समुदायमा ‘ठूलाबडा’ बाटै कोरोना संक्रमण फैलिने खतरा

भीआईपीहरु नै लगाउँदैनन् मास्क, छैन सामाजिक दुरी, सामान्य नागरिकलाई सास्ती

सुर्खेत, ९ भदौ ।
घटना : १
केहीदिन अघि हुम्लाको ताजाकोट गाउँपालिकामा बाढीपहिरोले पुरयाएको क्षतिको अवलोकन गर्न कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र कर्णाली योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायसहितको जम्बो टोली पुग्यो । मन्त्री र नेताहरु गाउँ पुगेपछि आमसभाको नै झल्को दिनेगरी ठूलो कार्यक्रम गरियो ।

मन्त्रीहरुले भाषण पनि गरे । तर त्यहाँ सहभागी भएकाहरुले न मास्क प्रयोग गरे, न त सामाजिक दुरी नै कायम गरियो । ठूलाबडा भनिएकाहरु सहभागि भएको अवस्थामा पनि लापरबाही भयो । कोरोनाबाट जोगिनका लागि अपनाउनु पर्ने न्यूनतम सतर्कता पनि अपनाइएन ।

घटना : २
कर्णाली प्रदेश सभाका सांसद गुलावजंग शाह शनिबार मात्र सल्यानका विभिन्न बाढीपीडित बस्तीमा पुगे । पहिरोले पु¥याएको क्षतिको विवरण संकलन र स्थलगत अवलोकन गर्न सुरक्षा निकाय, पार्टीका कार्यकर्ता सहतिको दलबलसहित उनी गाउँगाउँमा पुगे । राहतको पर्खाइमा बसेका बाढीपीडितहरु सांसद नै पुगेपछि हुल जम्मा भयो । तर त्यहाँ पनि कसैले कोरोना महमारीलाई ख्याल गरेनन् । सहभागीले न मास्क प्रयोग गरे । न त सामाजिक दुरी कामय गर्न र गराउनेतर्फ सांसदको टोलीले ध्यान दियो ।

घटना : ३
गत बुधबार पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका नेता तप्तबहादुर विष्टसहितको जम्बो टोली सुर्खेतको चौकुने गाउँपालिका–५ मायाताल पुग्यो । कोरोना महामारीमा पार्टीको सक्रिय सदस्यता वितरण तथा कार्यकर्ता भेटघाटमा त्यहाँ पुगेका जम्बो टोलीले पनि न मास्क प्रयोय गरेको थियो, न त सामाजिक दुरी नै । बरु अन्य पार्टीबाट काँग्रेसमा प्रवेश गरेकालाई निधारमा अविर लगाउँदै सक्रिय सदस्यता थमाइयो । कोरोना महामारीमा पनि नेताहरुले सामान्य अवस्थामा जस्तै हुल बाँधेर गाउँमा पुग्ने काम गरिरहेका छन् ।

घटना : ४
शनिबार मात्र कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ मा नेपाल तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले कार्यकर्ता भेला गरे । त्यहाँ सहभागीले मास्क र सामाजिक दुरी कायम गरेनन् । केही अन्य पार्टीबाट काँग्रेसमा प्रवेश गरेकालाई निधारमा विना सावधानी अबिर लगाइयो ।

घटना : ५
मुगुको छायानाथरारा नगरपालिकाले आइतबार गरिव, दलित तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम वितरण गरयो । तर नगरप्रमुख हरिशजंग शाही लगायतले मास्क नै प्रयोग गरेनन् । कार्यक्रममा न सामाजिक दुरी नै कायम गरियो । कोरोना संक्रमणकाबीच नगरप्रमुख शाहीले छात्रबृत्ति रकम उपलब्ध गराएको सम्बन्धी पत्रसमेत हातमै थमाए ।

माथि उल्लेखित घटनाहरु ठूलाबडा अर्थात समाजमा अरुलाई सतर्कता अपनाउन सिकाउनेहरुबाटै समुदायमा कोरोना संक्रमण फैलाउन भएका जोखिमपूर्ण क्रियाकलापका केही प्रतिनिधि घटना मात्रै हुन् । हिजोआज कर्णाली प्रदेशमा कोरोना संक्रमण तीव्र रुपमा फैलिदै गएको छ । तर भीआईपी अर्थात ठूलाबडाहरु (मन्त्री, सांसद, नेता कार्यकर्ता हरु दिनदिनै कोरोनाको जोखिम बढाउने क्रियाकलापहरु भइरहेका छन् । कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ । तर ठूलाबडाहरु भने कोरोना संक्रमण बढाउने गरी गाउँ दौडाहमा व्यस्त छन् ।

विशेषगरी प्रदेश सरकारका मन्त्री, सांसददेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका नेता तथा कार्यकर्याहरु सक्रिय छन् । पीसीआर परीक्षण नै नगरी विना सावधानी गाउँगाउँ पुगेका ठूलाबडाकै कारण कोरोना संक्रमण फैलिने खतरा बढेको छ । कोरोना रोकथामको लागि गरिएको निषेधाज्ञा, लाखौँ खर्चिएर गरिने पीसीआर परीक्षण र संक्रमण फैलिन नदिने भन्दै गरिएका सबै प्रयासलाई ठूलाबडा भनिएकाहरुले नै भद्दा मजाकका रुपमा लिएका छन् । यसबाट संक्रमणको जोखिम थप बढेको छ ।

पासवाला गाडी र कार्ड भिर्नेबाट पनि जोखिम
कर्णालीका दश जिल्ला मध्ये वीरेन्द्रनगरमा कोरोना संक्रमणको उच्च जोखिममा छ । सोमबारसम्म वीरेन्द्रनगरमा संक्रमितको संख्या दुईसय पुगेको छ । दैलेखको नारायण नगरपालिकामा तीनसय तीन जना संक्रमित छन् । कोरोना संक्रमण रोक्न भन्दै वीरेन्द्रनगर र नारायण नगरपालिकामा निषेधाज्ञा छ । तर अत्यावश्यक सामान र कृषिजन्य सामग्री ढुवानीका लागि पास लिएका गाडीबाट संक्रमणको जोखिम छ ।

अत्यावश्यक बस्तुको नाममा यस्ता गाडीले मानिसहरु विना सावधानी ओसार्ने काम गरिरहेका छन् । यस्ता गाडीमा चेकजाँच नै हुँदैन । अर्कोतर्फ विभिन्न कार्यालयको कार्ड अर्थात परिचय पत्र बोकेकाहरुबाट पनि जोखिम छ । कार्ड भिरेकै आडमा उनीहरु निषेधाज्ञामा पनि खुलेआम डुल्ने गरेका छन् । नियन्त्रण गर्ने निकाय मौन बस्दा कार्ड भिरेर मनपरी रुपमा समुदायमा घुम्नेहरुले पनि सावधानी नअपनाउँदा संक्रमण फैलाउने जोखिम बढी छ । यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले भने कोरोना रोकथाम तथा नियन्त्रणका लागि राजनीतिक दलहरु नै सचेत हुनुपर्ने जनाएको छ ।

‘सम्बन्धित स्थानीय तह र वडामा कोरोना संक्रमण फैलिने कुनै पनि गतिवधिहरु नगर्न नगराउन अनुरो धनिर्देशन गरेका छौँ’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने ‘जानकारी भएसम्म राजनीतिक दलका गविविधिहरुको रोक्ने र महामारीमा भिडभाड गर्नेलाई कारबाही गर्छाैँ ।’ अत्यावश्यक सवारी साधनमा यात्रु बोक्नेलाईसमेत कारबाही गरिएको प्रशासनको भनाइ छ ।

‘भीआईपीहरु गम्भिर बन्नु पर्छ’
स्वास्थ्य मापदण्डविपरित गरिने भीआईपीका गतिविधिका कारण दोब्बर रुपमा कोरोना जोखिम बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । ‘जोखिम मोलेर स्वास्थ्यकर्मीहरु कोरोना रोकथाममा लागेका छन्, राज्यले करोडौं सम्पत्ति खर्चिएको छ’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्मर खड्का भन्छन्, ‘ नियम र कानून सबैलाई बराबर हुनुपथ्र्याे, तर कतिपय भीआईपीहरुले नै सावधानी नअपनाएको देखिन्छ ।’

भीआईपीको पुगेको ठाउँमा सयौंँ नागरिक भेला हुने भएका कारण समान्य नागरिकभन्दा भीआईपीका गतिविधिका कारण दोब्बर रुपमा संक्रमण फैलिने जोखिम रहेको उनको तर्क छ । ‘भीआईपी नै संक्रमित नहोला, तर भीडमा आउने एकजना मात्रै संक्रमित भएमा सबैलाई फैलिन्छ’ डाक्टर खड्का भन्छन्, ‘भीआईपीको सालिनता विना कोरोना रोकथाम असम्भव छ ।’ भीआईपीहरुले नै नियमको पालन गरेर आम नागरिकलाई सिकाएमा कोरोना रोकथामको लागि खर्च हुने लाखौं बजेट जोगाउन सकिने उनको भनाइ छ । साथै यस्तो अवस्थजामा राजनीतिक दल, मन्त्री तथा सांसदहरुले आधुनिक प्रविधिको प्रयोग गरेर राजनीतिक गतिविधि गर्नुपर्ने उनको सुझाव छ ।

तपाईको प्रतिक्रिया