कोरोना रोकथाम तथा नियन्त्रण त्यसपछिको भूमिका

 

देव बहादुर बुढा/छेडागाड नगरपालिका

कोरोना भाइरसले विश्वमा महामारीको रुप लिए पछि नेपाल सरकारको निर्णय बमोजिम २०७६ चैत्र ११ गते देखि देश पूर्ण रुपमा बन्दाबन्दी घोषणा भयो। उक्त बन्दाबन्दीले देशका खुल्ला गतिविधि ठप्प भए ।महामारी रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले बन्दाबन्दीको सामाजिक, आर्थिक तथा स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष प्रभाव देखा परो ।नेपाली अर्थतन्त्रमा यसले कति असर गर्ला ? कुन क्षेत्रमा कस्तो प्रभाव पार्ला? यस बारे नेपाल सरकारले अध्ययन गरिरहेको बताए पनि उक्त अध्ययनले खास नतिजा दिन सकेन । बन्दाबन्दीको लगतै मिति २०७६ चैत्र २१ गते अर्थमन्त्री डा यूवराज खतिवडाले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा विज्ञहरुलाई सिहंदरवारमा बोलाएर छलफल गरे । उक्त छलफलमा कोरोनाले पार्न सक्ने प्रभाव त्यसको लागि गर्नुपर्नेकामका बारेमा प्रयाप्त सुझाब लिइएको बताइए पनि सरकारले कोरोना महामारी र बन्दाबन्दीका कारण देशमा परेको प्रभाव र अब को रणनितीका सम्बन्धमा ठोस योजना हाल सम्म पनि सार्वजनिक गर्न नसक्नुले देशमा थप संकट निम्तिनेमा दुईमत नरहेको बुझाई छ ।

एसियाली विकास बैकले कोरोना महामारीले नेपाली अर्थतन्त्रमा पार्नसक्ने प्रभावका बारेमा पूर्बानुमान गरेको छ ।उसले प्रकाशित गरेको एसियन डेभलपमेन्ट आउटलुक रिपोर्टमा नेपाली अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा प्रक्षेपण गरेको हो। उक्त प्रक्षेपणमा सबैभन्दा धेरै पर्यटन,रेमिट्यान्स, आन्तरिक तथा विदेशी लगानी खुम्चने र बैदैशिक व्यापार घट्ने उल्लेख छ ।अन्तराष्ट्रिय श्रमसंगठन ILO ले कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोडको रोजगारी जोखिममा रहेको बताएको छ भने अन्तराष्ट्रिय मूद्राकोषले १७० देशको प्रतिव्यक्ति आय यसै महामारीका कारण घट्ने प्रक्षेपण गरेको छ ।

नेपाल सरकारले देशमा बन्दाबन्दी घोषण गर्दा २ वटा कुरामा ख्याल गर्नुपर्ने थियो। एक शुरु बन्दाबन्दी देश भर नगरेर विज्ञसंग व्यापक छलफल गरी क्षेत्र तोकी चरण बद्ध रुपमा बन्दाबन्दी गर्ने अर्को विदेशी मुलुकबाट नेपाल आउने हवाई उडान पूर्ण रुपमा ठप्प पार्ने र भारतबाट नेपाल आउने नागरिकको लागि हप्ता/दश दिन अवधि तोकि नागरिकलाई देश भित्र प्रवेश गर्न आव्हान गर्ने र सो अवधि पछि भारतसंगका सिमा नाका पूर्ण रुपमा शिल गरेर अगाडि बढेको भए त्यसको परिणम अलि सहज हुन्थ्यो कि ? केहीजानकारहरुको तर्क छ ।

आजका दिनसम्म देशमा २९६४५ जनामा संक्रमण पुष्टी भएको छ । जसमध्ये १२६ जनाले मृत्युबरण गर्नुपरेको र १७९६४ जना संक्रमित निको हुनुभएको छ । विभिन्न जिल्ला तथा शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। साथसाथै परीक्षणको दरलाई पनि विस्तार गरिएको छ। कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि तीनवटै तहका सरकारहरु उच्च तदारुकताका साथ लागिरहेको सन्दर्भमा त्यस पछिको संभावित अवस्था विषयमा समेत उत्तिकै सजग र सचेत हुन जरुरी छ । नेपाल सरकार कोरोना महामारी नियन्त्रण साथसाथै र नियन्त्रण पश्चात आउन सक्ने देहाय बमोजिमका संभावित अवस्था तर्फ समेत चनाखो हुन आवश्यक छ ।

१) बन्दाबन्दीका कारण बन्द भएको आर्थिक कारोबार लयमा आउन समय लाग्ने, त्यो अवस्थामा कामदार तथा व्यवसायीलाई धेर नोक्सानी भइसकेको हुने । जसका कारण बैक वितीय संस्था मार्फत पुजी चलायमान गर्न खोज्दा व्यवसायीले बैकसंग धेरै छुट सुविधा माग्ने, नदिए व्यवसायी सिद्धिने दिए बैक तथा वितीय संस्था सिद्धिने र यसको समग्र प्रभाव सरकार माथि पर्ने,

२) बन्दाबन्दी पूर्वको लयमा व्यवसायी फर्कन सकेन भने त्यसबाट रोजगार तथा कामदारको जीवनमा प्रत्यक्ष असर पर्ने, जसले मुलुकको कुल ग्राहस्थ उत्पादनमा ह्रास आउने र त्यसको असर सरकार जाने हुदाँ त्यस तर्फ सोच्नुपर्ने,

३) कोरोना भाइरसको विश्वव्यापी असर परिरहेको सन्दर्भमा विदेशी राष्ट्रबाट आउने विप्रेषण आप्रबाह घट्ने र अर्थतन्त्रमा तरलता झन पेचिलो हुने अवस्थाबाट सजग हुनुपर्ने,

४) व्यवसाय ठप्प भएको अवस्थाले व्यवसायीहरुले बैक ब्याज तथा सावाँ किस्ता तिर्न कठिन हुने र बैकको निष्क्रिय कर्जाको परिमाण बढ्न जाने हुन साना तथा कमजोर बैकको स्थायित्वमा समेत चुनौती थपिने,

५) एसियाली विकास बैकको प्रक्षेपणमा उल्लेख भएबमोजिम पर्यटन क्षेत्र कोरोनाको असर सकिएपनि पर्यटन व्यवसायी संञ्चालनमा आउन समय लाग्ने हुदाँ यस सम्बद्ध व्यवसायीका लागि छुट्टै थप कार्यक्रम तय गर्नु पर्ने,

६) विश्व अर्थतन्त्रको मन्दीको कारण तेल तथा अन्य औधौगिक बस्तुको मूल्यमा केही गिरावट हुनसक्ने भएपनि प्रत्यक्ष नागरिकको दैनिक उपभोग्य बस्तु खाद्यान्नको भाउ निकै बढ्न सक्ने तर्फ सचेतता अपनाई आपूर्तिमा अहिलेदेखि नै विशेष ध्यान दिनुपर्ने,

७) ठुला अर्थतन्त्र भएका मुलुक समेत हाल महामारीका कारण संकटमा रहने अवस्थाबाट हेर्दा केही समय बाह्य स्रोत साधनको आपूर्तिमा पेचिलो अवस्था आउन सक्ने, जसका कारण बाह्य विभिन्न क्षेत्र संग समद्ध सामग्री तथा औजार आपूर्तिको वातावरण सुनिश्चित नहुने,

८) भारत तथा अन्य मुलुकबाट कोरोना महामारीका कारण आफ्नो रोजगारी गुमाई घर फर्केका नागरिकका कारण बेरोजगारीको संख्यामा अत्यधिक बृद्धि हुने.

अन्त्यमा :-
कोरोना महामारी र त्यसपछि जारी बन्दाबन्दीको कारण सिर्जित परिस्थितीसंग विकशित सामाजिक तथा आर्थिक सम्बन्ध जोडिएका कारण उत्पन्न उपर्युक्त विषम परिस्थिती, चुनौती र अवसरलाई सरकारले सम्पूर्ण सरोकारवालासंगको सहकार्यमा अर्थतन्त्र, उत्पादन र रोजगारीमा कम भन्दा कम लागत र क्षति हुने गरी समाधान गर्न आवश्यक छ । यो बेला राजनितिक क्षेत्रलाई मसिहा र सर्वेसर्वा मान्ने प्रवृतीबाट समाज र राजनितिक दल र सरकार स्वंयम पनि मुक्त हुन जरुर छ । हामी नागरिक पनि कोरोना महामारी पछिको जीवनको लागि आफूलाई तयार पार्नु हाम्रो बुद्धिमानी ठहर्ने छ । कोरोनाले जे परिस्थिती सृजना गर्दै छ त्यो भन्दा खतरानाक स्थिती त्यसपछि निम्तिने दुईमत छैन ।

यस्तो बेला म नभई हामी भन्ने आदर्श वाक्यबाट अगाडी बढ्न सक्यौ भने त्यसले केही अर्थ राख्न सक्छ । मैलै नबुझिरहेको विषय विश्व अर्थतन्त्रको प्रभाव त यो देशमा पटकपटक परिरहेकै छ भने अहिले हामी स्वंयम् व्यहोरिरहेको बेला देश र जनताको निम्ती सोच्नुको साटो राजनितिक पदलोलुवताबाट प्रेरित मेरो देश नेताहरु पाटीको महाधिवेशन गर्ने गरी दस्तावेज बनाइरहेको संञ्चार माध्यमबाट सुनिरहदाँ मन भतभल्ती पोलिरहन्छ । तपाईहरु राजनितिक दलको दस्तावेज लेख्दै हुनुहुन्छ भने थाती राखेर कोरोना महामारी नियन्त्रण र त्यसपछिको आर्थिक सामाजिक रुपान्तरण का विषय समेटिएका दस्तावेज लेख्नुहोस् जसबाट नागरिकले कोरोना महामारी पश्चात संकटमा परेको अर्थतन्त्रलाई लयमा ल्याउन आफ्नो भूमिकाका सम्बन्धमा आफ्नो मानसिकता तयारगर्न सकोस् । चौधो शताब्दीमा ब्ल्याक डेथ का नामले चिनिने प्लेग महामारीले गरीवीको चपेटामा परेको यूरोपलाई ठिक लयमा आउन २० औ शताब्दी सम्म सम्पूर्ण ताकत लगाउनु परेको तथ्य हामी सामु छर्लग छ । त्यसकारण कोरोना नियन्त्रण र त्यसपछिको नेपालका सन्दर्भमा जनताले सामाजिक तथा आर्थिक विकासका लागि सरकार खरायोको गती लम्केको हेर्न चाहान्छन जुन बेला सरकारको गती हातीको चाल नहोस् । (लेखक : छेडागाड नगपालिकाकाे सूचना अधिकारी हुनुहुन्छ )

तपाईको प्रतिक्रिया