बाढीपहिरो पिडितका लागि राहत बोकेर कालीकोट लागे पल

काठमाडौं, ६ भदौं ।
नायक पल शाहले चलचित्र र म्यूजिक भिडियो करिअरसँगै सामाजिक सेवामा पनि आफूलाई अगाडि बढाइरहेका छन् । लकडाउनको समयमा चलचित्र प्राविधिकहरुका लागि ५ लाख बराबरको खाद्यान्न उपलब्ध गराएका पल शाहले विभिन्न समयमा सामाजिक काम गर्दै आएका छन् । लकडाउन खुलेपछि म्यूजिक भिडियोको काममा व्यस्त पल बुधबार भने कालिकोटतर्फ लागेका छन् ।

कालिकोटमा यसै साता गएको बाढी पहिरोका कारण ठूलो जनधनको नोक्सान भएको खबर सुनेपछि पल खाद्यान्न, लत्ता कपडा बोकेर त्यता लागेका हुन् । पल शाह प्रतिष्ठान र हाम्रो टिम नेपालको सहकार्यमा कालिकोटका ४० घर परिवारलाई सिरक–डसना, खाद्यान्न सामाग्री वितरण गरिनेछ । नायक पल शाहले अनलाइनखबरसँग भने–‘हामी बुधबार काठमाण्डौबाट हिडेका हौं । कालिकोट पुग्दा शुक्रबार हुन्छ होला ।

त्यहाँबाट फेरि २ दिन हिड्नुपर्ने रहेछ । तर, स्थानिय बासिन्दाहरुसँग बिच बाटोमै भेट हुनेछ र उहाँहरुलाई हामी राहत वितरण गर्नेछौ ।’ पलले कालिकोटबाट आछाममा पनि जाने योजना रहेको बताए । उनले भने–‘सायद हामी कालिकोटमा राहत वितरण सकेर अछाम पनि जान्छौ होला । त्यहाँ पनि बाढी पहिरोले क्षती पुर्याएको भन्ने थाहा पाएका छौ ।’  सामाजिक कार्यमा सक्रिय हुन थालेपछि पलले ‘पल शाह प्रतिष्ठान’ स्थापना गरेका हुन् । विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपनि आफूहरुले काठमाण्डौबाट नै पास बनाएकाले कुनै समस्या नभएको पलले बताए ।

तपाईको प्रतिक्रिया