पहिरोमा बेपत्ता बालकको शव फेला

दैलेख, ६ भदौ ।
ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा मंगलबार राति गएको पहिरामा परी बेपत्ता भएका ११ वर्षका बालक लोकेश कठायतको शव फेला परेको छ। बुधबारदेखि निरन्तर खोजिपछि बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बिहीबार साँझ मात्र पहिरो गएको ठाउँमा कमिजको छेउ देखिएको आधारमा पहिरो पन्छ्याउँदा बालकको शव फेला परेको स्थानीय दानबहादुर कठायतले जनाए।

ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा मंगलबार गएको पहिरोमा लोकेशसंगै सुतेका १२ वर्षका बालक जनक कठायत मृत मंगलबार राति नै भेटिएका थिए । दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार उक्त पहिरोमा परेर गम्भीर घाइते भएका ३ जनालाई बुधबार हेलिकप्टरमार्फत उद्दार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पु¥याईएको थियो । उनीहरु उपचारपछि घर फर्किएका छन् ।

पहिरोमा परी सामान्य घाइते भएका दुई जनाको गाउँमै उपचार गरिएको थियो । वडाध्यक्ष रमेशबहादुर सिजापतिले पहिरो पीडित परिवारको राहतका लागी विभिन्न संघ संस्था, राजनीतिक दल, समाजसेवी लगाएतलाई सहयोग गर्न अपिल गरेका छन् । पहिरोले ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँका १० घर पूर्ण रुपमा क्षति गरेको छ भने २० घर उच्च जोखिममा परेका छन् ।

तपाईको प्रतिक्रिया