बोर्डिङमा छोरोछोरी बढाउने शिक्षकलाई १० हजार जरिवाना

सुर्खेत, १० भदौं ।
गुराँस गाउँपालिका दैलेखले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले निजी विद्यालयमा आफ्ना छोराछोरी पठाएको भन्दै सरकारी शिक्षकलाई कारवाही सुरु गरेको छ । उक्त पालिकाका जनप्रतिनीधिले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन नपाईने कार्यपालिकाले निर्णय गरेको छ । निजी विद्यालयमा छोराछोरी पठाएको पाइएमा जनप्रतिनीधि, सरकारी तलव भत्ता खाने शिक्षकलाई कारवाही गर्ने निर्णय गरिएको थियो ।

गाउँकार्यपालिकाको २०७५ चैत्र २५ गते गरिएको निर्णय अनुसार गाउँपालिकाका सबै सामुदायिक सरकारी विद्यालयका शिक्षकहरुले निजी विद्यालयमा छोरा छोरी पढाउन नपाउने गरी निर्णय गरेको थियो ।  गाउँपालिकाका तीन सरकारी शिक्षकलाई गाउँपालिकाले कारवाही गरेको हो । गुराँस गाउँपालिका–५, को कृष्ण माध्यमिक विद्यालय सानाकाँडाका तीन शिक्षकलाई जनही १० हजार रुपैयाँका दरले जरिवनासहित कारवाही गरिएको छ ।

आफुले सरकारी विद्यालयमा अध्यापन गराएर सरकारी तलवभत्ता खाने अनि गुणस्तरिय, भरपर्दो शिक्षा, अंग्रेजी शिक्षा चाहियो भन्दै आफ्ना छोराछोरीलाई निजी (बोर्डिङ) स्कुलमा पढाउने सरकारी शिक्षकहरु कारवाहीको सुरु गरिएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘सरकारी विद्यालयप्रतिको आक्रर्षण बढाउन, सरकारी शिक्षकहरुले दायित्व, जिम्मेवारी र कतव्य बोध गराउने, आफुले पढाउने विद्यालयप्रति थप जिम्मेवार बनाउन कार्यपालिकाबाटै निर्णय गरेर कार्यान्वयन सुरु गरिएको छ ।‘

सोही निर्णय अनुसार तीन शिक्षकहरुलाई कारवाही स्वरुप जरिवाना रकम दाखिलाको लागि पत्र पठाइएको स्रोत शिक्षक थिरेन्द्र कुमार विसीले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षक पदम बहादुर नेपाली, शिक्षिका रोशनी मल्ल र कमला कुमारी चन्दलाई गाउँपालिकाको आन्तरिक राजश्व खातामा जरिवाना रकम दाखिला गर्न पत्र पठाइएको छ । गत असार ३१ गते गाउँपालिकाको शिक्षा शाखाले उक्त विद्यालयलाई जरिवाना रकम दाखिला गर्न पत्र काटेपछि विद्यालयका प्रधानाध्यापक सुरेन्द्र कुमार चन्दले यही भदौं ८ गते शिक्षकहरुको नाममा पत्र काटिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया