जनहितकारीको सेवाकालिन तालिम

सुर्खेत, ९ भदौं ।
जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीरेन्द्रनगर–४, सुर्खेतले कर्मचारीहरुका लागि एक दिने सेवाकालिन तालिम मंगलबार सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवंम सहकारी बैंकका सञ्चालक हरिहरनाथ योगीले कोरोनाको महामारीको यो विषम परिस्थितिमा पनि जनहितकारीले सदस्यहरुलाई अत्यावश्यक सेवा उपलब्ध गराउन सफल भएको बताउनुभयो ।

उहाँले कोभिड–१९ को चुनौतिको सामना गर्दै सम्पूर्ण कर्मचारीहरुले यसरीनै एकताबद्ध क्रियाशिल क्षमता, परिणाममुखी नतिजाका लागि प्रतिबद्धताका साथ सहकारी अभियानको जिम्मेवारी बहन गरेकोमा खुशी ब्यक्त गर्दै यस्ता क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।  त्यस्तै विशेष अतिथि एवं सहकारीका कोषाध्यक्ष नवराज कँडेलले शेयर सदस्यहरुनै संस्थाका मालिक भएकाले जस्तोसुकै परीस्थितिको बावजुद पनि गुणस्तरीय सेवा गर्नु कर्मचारीहरुको मुल धर्म रहेकोले आफुसंग लुकेर रहेको रचनात्मक कार्यशैलीको प्रदर्शन गर्नु उत्प्रेरित गर्नुभयो ।

उक्त तालिमलाई विभिन्न ४ भागमा सेसन छुट्याई सञ्चालन गरिएको थियो । जसमा नियमित सञ्चालन र आचारसंहिता विषयमा हिमलाल गौतम, सेवा र नविनतम प्रविधिको विषयमा मितेन्द्रनाथ योगी, ऋण तथा ऋण ब्यवस्थापन विषयमा प्रेम आचार्य, त्यस्तै गरी लेखा संकलन र भुक्तानी प्रक्रियाका बारेमा लेखापाल बसन्त बहादुर बुढाले सहजिकरण गर्नुभएको थियो ।

२० जना कर्मचारीहरु उपस्थित उक्त कार्यक्रमको सञ्चालन प्रेम आचार्यले गर्नुभएको संस्थाका कर्मचारी भोज प्रसाद आचार्यले जानकारी दिनुभयो ।  उक्त कार्यक्रममा संस्थाका प्रबन्धक हिमलाल गौतमको सभापतित्व, संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक हरिहरनाथ योगीको प्रमुख आतिथ्यता र संस्थाका कोषाध्यक्ष नवराज कँडेलको विशेष आतिथ्यता सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया