कविता : म, सपना र बुवा

बेतेन्द्र कुमार दहाल/सुर्खेत

आज कुशे औँसी
बाबुको मुख हेर्ने दिन
बिहानै झिसमिसेमा सबैभन्दा पहिला
झ्याप्प उठेर कसैसँग नबोली
बुवाको मुहार हेर्छु भनि
हिजै ल्याएको सरप्राइज गिफ्ट
हत्तपत्त पोको पारेँ ।

सायद पहिलो दिन होला सबेरै उठेको पनि
कोहि पनि उठेका थिएनन् घरमा
निश्चल बिहान सुमसान थियो
बाहेक केही चिरविर आवाजहरु
कलकल बगिरहेको धारा
अनि मेरो हस्याङ् फस्याङ्को श्वास ।

ए बुवा ! ए बुवा ! कराए केहिबेर
झट्ट सम्झेँ , अरुले थाह पाइहाल्छन् की !
फोन गरेँ । बल्ल तल्ल पाँच पटकमा फोन उठ्यो
तौलिन सकिने अवस्था थिएन मेरो खुसीको
किनकी मैले नै पहिला शुभकामना दिनु थियो ।

एउटा कालो सानो साइड ब्याग ल्याइदिएको थिएँ
रातो प्लास्टिकमा लपरेर
कालो भादगाउँले टोपी ,
निलो पाईन्ट ,
सेतो सट र
कालो हाप स्वीटरमा
मेरो अगाडी ठिङ्ग उभिएर
दुइपटक खोक्नुभयो ।
म झन खुसि भएँ ।

मुलायम हत्केलाले मेरो दाहिने हातको चोर औला समाएर
भन्नुभयो , ‘लौ हिँड’ ।
मलाइ पनि त्यहि चाहिएको
बुवा बिस्तारै हिँड्नुहुन्थ्यो
म लुखुर लुखुर दौडिन्थेँ ।
आमाले सलाई किन्न पठाउदा
हिड्न सक्दैन भन्ने म
आज एकठाउँ पनि नबसि
पटाङ्गिनी पुगेँ , मनै त हो ।
कतिबेला गिफ्ट दिने हो ?
कसरी दिने हो ?
गिफ्ट दिँदा गाली गर्नुहुन्छ कि भन्ने डर पनि
मन स्थिर रहनै सकेन ।
रघु काकाको पसलमा चिया भन्नुभयो ।
आफ्नो खल्तीबाट मरिचको सानो पोको दिदै ,
‘मरिच पनि हाल्नु है’ ।


त्यतिकैमा मेरो हात च्याप्प समाएर
चप्पलको दोकानतिर लैजानुभयो ।
म भने चिया फुुत्किन्छकि भन्दै पछाडी खिचिन्थे ।
चप्पल किनेपछि मात्र थाह भयो ,
हतारमा म त खाली खुट्टै रहेछु ।
झन खुसी भएँ , नयाँ चप्पल पाएर ।

बल्ल बल्ल बुवासँग घुम्न पाएको म
जता जानुहुन्छ , पछिपछि लाग्यो ।
म मख्ख हुन्थेँ कसैले भन्दा ,
‘उनी सरको कान्छो छोरा ?’
यो भन्दा ठुलो सौभाग्य
के हुन्थ्यो र मेरा लागि !

गिफ्ट लुकाएरै राखेको छु ।
समोसा , चमेना बिस्कुट अनि के के
यीनैमा भुले म ।
‘अव घर जा’ ।
कहाँ घर जान्थेँ र म !
हजुरसँगै जान्छु भन्दै पछ्याइरहेँ ।

पटाङ्गिनीको खुलामञ्च सजिसजावट थियो ।
वरिपरिका घरहरूमा पनि रंगरोगन
गाइगुइ हल्ला हुन्थ्यो –
आज मन्त्री आउने रे ।
मेरो मुटुको धड्कन बढ्न थाल्यो
कारण ः मन्त्री ठुलो हुन्छ भन्ने सुनेको ।
बुवा र म मञ्चको नजिकै थियौँ ।
कसैले बुवालाई बोलाएर गयो ।
‘तँ बस्दै गर म काम सकेर आउँछु’
फोन डायल गर्छु , उठ्दैन
फोन डायल गर्छु , उठ्दैन ।

एकजना दौडेर मकहाँ आयो ।
‘सर कार्यक्रम चलाउदै हुनुहन्छ , सकेपछि फोन गछु रे’
कुर्दा कुर्दा , केही समयपछि फोन आयो ।
मनमनै फेरी योजना बनाएँ
यसै मौकामा भेट्ने बित्तिकै गिफ्ट दिने
फोन ठुलै आवाजमा घन्किरहेको थियो ।
बुवाकै फोन हुनुपर्छ लाग्यो ।
मोवायल समाएर हेरे …
अल्राम रैछ ।
जुरुक्क उठेँ , बत्ति बालेँ ।
न बुवाको फोन आएको न त गिफ्ट मेरो हातमा ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार