सुर्खेतमा निषेधाज्ञाको औचित्य के ?

यतिबेला विश्व नै कोरोनाको चपेटामा छ । कोरोनाबाट दिनहुँ लाखौ संख्यामा मानिसहरु संक्रमित भइरहेका छन् । यतिमात्र होइन, ज्यान गुमाउने र निको हुनेको संख्या पनि उत्तिकै छ । विश्वभर आक्रामकरुप लिएको यो भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । अहिले नेपालमा पनि संक्रमितको संख्या बढ्दै गइरहेको छ । विश्वका शक्तिशाली राष्ट्रहरुलाईसमेत यसको नियन्त्रणमा हम्मेहम्मे भइरहेको बेला नेपालमा यसको नियन्त्रणमा भने उल्लेखनिय कार्य भएको देखिदैन । जतिबेला कोरोना रोकथाममा जे हुनपथ्र्यो, त्यो हुन सकेन । उपलब्धि विनाको चार महिने लकडाउन त गरियो । तर यसले कोरोना रोकथामभन्दा पनि देशको समग्र आर्थिक र सामाजिक क्षेत्रमा मात्र असर पा¥यो । देशको अर्थतन्त्र धरापमा प¥यो । धेरैले रोजगारी गुमाए । स्कूल–कलेज बन्द भए । जसले लाखौ विद्यार्थी तथा बालबालिकाले पढ्न पाएनन् । संक्रमितको संख्या न्यून भएको बेला हतारमा लकडाउन गरिनु पक्कै पनि राम्रो पक्ष थिएन ।

त्यतिबेला भारत लगायत विदेशबाट आउन चाहने नागरिकलाई समयमै नेपाल आउन दिएर उनीहरुलाई सुरक्षित क्वोन्टाइनमा राखि परीक्षण गरेर घर पठाउन सकिएको भए सायद अहिले यो अवस्था भोग्नु पर्दैन थियो कि भनेर आँकलन गर्न सकिन्छ । पछिल्लो चरणमा भारतबाट आउने अधिकांश नागरिकमा कोरोना संक्रमण देखिएको छ । भारतबाट नेपाल आएर क्वारेन्टाइनसम्म पुगेका नागरिक प्रायमा कोरोना संक्रमण देखियो भने लुकीछिपी आएकाले कोरोना बोकेर ल्याएनन् भन्न सकिने अवस्था भने छैन । विश्वका प्राय देशहरुमा कोरोना रोकथामको निमित्त लकडाउन गरियो जहाँ लकडाउनको पालना सहिढङ्गबाट गरियो । ति देशले कोरोना संक्रमण रोकथाममा उल्लेखनिय उपलब्धि हाँसिल गरेका उदाहरण पनि छन । जसको उदाहरण चीन, दक्षिण कोरिया, सिंगापुर लगायत देशहरु हुन् । ती देशहरुमा अहिले यसको प्रभाव अति न्यून प्राय छ ।

भारत लगायत अन्य देशमा रोजगारीको शिलशिला गएका नागरिकलाई सरकारले नागरिक नै होइनन् भनेझै उनीरुलाई घर फर्कन नदिई नाकासमेत शिल गरियो । जुन कदम अहिलेको परिणाम आउनुको प्रमुख गल्ती हो । संक्रमण शुन्य भएको बेला उनीहरुलाई बेलैमा नेपाल आउन दिनु सरकारको दायित्व थियो तर त्यसो भएन सरकार यसमा चुक्यो । नेपालमा पछिल्लो चरणमा संक्रमण दर दिनानु दिन तीब्र गतीमा बढि रहेको छ भने मृत्यु हुने र कोरोना जित्नेको संख्या पनि उत्तिकै छ । अहिलेको अवस्थामा कोरोना नियन्त्रणको अचुक उपाए भनेको जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गरी परीक्षणको दायरा फराकिलो बनाउनु सिवाय अन्य विकल्प छैन । जनस्वास्थ्य विज्ञका अनुसार सरकारले लागु गरेका जनस्वास्थ्यका मापदण्ड नागरिकले नियमपूर्वक पालना नगरे कोरोनाको भयावह स्थिती अब सुरु हुने बताउछन् । कोरोना नियन्त्रणमा सरकारको भुमिका उल्लेखनीय नभए पनि सन्तोषजनक भने मान्न सकिन्छ ।

समुदाय स्तरमै फैलिसकेको अवस्थामा निषेधाज्ञा मात्र गरेर कोरोना नियन्त्रण गर्न सकिदैन । कोरोना नियन्त्रणमा सरकारले जनस्वास्थ्यका मापदण्ड बनाएको छ । तर यसको पालना भने नागरिकतहबाट भएको छैन । यसको पालना कस्ले गर्ने ? गराउँने ? यसबारे सरकारले बलैमा ध्यान पु¥याएर नागरिकमा जनचेतना प्रवाह गर्दै कडाईका साथ लागु गर्न सक्नुपर्छ । अनावश्यक भिडभाड गर्ने, मास्क नलगाउने तथा स्वास्थ्य मापदण्ड पुरा नगरेको अवस्थामा त्यस्तो नगर्ने मानिस तथा संघ संस्थालाई सरकारले ठाउँको ठाउँ कारवाही गर्ने आँट र हिम्मत राख्न सक्नुपर्छ ता की मानिसमा पनि एक प्रकारको दायित्व बोध होस् । तर यहाँ भने त्यस्तो देखिएन गत भदौ १ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गरिएको छ । के यो निषेधाज्ञा उपलब्धिमुलक छ ? यसको पालना नागरिकले गरेका छन् ? यसको मुल्यांकन प्रदेश सरकार र स्थानीय प्रशासनले गरेका छन त ? पक्कै पनि छैनन् ठुलाबडा भनिने र पहुँचको आधारमा सवारी पास लिनेहरुकै कारण सुर्खेतमा कोरोना संक्रमण फैलने डर पछिल्लो चरणमा उच्च देखिएको छ ।

नागरिकहरु प्रशासनद्वारा जारी निषेधाज्ञाको उल्ङ्घन गर्दै निर्वाद सडकमा सामान्य अवस्था झै मास्क नै प्रयोग नगरी हिँडिरहेका छन् । के यसलाई निषेधाज्ञाको उपलब्धी मान्न सकिन्छ ? यता प्रशासन भने बजारका दुई चारवटा चोकमा पुलिस खडा गरेर निषेधाज्ञा सफल भएको दावी गरिरहेको छ । के यो राम्रो पक्ष हो ? जबसम्म नागरिकमा सरकारले गर्ने हरेक निर्णयको पालना सही ढङ्गबाट गर्न बाध्य बनाइदैन, तबसम्म यस्ता काम नलाग्ने निषेधाज्ञा गरेर कुनै फाईदा छैन । यसले संक्रमण रोक्नभन्दा पनि फैलने डर बढि हुनसक्छ । सार्वजनिक सवारी साधन मात्र बन्द गरेर कोरोनाविरुद्धको लडाइँ जित्न सकिएला र ? यदि संक्रमण थप फैलन नदिनकै लागि निषेधाज्ञा गरिएको हो भने यसको पालना कडाईका साथ गरौं । नगर्ने जो कोहीलाई पनि कारवाही गरौ आवश्यक कामबाहेक घर बाहिर निस्कर भिडभाड गर्नेलाई कडा कारवाही गरौं ।

ठुलाबडा भनिनेहरुले पनि आफ्नो कार्यशैलि परिवर्तन गरौ । पहँुचको आधारमा जोकोहीलाई सकडमा निस्कन पाउने अधिकार नदिऔं । जसका कारण पनि संक्रमण फैलने डर उच्च रहेको छ, उचित समयमा उचित खालका प्रभावकारी निर्णय लिएर कडाइका साथ पालना गर्ने परिपाटी बसालौं । सुर्खेतमा पनि सरकार र कानून छ भन्ने कुराको बोध नागरिकमा होस् । ठुलालाई चैन, सानालाई ऐन भन्ने परिपाटीको अन्य गरौं । अत्याधिक भिडभाड हुने क्षेत्रमा स्वास्थ्य मापदण्ड लागु भएका छन् कि छैनन् भनेर निगरानी बढाइ त्यस्ता ठाउँमा मानिसको जमघट हुन नदिनतर्फ ध्यान दिऔं । जिल्ला भित्रने नाकामा केही समय आवतजावतमा कडा प्रतिवन्ध लगाई परीक्षणको दायरा बढाउन सकिएको खण्डमा भविष्यमा यस्ता कुनै निषेधाज्ञा जारी गरिरहनुपर्ने अवस्था पक्कै आउने छैन ।

नाका खुल्ला गरेर सीमित क्षेत्रमा कफर््यू आदेश जारी गरे पनि उपलब्धी शुन्य प्रायः नै हुन्छ । जसका लागि नागरिक पनि सचेत र सजग भने पक्कै रहनु पर्दछ । कोरोनाको प्रभाव कहिलेसम्म रहन्छ त्यो भन्न सकिने अवस्था छैन । अहिलेसम्म यसको कुनै प्रभावकारी भ्याक्सिन पनि पत्ता लागि सकेको छैन । कोरोना संक्रमण रोक्न हरेक नागरीकले आफूमात्र सचेत भइ जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न सक्ने हो भने पनि थप संक्रमण हुनबाट बच्न सकिन्छ । मानिसहरुले कोरोनालाई सामान्यरुपमा लिएका छन् । पक्कै पनि यो राम्रो पक्ष भने होइन । अनिवार्य मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, बेला–बेलामा साबुन पानी वा स्यानीटाइजरले हात धुन सके कोरोनाविरुद्धको यो लडाइँ पक्कै पनि जित्न सकिएला । नत्र यसै भन्न सकिने स्थिती छैन । चेतना भया ।         (लेखक :- युगआव्हान राष्ट्रिय दैनिकका प्रमुख ग्राफिक डिजाइनर हुनुहुन्छ)

तपाईको प्रतिक्रिया