छिन्चु-जाजरकाेट खण्डकाे पुल निर्माणमा लापरबाही

जाजरकोट,४ भदौं ।
छिन्चु—जाजरकोट सडक खण्डमा पर्ने विभिन्न साना तथा ठुला खोलाहरुमा पक्की पुल निर्माणको काम अलपत्र परेको छ । तीन वर्षभित्र सबै पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल निर्माण अलपत्र परेको हो । सडक विस्तार भएसँगै लामो समयदेखि ओझेलमा परेका पुल निर्माणको काम असार नजिकिएसँगै निरन्तरता पाएपनि अहिले अलपत्र अवस्थामा रहेको स्थानीयको भनाइ छ ।

भेरी करिडोर अन्तर्गत छिन्चु– जाजरकोट सडकको स्तरोन्नती गर्ने उद्देश्यले मोटरेबल पक्की पुलको निर्माण थालिएको थियो । २०७४ सालमा सडक खण्डको ७० किलोमिटर भित्रको सुर्खेत जिल्ला क्षेत्रका ६ ओटा पुल निर्माणको लागि लामा कन्स्ट्रक्सनले २७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । सम्झौता गरेको ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सनले तीन वर्षको अवधिमा आफ्नो सम्झौता अनुसार पुल निर्माणको कार्य सम्पन्न गरेको छ ।

सुर्खेत जिल्लाभित्र पर्ने सडक खण्डमा लामा कन्स्ट्रक्सनले समयमै काम सम्पन्न गर्दासमेत जाजरकोट खण्डको सडकका पुल कछुवा गतिमा अगाडि बढेका छन् ।  रसुवा सूर्य कन्स्ट्रक्सन जेबिले ३६ किलोमिटर क्षेत्रभित्र पर्ने सोही सडकको छेडा–खलंगा सडक खण्डका ६ ओटा पुल बनाउने गरी २२ करोड रुपैयाँमा ठेक्का लिएको थियो । छेडाचौर– खलंगा खण्डमा निर्माणाधिन ६ ओटा पुलको काम समयमा हुन नसकेपछि स्थानीयहरु बर्षातको समयमा सास्ती खेप्न बाध्य छन् । समयमै ठेकेदारले काम नगर्दा वर्षात्को समयमा खोला बढेपछि यातायात सेवा अवरुद्ध हुँदै आएको मध्यपश्चिम यातायात प्रालि जाजरकोटका एरिया इन्चार्ज लोकेन्द्र चन्दले जानकारी दिए ।

खोर्के खोला आलि नजिकैको पुलले यातायात सञ्चालनमा निकै कठिनाइ भएको उनको भनाइ छ । छेडा चौरदेखि खलंगा सम्मका ६ ओटा पुल निर्माणमा ठेकेदारको लापरवाहीका कारण यातायातका साधन अवरुद्ध हुँदै आएको चन्दको भनाइ छ । निर्माण जिम्मा लिएका ठेकेदार कम्पनीले सुर्खेत तर्फका पुल निर्माण कार्य सम्पन्न गरेर जाजरकोट जिल्ला तर्फका पुल असार नजिकिएपछि पेश्की फछ्र्यौटको बहाना गर्दै काममा आलटाल गरिरहेको बताइएको छ । रसुवा सूर्य कन्स्ट्रक्सन जेबिले जाजरकोटका ६ ओटा पुल समयमाम काम नगरेर अलपत्र पारेको छ । यो सडकलाई भेरी करिडोरको रुपमा विकास गर्ने निर्णय गरेसँगै सरकारले सडक विस्तारका नाममा करोडौंको बजेट खर्च गर्दै आएको छ ।

रसुवा सूर्य कन्स्ट्रक्सन जेभिका सञ्चालक सुर्यबहादुर खड्काले पुलको डिजाईन बिग्रेको कारण ढिलाइ भएको स्वीकार गरेका छन् । ‘दुई वर्षभित्र पुल निर्माणको काम सम्पन्न गर्न सकिन्छ । तर सरकारले गलत डिजाइन दिए म के गरौं ?’ उनले भने । चार ओटा पुलको डिजाइन स्टेमेट बिग्रेको कारण पुल निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।  उक्त सडक खण्डको छेडाचौर– खलंगा सडक खण्डमा रहेका ६ ओटा पुलको निर्माण अन्तिम चरणमा गएको ठेकेदार खड्काको भनाइ छ । अहिले वर्षाले काम गर्न नसकिएपनि सामग्री पुगिसकेको उनको भनाइ छ । सरकारले लकडाउन गर्दा भारतबाट आएका कामदार बाहिर गएको कारण काम तत्काल सञ्चालनमा कठिन भएको खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया