आफन्तहरु हेडमास्टर बनोस् भन्ने चाहन्थे

हितप्रसाद पौडेल
प्रमुख प्रशासकीय अधिकृत, चौकुने गाउँपालिका, सुर्खेत

हाल सुर्खेतको चौकुने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमामा कार्यरत छन् हितप्रसाद पौडेल । २०३४ साल असोज ३ गते बुवा भिमराज र आमा पूर्णकुमारी पौडेलको कोखबाट उनको जन्म भएको हो । वीरेन्द्रनगर–१६ गर्पन नेहेडा गाउँमा उनी जन्मिएका हुन् । शान्त स्वभाव र इमान्दार निजामति कर्मचारीको रुपमा चिनिने पौडेलसँग हामीले भलाकुसारी गरेका छौं । प्रस्तुत छ, निजामति क्षेत्रमा मुखिया हुँदै प्रमुख प्रशासकीय अधिकृतसम्म पुगेका पौडेलको प्रेरणादाय जीवनयात्राको शारांस :-

पढाइमा सानैदेखि अब्बल
विद्यार्थी जीवनमा जीन्दगीको जग बसाल्ने आधार हो । यदि जीवनमा केही गर्नुछ भने पढाइ राम्रो हुनै पर्दछ । सूर्य प्राथमिक विद्यालयबाट कखरा चिनेका हितप्रसाद पढाइमा सानैदेखि अब्बल थिए । कक्षा १ देखि ५ पाँचसम्म सधै प्रथम भए । कक्षा पाँचको जिल्ला स्तरीय परीक्षामा पास गर्ने विद्यालयका एक्ला विद्यार्थी बने । ६ देखि ८ सम्म दोस्रो भए । कक्षा ९ मा प्रथम हुने अवसर मिल्यो । किनकी पहिले प्रथम हुने साथीले आदर्श मावि मेहली छोडिसकेका थिए । तर प्रथम हुनुको सट्टा उनी चौथों भए ।

कुनै बेला आइरन गेट मानिने एसएलसी नजिकिदै गर्दा कक्षा नौ को नतिजाले उनी तर्सिए । कतै एसएलसी पास गर्न गाह्रो त हुने होइन ? आफैले आफैलाई प्रश्न गरे । किनकी ऊबेला ९ र १० कक्षाबाट एसएलसीमा प्रश्नहरु आउँथे । एसएलसीमा राम्रो गर्नका लागि अमरज्योति माध्यमिक विद्यालय नेवार झरे । नेवारेमा पढेकै कारण टेष्ट परीक्षामा विषय नलगारे पास हुने उनी एक्ला विद्यार्थी बने ।

विद्यालयबाट दिउँसै भाग्दा…
कक्षा ६ देखि बिग्रीएको पढाइ कक्षा १० मा सुधारे । पढाइ बिग्रनुको पहिलो कारण विद्यालय टाढा हुनु हो । तर त्योभन्दा ठूलो असर साथीहरुको संगत थियो । किनकी साथीहरु पढाइभन्दा खेल्नमा बढी रुचाउँथे । ‘९ बजे घरबाट निस्केर विद्यालयमा ११, १२ बजे पुग्थ्यौँ’ उनी भन्छन्, ‘दिउँसो ३ बजेपछि भागिहाल्थ्यौँ ।’ साँझ छिट्टै फर्कनुको कारण थियो बजार घुम्नु । विहान दुध लिएको भाँडो लिने बहाना बनाएर हरेक दिन पढाइ छोडेर बजार पुग्थे । साथीहरुको संगतकै कारण पढाइ बिग्रियो । सानोमा मात्रै होइन, वीएड पढ्दा पनि साथीको संगतले परीक्षा नएिर घर फर्कन्थे ।

‘आज परीक्षा नदिऔँ, खासै पढिएको छैन’ साथीले यस्तै भन्थे । ‘हुन्छ नदिँऔँ मैले पनि खासै पढेको छैन’ उनले उत्तर फर्काउँथे । साथीभाइको संगतका कारण दुई÷तीन पटक परीक्षा नै छुटाएका छन् । परीक्षा नदिएको दिन देउती बज्यैमा टिका लगाएर फर्किन्थे । सुर्खेत क्याम्पस शिक्षाबाट अंग्रेजी, महेन्द्रबहुमुखि क्याम्पस नेपालगञ्जबाट कानून र पूर्वाञ्चल विश्वविद्यालय विद्यालय सुपरीवेक्षण विषयमा स्नातक तह, त्रिभूवन विश्वविद्यालयबाट जनप्रशासन र मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट विकास अर्थशास्त्र स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् ।

वीएड पढ्दा कक्षा ११ को परीक्षा
हितप्रसादले एसएलसीपछि व्यवस्थापन विषय पढ्ने गरेका थिए । तर सबै अभिभावकहरु शिक्षा विषय पढ्ने र हेडमास्टर बन्ने सपना देखाए । सुर्खेत क्याम्पस (शिक्षा) बाट अंग्रेजी विषयमा इन्टर गरे । तर इन्टर नसकिंदै शिक्षक हुने अवसर मिल्यो । उनी पढेकै स्कूल (सूर्य प्राथमिक विद्यालय) गाविसबाट शिक्षकको नियुक्ती पाए । इन्टर नसकिएकै शिक्षक बनेपछि फुरुङ हुँदै पढाउन पढाउन गाउँ गए । अंग्रेजी विषय नपढेरै कसरी पास गर्नु । इन्टरमै एकवर्ष ब्याक हुनुप¥यो । पढाइ बिग्रिएपछि शिक्षकको जागिर छोडेर वीरेन्द्रनगर झरे ।

वीरेन्द्रनगरमा पनि जागिर खाने मौका पाए । पदमपुर स्कूलमा केही समय शिक्षक बने । इन्टर त कट्यो । तर राम्रो अंक ल्याउन सकेनन् । जसको असर निजामतिको जागिरमा प¥यो । इन्टरमा राम्रो अंक भए जागिरमा बढुवा पाउँथे । बढुवाकै लागि वीएड पढ्दापढ्दै पुनः कक्षा ११ मा पढ्न थाले । कक्षा ११ को वार्षिक परीक्षा सहभागी भए । तर त्यहाँ उनलाई अर्काको परीक्षा दिन आएको भनेर गार्डहरुले निकै केरकार गरे ।

‘जागिर खाएको मान्छे कसरी यहाँ परीक्षा दिन आयो फस्यो, बर्बाद भयो ?’ गार्ड बसेका शिक्षकहरुले कानेखुसी गर्न थाले । वीएड पढ्दै गरेको व्यक्तिले ११ परीक्षा दिन थालेपछि सबै गार्डहरु छक्क परे । परीक्षा दिँदै गर्दा एकजना गार्डले एउटा चिट ल्याएर दिए । ‘किन ११ को परीक्षा दिन लागेको कारण खुलाउनोस् ?’ परीक्षा दिँदादिँदै उनले गार्डहरुलाई उत्तर दिनुपर्ने भयो । ११ को परीक्षा दिनुको कारण खुलाएर चिट गार्डकहाँ पुरयाए । कारण थाहा पाएपछि उनीहरु छक्क परे । किनकी गार्डलाई पनि इन्टरमा राम्रो अंक भए मात्र कर्मचारीमा बढुवा भइन्छ भन्ने थाहा थिएन ।

मुखियादेखि अधिकृतसम्म
आफन्तले हितप्रसादलाई हेडमास्टर हुने सपना देखाएर शिक्षा विषय पढाए । तर उनलाई भने शिक्षकभन्दा निजामति कर्मचारी हुने रहर पलायो । ख्यालख्यालैमा २०५५ मुखियाको परीक्षा दिए । लिखितमा पास भए । लिखितको रिजल्ट हेर्न पनि गए । १, २, ३ नम्बरसम्म हेरे पास भएन भन्ने लाग्यो । गाउँ फर्किए । मौखिक परीक्षा नजिकिदै गर्दा मुखियाको लिखितमा नाम निस्केको भनेर पटक– पटक खबर गयो । तर विश्वास गरेनन् । एकजना शिक्षकले परीक्षाको रोल नम्बरसहित त पास भएको छस् भनेर खबर गरेपछि अल्ली विश्वास लाग्यो ।

तर ढुक्क भएनन् । लोकसेवा आयोगको कार्यालयमा पुगे । सूचना पार्टीमा हेरेको त लास्टमा उनकै नाम निस्केकै रहेछ । तयारी विनाको के पास हुन्थे । त्यो पटक मौखिकमा असफल भए । ‘कर्मचारीमा तेसै नाम निस्कन्छ ? कर्मचारी हुनलाई त धेरै पैसा घुस ख्वाउनुपर्छ ? आफन्त चाहिन्छ ?’ छरछिमेकले कुरा काट्न थाले । आफ्नो बारेमा छिमेकीको कुरा काटेको सुनेपछि उनलाई सही नसक्नु भयो । अर्काे वर्ष राम्रो तयारी गरे । २०५६ सालको मौखिक र लिखित दुबै परीक्षामा सफल भए । अनि मुखिया भएर रामघाट हुलाक सेवामा जागिर गर्न थाले ।

दुई महिनामात्रै पुगेको थियो । त्योभन्दा माथिल्लो पोष्ट अर्थात प्रास (प्राविधिक सहायक) मा फ्याट्टै नाम निस्कियो । प्रास भएर जिल्ला शिक्षा कार्यालय सल्यान पुगे । त्यसपछि जिल्ला शिक्षा कार्यालय सुर्खेत फर्किए । २०६८ शाखा अधिकृत भए । अधिकृतभएपछि क्षेत्रिय हुलाक निर्देशनालय सुर्खेत, क्षेत्रीय प्रशासन कार्यालय, मुख्यमन्त्री कार्यालय कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालय हुँदै ढेड वर्षदेखि चौकुने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।

जागिर खाने त्यो रहर
हितप्रसाद मध्यम परिवारमा जन्मिए । जग्गा जमिन प्रशस्त थियो । तर कपडा किन्न भने प्रशस्त पैसा थिएन । किसानको छोरा न हुन् । कापी कलम र दशैतिहार जस्ता चाडपर्वमा घ्यू बेचेर कपडा किन्नुपथ्र्याे । ‘चाडपर्वमा किसानभन्दा जागिरेका छोराछोरीले राम्रो लगाउँथे, त्यहीबाट मैले पनि जागिर खानुपर्छ भन्ने लाग्यो’ उनी सुनाउँछन् ‘शिक्षक भएपछि गाउँमै बस्नुपर्छ भनेर निजामति रोजेको हुँ ।’ निजामतिमा राम्रो बृद्धि विकास र सबै ठाउँमा सेवा गर्न पाइने भएका कारण उनी निजामित सेवामा प्रवेश गरेका हुन् । (२०७७ भदौं ७ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकमा साताको राष्ट्रसेवक स्तम्भमा प्रकाशित)

तपाईको प्रतिक्रिया