सम्पादकीय : ठूलाबडाबाटै लापरबाही

गत चैतदेखी देश कोरोना महामारीसँग जुधिरहेको छ । महामारी नियन्त्रणका लागि सरकारी प्रयासहरु भइरहेका छन् । चार महिनासम्म देशमा लकडाउन भयो । संकटका कारण आम नागरिकले मात्र होइन, राज्यले पनि ठूलो आर्थिक नोक्सानी भोगिरहेको छ । पछिल्ला दिनमा आउँदा कोरोनाबाट सर्वसाधारणको ज्यान पनि गुम्न थालेको छ । यस्तो अवस्थामा यसबाट जोगिन विभिन्न प्रयासहरु भइरहेका छन् । स्वास्थ्य मापदण्डको कार्यान्वयन, सार्वजनिक गाडी बन्द, विद्यालय संचालनमा रोक र भिडभाडमा पनि प्रतिबन्ध लगाइएको छ । यतिले पनि अवस्था सामान्य हुने संकेत नदेखिएपछि जिल्ला तहमा निषेधाज्ञा लगाउन थालिएको छ । यसले सर्वसाधारणको दैनिकीमा निकै प्रभाव परेको छ । धेरैको रोजगारी गुमेको छ । मानिसहरुलाई छाक टार्न समस्या भएको छ । देशको अर्थतन्त्र नै कमजोर बनेको छ । विद्यार्थीको शैक्षिक शत्र नै अन्यौलमा छ । तर पनि महामारी नियन्त्रण नगरी सुखै छैन । अर्थात जुनसुकै प्रयासबाट पनि कोरोनाविरुद्धको लडाइ जित्नै पर्ने हुन्छ । तर यसको नियन्त्रणका लागि अपनाइएका कतिपय प्रयास र अभ्यासहरुलाई लत्याउने काम समाजमा रहेका ठूलाबडा अर्थात कानुन कार्यान्व्यन गराउनेहरुबाटै लापरबाही भइरहेको छ ।

संक्रमणबाट जोगिन र यसलाई फैलिन नदिन मास्कको प्रयोग अनिवार्य छ । सामाजिक दुरी कायम गरेर यसको संक्रमणबाट बच्न सकिन्छ । तर यस्तो हुँदाहुँदै पनि मन्त्री, सांसद, राजनीतिक दलका नेता र सर्वसाधारणलाई सर्तक बनाउने जिम्मेवारी पाएका जनप्रतिनिधिहरुले लापरबाही गरिरहेका छन् । समाजमा सबैले मान्ने वा अभिभावक ठानिएकाहरुले नै सतर्कता नअपनाउँदा संक्रमणको जोखिम बढ्दो छ । अझ भनौं दलबलसहित गाउँ जाने मन्त्री र नेताहरुबाटै संक्रमण समुदायमा फैलिने जोखिम पनि देखिएको छ । पछिल्ला दिनमा कर्णालीका विभिन्न जिल्लामा प्रदेश सरकारका मन्त्री, सांसद, दलका नेता र जनप्रतिनिधिहरुले यस्तै लापरबाही गरेको पाइएको छ । बाढी र पहिरोपीडितलाई राहत बाँड्ने नाममा होस् वा पार्टीका कार्यक्रम गर्ने बहानामा न्यूनतम स्वास्थ्य मापदण्ड पनि अपनाइएको छैन । भिड जम्मा पार्ने, मास्क नलगाउने र नागरिकलाई पनि कोरोनाबाट जोगिनका लागि सचेतना फैलाउनुको साटो ठूलाबडा भनिएकाहरुबाटै संक्रमण फैलाउने खालका क्रियाकलापहरु भएका छन् । यो कार्य निन्दनीय र नागरिकको स्वास्थ्यप्रति गरिएको खेलवाड हो ।

कसैको एक्लो प्रयासबाट मात्र संक्रमण नियन्त्रण हुन सम्भव छैन । सर्वसाधारणले मात्र नियम पालना गरेर संक्रमण नफैलिने पनि होइन । यसका लागि सबैको साझा प्रयास आवश्यक छ । अझ यसको नियन्त्रणका लागि त राज्यको जिम्मेवार निकायमा बसेका, सार्वजनिक पद धारण गरेका व्यक्ति र समाजलाई मार्गदर्शन गर्ने राजनीतिक दलका नेताहरुले गम्भिर बन्नुपर्ने हुन्छ । किनकी उनीहरुबाट नै समाजले सिक्ने हो । उनीहरुको आग्रहलाई सवैले सहज रुपमा स्वीकार पनि गर्ने हो । यसकारण यो महामारीलाई कसैले पनि हल्का रुपमा लिनु हुँदैन । समुदायमा घरभित्र बसेका, हालसम्म भाइरसबाट जोगिएका र त्रासमा रहेका सर्वसाधारण नागरिकलाई नै त्रसित बनाउने गरी ठूलाबडाहरुले क्रियाकलापहरु नगरेकै राम्रो । बरु आफू पनि सचेत हुँदै नागरिकलाई पनि कोरोनाबाट बच्ने उपायहरु अपनाउनका लागि सचेतना फैलाउनेतर्फ ठूलाबडा भनिएकाहरु सचेत हुन जरुरी छ । (२०७७ भदौं ९ गते मंगलबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया