हाम्रो जोडी : पहिलो भेटमै माया बस्याे

भनिन्छ, जिन्दगी देखेको हुँदैन । लेखेको हुन्छ । तर जिन्दगीमा आफ्ना सपना पुरा गर्न हरकोही व्यक्ति हरपल संघर्ष गरिरहेकै हुन्छ । जहाँ ईच्छा, त्यहाँ उपाय भनेजस्तै आफुले इच्छ्याएको वस्तु वा चिज पाउन असल कर्म गर्न पनि जरुरी हुन्छ । जीवन भोगाइका क्रममा आउने उतार चडावलाई जसले सामना गरेर अघि बढ्छ । अवश्य उ सफल पनि हुन्छ । यस्तै जीवन भोगाइको क्रममा पहिलो भेटमै माया बसेपछि विवाह बन्धनमा बाँधिन पुगेका एक जोडीको संक्षेपमा चर्चा गर्छौ । पत्रकार गोविन्द केसी र उनको जीवनसाथी रञ्जना थापा (केसी) । अन्तरजातीय विवाहपछि सफल दाम्पत्य जीवन विताइरहेका यो जोडीको जीवन संघर्ष र भोगाइ कस्तो छ त ? प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको सारांश :-

तालिमले जुराएको सम्बन्ध :
करिब ११ वर्ष पहिलेको कुरा हो । दैलेखमा आमसञ्चार सम्बन्धि तालिम सञ्चालन भयो । गोविन्द केसी रञ्जनाको पहिलो पटक त्यही तालिममा भेट भयो । तालिममा रञ्जनालाई देख्ने वित्तिकै गोविन्दले मन पराउन थाले । तालिमको अवसरमा उनीहरुको चिनजान भए पनि सुरुसुरुमा एक अर्कोबिच खुलेर बोल्न आँट गरेनन् । त्यो तामिल सञ्चालन हुनु पहिले पनि गोविन्द पत्रकारिता गर्थे । तर साथीहरुले भनेपछि गोविन्दलाई पनि तालिममा बस्न मन लाग्यो । हुन त त्यही तालिममा भेट भएकै कारण आज उनीहरु एक असल जोडी बन्न सफल भएका छन् ।

तालिमको दोस्रो दिनमा मात्रै उनीहरुबिच बोलचाल भएको थियो । तर रञ्जनाले भने पहिलेदेखि नै गोविन्दलाई चिन्ने रहिछन् । त्योबेला सामान्य बोलचालमै उनीहरुको सम्बन्ध सिमिति थियो । यता रञ्जनालाई उनको गाउँको दाई टेकबहादुर विकले तालिममा सहभागी हुने मौका दिएका थिए । तालिम सकिएपछि रञ्जना र गोविन्दको बजारमा भेट हुन थाल्यो । त्योबेला अलिहेको जस्तो टेलिफोनको सहज व्यवस्था थिएन । प्रेमपत्रमार्फत उनीहरुको माया साटिन थाल्यो । रञ्जना र गोविन्द बिचको सम्बन्धलाई अझै नजिक पार्न एक जना दिदिले सहजिकरण गर्नुहुन्थो ।

रञ्जनाले पहिलो पटक गोविन्दले पठाएको प्रेमपत्र पाउँदा उनी निकै खुसी भएर दौडेकी थिइन् । रञ्जना सँधै चिठी लेख्दा एकजना मनले नजिककी दिदिलाई सोधेर लेख्थिन् । रञ्जनाले भनेकाभन्दा पनि उहाँले धेरै कुरा आफै मिलाएर चिठिमा लेखिदिनुहुन्थ्यो । दुवै जनाका चिठिमा धेरै जसो सायरी लेखिएका हुन्थ्ये । उता गोविन्दले पनि चिठी लेख्दा साभार सायरीसहित प्रेमीले शव्दले भर्रिएको चिठी पठाउँथे ।

भागेर विवाह :-
रञ्जना थापामगरकी छोरी हुन् । अन्तरजातकै कारण समाजमा रञ्जना र गोविन्द जस्ता धेरैको जोडी कल्पनामै सिमित भएका छन् । तर पहिलो भेटमै माया बसेपछि छुट्टै त्यो मायाको प्यास मेटाउन रञ्जना र गोविन्द बैवाहिक जीवनमा बाँधिने निर्णयमा पुगे । समाजले के भन्लाभन्दा पनि भविष्यमा हामी के गर्ने ? र कस्तो बन्ने भन्नेमै उनीहरुका कुराकानी आधारित हुन थाले । एकअर्काले सहजै स्विकार्यपछि सँधै चिठीमा ओतप्रोत हुने उनीहरुको माया पाँच वर्षपछि विवाहमा परिणत भयो । ११ वर्ष पहिले । फागुनको महिना थियो । उनीहरु दुबै भागेर प्रेम विवाह गर्ने निर्णयमा पुगे ।

छोरीले विवाह गर्ने बारे रञ्जनाकी आमालाई थाहा थियो । परिवारमा उनकी दिदीले सहयोग गर्थिन् । रञ्जना दैलेख बजारमा आएको बेला गोविन्दले फोन गरेर भाग्ने सल्लाह सुनाए । त्यसपछि दुवै जना भागे पनि । उनीहरुको साथमा धेरै साथीहरु पनि थिए । भागेर चुप्रा पुगेपछि उनीरुलाई गाउँलेले लखेटेछन् । अन्तत दुबै जनाको परिवारले सहजै स्विकार्यपछि रञ्जना र गोविन्दको मायाको मुल्यांकन भयो । हुन त गोविन्दका बाबाले पनि मृुगुबाट मल्लकी छोरी विवाह गरेकाले छोराको इच्छाका लागि परिवारले नस्वीकार्ने कुरा थिएन । तर रञ्जनालाई पनि सहजै स्विकार्यपछि वातावरण झन सहज भयो ।


घरबाट पैंसा मागेर पत्रकारिता :-
बैवाहिक जीवनमा जोडिएका गोविन्दले आफ्नो पत्रकारिता पेशालाई विवाहपछि पनि छाड्न सकेनन् । घरबाट पैंसा मागेर पत्रकारिता गरे । तर पेशा परिवर्तन नगरेकै कारण आज गोविन्द यो पेशामा थप अव्बल बन्दै गएका छन् । स्थानीय रेडियोदेखि पत्रपत्रिकामा एक दशकसम्म काम गरेका केसी अहिले नागरिक दैनिक राष्टिय पत्रिकामा आबद्ध छन् । उनले यस पत्रिकामै काम गर्न थालेको नौ वर्ष वित्यो । जब उनले नागरिकमा काम गर्न थाले तब मात्रै उनले पत्रकारिता जगतमा नियमित पैंसा पाउन थालेका थिए ।

पत्रकारितामा ६ वर्षसम्म सिक्नेमै दिन बिताएका उनले धमाका दैनिक, बेलासपुर, हाम्रो तेस्रो आँखा लगायत धेरै पत्रिकामा मुख्य भुमिकामा पनि काम गरेका थिए । घरमा उनका बाबा कमाउने भएकाले पनि घर चलाउन खासै समस्या भएन । उनको जोडीले आम्दानी अनुसार खर्च चलाउन सिक्यो । तर रञ्जनालाई विवाह गरेको अझै भर्खर जस्तो लाग्छ । अहिले उनको छोरा ९ वर्षका भए । उनीहरु आफ्ना बा आमाले आफुलाई माया गरेजस्तै हाम्रोमाया पनि छोरामा हस्तान्त्रण भएको बताउँछन् ।

विश्वासमा अडिएको सम्बन्ध
गायक रामकृष्ण ढकालले गाएको ‘मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छ । जति रुवाओस्, धरधरी रुवाओस्, आफ्नो मान्छे आफ्नै हुन्छ ।’ भने जस्तै : गोविन्द र रञ्जनाको जिन्दगीमा पनि कहिलेकाँही ठाकठुक पर्छ । तर उनीहरुले एकअर्काको परिपुरक भएर सहजै जिन्दगी चलाउन सिकेका छन् । खासै ठुलो ठाकठुक नगरे पनि कहिले काँही सानो कुरा अर्थात राती गोविन्द घरमा समयमै नआउकै कारण रञ्जना रिसाउँछिन् । तर गोविन्द आफ्नो पेशा र समय अनुसार साथीसँग बस्दा समयमै घर जान नसकिएको बताउँछन् ।

रञ्जना रिसाउँदा प्रायजसो गोविन्द नै फकाउँछन् । उनीहरु समय अनुकुल घुम्छन् पनि । यो जोडी रारा, पोखरा, चितवन लगायत धेरै ठाउँ घुमेको छ । उनीहरुले घुमघामका क्रममा रारा जाँदा बाटो र खाना तथा वास व्यवस्थापनको कारण अप्ठ्यारो महसुश गर्नुपर्यो । गोविन्दले आफ्लाई मन नपरेको कुरा मनमा राख्नै नसक्ने र रञ्जनाले कम बोल्ने, आवश्यक कुरा मात्रै गर्ने बानीले दुबै एकअर्काको बानी मन पराउँछन् । मायाकै कारण दुबै जनाले एक अर्काको नाम लिएर बोलाउँछन् ।

काममा सहयोगी
गोविन्दलाई गुन्द्रक, मस्यौरा र फर्सी मन पर्छ । रञ्जना भने दालसहितको खाना मन पराउँछिन् । गोविन्दले पकाएको मासु रञ्जनालाई खुबै मिठो लाग्छ । अन्य खानाभन्दा मासु बनाउँदा गोविन्द भान्सामा छिर्छन् । घर सम्हाल्ने बुढी छदैछन् भनेर सँधै ढुक्क हुने गोविन्दलाई लकडाउनका कारण घरायासी कामबारे महसुश भएको छ । घरमा हेर्दा काम देखिन्न, तर सानो सानो कामले दिनभर रञ्जनालाई व्यस्त हुनुपर्छ । घरमा चाहिने सबै सामान रञ्जना आफैले व्यवस्थापन गर्छिन् । तर टाढाबाट सामान ल्याउनु परेमा गोविन्दले सहयोग गर्छन् ।

विश्वास र धैर्य धारण गर्न सक्ने बानीले रञ्जना र गोविन्दको जीवन सफल बन्दै गएको छ । दुबै जना आफुसँग जे छ, त्यसैमा खुसी भएर चित्त बुझाउँछन् । स्वर सम्राट नारायण गोपालले गाएको ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा । एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा’ भन्ने गीत जस्तै प्रगतिको प्रयास र उपलब्धिको पर्खाइमा अघि बढेको यो जोडीलाई हाम्रो टिमको तर्फबाट पनि बधाई तथा शुभकामना । (रेडियो भेरी एफएम र युगआह्वान  राष्टि्य दैनिकको सहकार्यमा २०७७ भदौं ६ गते शनिबार प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार