दैलेख, ९ भदौं ।
जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोना रोकथामका लागि सुरक्षा सजगता निम्ति एसएमएस अभियान संचालन गर्ने भएको छ । कोभिड संकट व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले मंगलवार नागरिक समाजका अगुवाहरुसंगको बैठकमा यो अभियायनका जानकारी गराइएको हो ।
इन्द्र दल गुल्मका सेनानी बीके सिंह बिश्वकर्मा, प्रहरी नायव उपरीक्षक हरिबहादुर ओली, दैलेख अस्पतालका डा. निरञ्जन पन्त र सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री समेतको उपस्थितिमा गराइए अनुसार सरकारी र गैरसरकारी संस्थाहरुको साझेदारीमा अभियान चलाउने निधो गरिएको छ ।
सोसियल डिस्टेन्स कायम गर्ने, अनिवार्य मास्क लगाउने र सेनिटाइजरको प्रयोगले कोरोना रोकथाममा तीन वटा सुरक्षा सीप प्रयोग गराउन एक हप्ता अघि जिम्मेवारी सम्हाले लगतै दैलेखका प्रमुख जिल्ला अधिकारी सुनारले अभियान उद्घोष गर्नुभएको छ । एभरेष्ट क्लवका अध्यक्ष दीपक शाही, सामाजिक सेवा केन्द्र सोसेकका कार्यकारी निर्देशक बसन्त श्रेष्ठ, गैसस महासंघका राधा मल्ल लगायतले कोरोना रोकथामका लागि संञ्चालन गर्न लागिएका परियोजना कार्यक्रमहरुले एसएमएस अभियानलाई सघाउने बताएका छन् ।
प्रहरीलाई अटो सेनिटाइजर
कोरोना संक्रमण रोकथामका लागि प्रहरीको सक्रियताको सम्मान गर्दैै प्रहरी सुरक्षाकर्मी र प्रहरीमा आउने सेवाग्राहीहरुलाई कोरोना संक्रमणबाट जोगाउन दैलेखका एक व्यापारी हरि कार्कीले ९ हजार मूल्यको अटोसेनिटाइजर मेसिन मंगलवार निशुल्क उपलब्ध गराउनुभएको छ । हत्केला थापेपछि एक पटकलाई दुबै हातको सेनिटाइज गर्न पुग्ने गरी अटोसेनिटाइजले नियोफ्रेस झोल हत्केलामा झर्छ । करिव ७ सय रुपैंया लिटर मूल्य पर्ने एक लीटर नियोफ्रेसले ७ सय जनालाई हात सफा गर्न पुग्छ ।
अटोसेनिटाइजर मेसिनमा नियोफ्रेस झोल राख्ने विधि, हत्केला थापेपछि आफै नियोफ्रेस हातमा झर्ने प्रक्रिया यसको प्रयोग विषयमा व्यापारी हरि कार्कीले प्रयोगात्मक अभ्यास गरेर देखाउनुभएको थियो । व्यापारी कार्की मिलन इलेक्ट्रोनिक्सका प्रोप्राइटर हुनुहुन्छ । त्यसबखत जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले अटोसेनिटाइजर मेसिन प्रदान गराउनुभएकोमा कार्कीलाई धन्यवाद दिनुभयो । नारायण नगरपालिका–१ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले अटोसेनिटाइजर मेसिनको उचित सदुपयोग गर्न सुझाव दिनुभयो ।
युग संवाददाता । । ९ भाद्र २०७७, मंगलवार २०:२२