बामदेवलाई उपप्रधानमन्त्री कि पार्टीको विशेष जिम्मेवारी ?

काठमाडौं, ८ भाद्र ।
नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान नजिक पुगेपछि मन्त्रिमण्डल पुर्नगठन हुने भएको छ । मन्त्रीमण्डलमा यसपटक नेकपाका केही प्रभावशाली नेताहरु समेतले स्थान पाउने भएका छन् । यसपटक मन्त्रीमण्डल पुर्नगठनमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई पनि महत्वपूर्ण मन्त्रालय सहित उपप्रधानमन्त्री बन्न प्रस्ताव पुगेको छ ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएरै सरकारमा सहभागी हुन प्रस्ताव गरिसकेका छन् । तर, गौतमले आफू भविष्यमा पार्टीको नेतृत्वमा पुग्ने गरी काम गर्ने र त्यसका लागि अहिलेदेखि नै सहयोग गर्न आग्रह गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । गौतमले पटक पटक ओलीलाई सहयोग गरेको र त्यसको गुन चाहेको स्पष्ट भनेका छन् ।

उनले भविष्यमा एकता महाधिवेशनमा आफू अध्यक्षको दाबेदार रहेको खुलस्त बताएका छन् । ओलीले भने मिलेर जाऔं भन्दै आफूलाई पटक पटक सहयोग गरेकाले त्यसको उचित समयमा साथ दिएर देखाउने बताएको बुझिएको छ । प्रधानमन्त्री ओलीले इमान र जमानको विषय समेत गौतमसँग गरेको विश्वस्त स्रोतले बताएको छ ।

सरकारले राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित गर्न बाँकी एक सिटमा लाने चाहना प्रधानमन्त्री ओलीले गौतमलाई गरिसकेको बुझिएको छ । ओलीले चुनाव हारेका बामदेव राष्ट्रियसभामा मनोनित भएपछि सरकारमा जान मिल्छ कि मिल्दैन भनी कानुनी परामर्श समेत गरेका छन् । गौतमलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी ओलीको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्काे हप्ता सांसद मनोनित नभए पद छाड्नुपर्ने हुन्छ । उनले मनोनित नहुने सिग्नल पाइसकेका छन् । बिदावारीको कुरा समेत निकटस्थसँग भनिसकेका छन् । खतिवडाकै स्थानमा गौतमलाई लानेबारे छलफल बढेको छ ।

गौतमले भने सरकारमा जाँदा भविष्यमा पार्टीको नेतृत्वमा पुग्ने सम्भावनामा के कस्तो असर पर्छ भन्नेबारे समेत निकटस्थसँग परामर्श थालेका छन् । उनले ओलीको साथ लिएर नेकपा नेतृत्वमा जाने रणनीति समेत बनाएका छन् । यसपटक ओली सरकार ढल्न लाग्दा अभयदान दिएको गुन खोज्ने उनको रणनीति हुनसक्छ । यसअघि ओलीलाई नेकपा एमालेको अध्यक्ष बनाउँदा पनि उनी नै निर्णायक बनेका थिए । पटक पटक साथ दिएका कारण यसपटक ओलीको साथ पाउनेमा उनी ढुक्क छन् ।

तर, ओली फेरि एकपटक अध्यक्षको दाबेदार बन्ने या प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्ने सम्भावना पनि उत्तिकै छ । पछिल्लो समय ओलीलाई पाँच वर्ष पूरा कार्यकाल चलाउन दिने प्रचण्डको सहमतिमा केही राजनीतिक लेनदेन पनि हुनसक्ने बुझिएको छ । जसमा प्रचण्डलाई आगामी महाधिवेशनमा ओलीले अध्यक्ष बन्न साथ दिने विषय पनि रहेकोबारे नेकपाभित्र चर्चा छ । यसलाई मध्यनजर गरी गौतमले सरकारमा जाँदा नेतृत्वको दाबेदारी कति बलियो या कमजोर हुन्छ भनी जोखाना समेत गर्न थालेका छन् ।

बामदेव सरकारमा जाँदा प्रचण्डको महाधिवेशनबाट अध्यक्ष बन्ने सम्भावना मजबुत हुनसक्ने बुझाई कतिपयको छ । सरकारमा नजाँदा पार्टी संगठनमा प्रभाव बनाउन गौतम लाग्ने हुँदा प्रचण्डका लागि समेत चुनौती हुने विश्लेषण नेकपाभित्र हुनथालेको छ । गौतमको सरकारमा जाने नजाने निर्णयले नेकपाको भावी नेतृत्वमा को पुग्ने भन्ने विषयले असर गर्ने सम्भावना देखिएको छ । रिपोटर्सअनलाइनबाट

तपाईको प्रतिक्रिया