठाजु हरसिंह सार्कीले भने, ‘त्यहाँ पनि उपचार हुन सकेन ।’ उनको घरबाट प्रसूति गृहसम्म सडक बाटो छ तर अहिले वर्षाका कारण अवरुद्ध छ । वर्षाको समयबाहेक अरु समयमा यहाँ दैनिक गाडी गुड्छन् । साउन १२ गते राति आएको पहिरोले चौथाखोला नजिकै बाटो बगाएपछि सडक बन्द भएको थियो । ‘गाडीबाट प्रसूति गृह जान पाँच मिनेटजति समय लाग्छ,’ उनले भने, ‘तर बाटो बन्द हुँदा आधा घण्टा बढी लाग्यो ।’ बाटोअवरुद्ध नभएको भए सुत्केरी महिलाको ज्यान बच्ने उनको भनाइ छ ।


सेरामा सुत्केरीको उपचार नहुँदा करिब एक घण्टाको दुरीमा रहेको सामुदायिक अस्पतालमा पुरयाइएको हरसिंहले बताए । सामुदायिक अस्पतालमा पनि उपचार सम्भव नहुँदा सुत्केरी शीरलाई जिल्ला अस्पताल लिँदै गर्दा बाटोमा मृत्यु भएको उनले जनाए । सामुदायिक अस्पतालबाट हिँडेको करिब पाँच मिनेटमा सुत्केरी महिलाको मृत्यु भएको आफन्तको भनाइ छ ।

सुत्केरी आमाको मृत्यु भएपछि दूध खान नपाएर नाबालक बच्चाको समेत एकदिन पछि मृत्यु भएको हरसिंहले जनाए । पाँच वर्ष अघि निर्माण भएको उक्त सडक बर्सेनि वर्षाको समयमा अवरुद्ध हुँदै आएको छ । ‘ठाउँठाउँमा बाटो अवरुद्ध नभएको भए तीन घण्टामै सदरमुकाम पुगिन्छ,’ उनले भने, ‘तर बाटो ठाउँठाउँमा बिग्रेकाले लिन सकिएन। अन्ततः दुःखद् घटना भयो ।’ शीरको मृत्यु भएपछि उक्त बाटो खुलाउन काम भइरहेको छ । कर्णालीका ग्रामीण क्षेत्रमा सडक अवरुद्ध हुँदा यहाँका सर्वसाधारणलाई स्वास्थ्य संस्थासम्म पुग्न सकस भएको छ । गाडी नहुँदा स्टेचरमा लामो दुरीको जोखिम यात्रा गर्दै यहाँका बासिन्दा स्वास्थ्य संस्थासम्म पुग्न बाध्य छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार