सैनिक सम्मानदेखि रारा पुग्दा राष्ट्रकवि घिमिरेको त्यो खुसी

काठमाडौं, ३ भदौं ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे र हाम्रो बसाई काठमाडौंमा एकदम नजिकै हो । उहाँ लैनचौर बस्ने,हामी सामाखुसी । त्यसबाहेक व्यक्तिगत र पारिवारिक रूपमा पनि हामी नजिक थियौं । हाम्रो पुख्र्याैली घर पनि नजिक–नजिकै । हामी तनहुँको, उहाँको लमजुङको । उहाँ र मेरा बुबा स्व.गोपालबहादुर खत्रीबीच पहिलेदेखि नै सुुमधुर सम्बन्ध भएकाले आवत–जावत भइरहन्थ्यो । उहाँले पाएको उपाधिमध्ये ‘राष्ट्रकवि’ को उपाधि सबैभन्दा ठूलो उपाधि हो । उहाँले त्यो उपाधि त्यसै पाउनु भएको होइन भन्ने मलाई लाग्छ । उहाँका कृतिहरूका कारण राष्ट्रिय सम्मानका रुपमा ‘राष्ट्रकवि’ को उपाधि पाउनु भयो । उहाँका गीत रचनाहरू सबै सुमधुर छन्,विशेष अर्थ बोक्ने खालका छन् । तर,‘नेपाल हामी रहौंला कहाँ नेपालै नरहे’ भन्ने गीत हाम्रो सैनिक संगठनलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय भावनाको जागृत गराउन महत्वपूर्ण थियो ।

म प्रधानसेनापति भएको बेलामा उहाँ शताब्दीमा टेक्नै लाग्नु भएको थियो । २०७२ को भारतीय नाकावन्दीका कारण सबै नेपालीमा राष्ट्रिय भावना जागेको थियो । सैनिक व्याण्डले उहाँको त्यो गीतलाई बजाउँदा भित्रैबाट जागरूक बनाउने, राष्ट्रिय भावनाले ओतप्रोत बनाउने हुनाले त्यो गीतलाई सैनिक गीतका रूपमा प्रयोग गर्न थालिएको थियो । भारतीय नाकाबन्दीपछि त्यो गीत झनै लोकप्रिय भयो । सैनिक व्याण्डले पनि त्यसलाई एउटा सैनिक धुनकै रूपमा त्यही बेलादेखि प्रयोग गर्न थाल्यो । मैले व्याण्डलाई यो गीत सैनिक गीत बनाउन सकिन्छ भनेर निर्देशन दिएको थिएँ । सैनिक ब्याण्डले त्यसलाई सैनिक धुन बनायो र प्रायः राष्ट्रिय कार्यक्रममा त्यो धुन बज्न थाल्यो ।

२०७१ को सैनिक दिवसमा अलिकति बजेको त्यो धुन ०७२ देखि सैनिक कार्यक्रम वा अन्य जुनसुकै कार्यक्रममा निरन्तर बजाउन थालियो । सैनिक व्याण्डले प्रस्तुति दिँदा ‘मार्चिङ’ का लागि यो धुन बजाउने गरेको छ । यसले सबै सिपाही, सकल दर्जालाई जागरूक र देशप्रति समर्पित बनाउन अहम् भूमिका खेलेको छ । सेनामा हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय भावनाले ओतप्रोत गीतमा नाच पनि राखिन्छ । पछि त्यो गीतमा पनि नृत्यहरू हुन थाले । यो गीत त्यसपछि सेनाका सबै गण र गुल्महरूमा चर्चित भयो । भारतीय नाकाबन्दीले हामी सबै नेपालीलाई एकजुट बनायो। राष्ट्रकविले यो कृतिको माध्यमबाट देशको सार्वभौमिकता र राष्ट्रिय अखण्डतालाई बचाउनलाई सबै नेपालीलाई उत्प्रेरित गर्नुभयो । त्यस हिंसाबबाट पनि म उहाँलाई सम्झिन चाहान्छु ।

सैनिक सम्मान
सेनामा मानार्थ सम्मान दिने कुरा पहिले देखि नै प्रचलनको रूपमा रहिआएको छ । अन्य देशमा पनि यस्तो सम्मान दिने गरिएको हुन्छ । छिमेकी भारतमा पनि क्रिकेटरहरूले यस्तो सम्मान पाएका छन् । छत्रमानसिंह गुरुङ प्रधानसेनापति हुनुहुँदा अम्बर गुरुङलाई महासेनानी दर्जा दिइएको थियो, खासगरी ‘रातो र चन्द्र सूर्य, जंगी निशाना हाम्रो’ भन्ने गीतका लागि । सैनिक गानको रूपमा सेनाले त्यो गीतको ‘ओनरसिप’ पनि लिएको थियो । अन्य स्रष्टाहरूले पनि त्यस्तो सम्मान पाएका छन् । फत्तेमान राजभण्डारी र गोपालप्रसाद रिमाललाई पनि मरणोपरान्त सैनिक उपाधिसहितको सम्मान दिइएको थियो ।

राष्ट्रकवि घिमिरेले सिर्जनामार्फत् हामी सबै नेपालीलाई राष्ट्रिय भावनाले ओतप्रोत गराउन भूमिका खेल्नुभएको हुनाले ‘नेपाली सेनाले उहाँलाई केही सम्मान दिनुुपर्छ’ भन्ने हामीलाई लाग्यो । त्यसपछि जंगी अड्डाबाट औपचारिक निर्णय गरेर रक्षा मन्त्रालयमार्फत् नेपाल सरकार समक्ष प्रस्ताव गर्यौं । रक्षा मन्त्रालयमार्फत् क्याविनेटमा गएको प्रस्ताव स्वीकृत पनि भयो । त्यसपछि २०७४ को सैनिक दिवसमा वर्तमान राष्ट्रपति विद्या भण्डारीमार्फत् ‘मानार्थ सहायक रथी’ को दज्र्यानीबाट उहाँलाई सुशोभित गरियो ।

राष्ट्रकवि जस्तो व्यक्तित्वलाई नेपाली सेनाको तर्फबाट पनि सम्मान प्रदान गरिनुपर्छ भनेर त्यो निर्णय गरिएको हो । तर, सेनाबाट दिइएको भएपनि यो राष्ट्रिय सम्मान नै हो । किनभने, उहाँलाई सम्मान दिने निर्णय मन्त्री परिषद्बाट पारित भएको हो । राष्ट्रकवि जस्तो व्यक्तित्वलाई सय वर्ष पुगेको अवसरमा त्यो सम्मान दिन पाउँदा हामीलाई पनि ज्यादै गर्व लागेको थियो ।

उहाँले त्यो सम्मान स्वीकार गर्नुहुन्छ कि हुन्न भन्ने थियो । त्यसैले, निर्णय अघि म आफै प्रस्ताव गर्न उहाँको निवासमा गएको थिएँ । जब मैले प्रस्ताव गरेँ, उहाँले खुशी व्यक्त गनुभयो । ‘अहो, यस्तो सम्मान पाए किन ग्रहण नगर्नु ? यसलाई म सहर्ष ग्रहण गर्छु’ उहाँले भन्नुभयो, ‘मेरो लागि यो सम्मान अहोभाग्य हुनेछ ।’ त्यसपछि सरकारमा यो कुरा पुरयाइयो । ‘उहाँलाई यस्तो सम्मान प्रदान गर्दा ठीक छ, अगाडि बढे हुन्छ’ भन्ने ‘ग्रिन सिंग्नल’ पाइयो । त्यसपछि सम्मान प्रदान गर्ने प्रक्रिया अघि बढाइयो ।

सम्मान प्राप्त गरेपछि उहाँले निकै खुसी व्यक्त गर्नु भएको थियो । उहाँ त्यस्तो शीर्ष व्यक्तित्व, सम्मान ग्रहण गरेपछि भन्नुभयो, ‘म पनि ‘वान स्टार जनरल’ भएँ, त्यसैले चीफसा‘बलाई मैले मान्नुपर्छ ।’ यसो भनेर उहाँले सलाम हान्नुभयो । उहाँ बिरामी हुँदा म भेट्न जान्थेँ । अपस्तालमा हुनुहुन्थ्यो । आफू सुतिरहेको शैयाबाट पनि सलाम हान्नुहुन्थ्यो । म अनुुरोध गर्थें, ‘हजुरले यसो गर्नुपर्दैन । हजुरलाई हामीले प्रदान गरेको यो उपाधि सम्मानको लागि हो ।’ उहाँको जवाफ हुन्थ्यो, ‘होइन–होइन, मैले जनरलको उपाधि पाइसकेपछि यसको मर्यादा हुन्छ । यो उपाधिको मर्यादाका लागि पनि मैले सलाम गर्नुुपर्छ ।’


यी घटना यहाँ उल्लेख गरेर मैले के भन्न खोजेको हुँ भने, नेपाली सेनाले दिएको सम्मानप्रति उहाँ असाध्यै खुसी हुनुहुन्थ्यो । मानार्थ नै भएपनि नेपाली सेनाको जनरल हुन पाएकोमा उहाँलाई गर्व पनि थियो । नेपाली सेनाले प्रदान गर्ने ‘मानार्थ’ दर्जा भनेको सम्मान नै हो, चाहे त्यो जनुसुकै तहको किन नहोस् । उहाँलाई कसैले स–सानो उपहार दिएको भए त्यो पनि सम्मान नै हो । हामीले ‘मानार्थ सहायकरथी’ को दज्र्यानीका साथ उहाँलाई जुन सम्मान दियौँ, त्यसलाई नकरात्मक दृष्टिले हेर्नेहरूलाई त सायद पचेन पनि होला ।

तर, सबैतिरबाट ‘उहाँजस्तो व्यक्तित्वलाई सम्मान गरेर नेपाली सेनाले राम्रो काम गर्यो, नेपाली सेनाले दिन सक्ने सम्मानमध्ये यो भन्दा ठूलो के हुन सक्छ र ?’ भन्ने प्रतिक्रिया पायौँ । राष्ट्र र राष्ट्रियताको रक्षा र अभिबृद्धिका लागि उहाँले गर्नुुभएको योगदानले हामी सबैलाई जसरी उत्प्रेरित, अभिप्रेरित गरयो, त्यसका लागि उहाँलाई सामान्य खालको होइन, उच्चस्तरको सम्मान प्रदान गरिनुपर्छ भन्ने सोचाईका साथ उहाँलाई त्यो सम्मान दिइएको हो । नेपाली सेनाले ‘सिभिलियन’ लाई दिन सक्ने उच्चतम सम्मान हो यो ।

त्यो आर्शिवाद
म प्रधानसेनापति छँदा उहाँसँग सम्बन्धित दुुई महत्वपूूर्ण घटना मेरो स्मरणमा छन् । प्रधानसेनापति नियुक्त भएपछि वडावासी, टोलवासी र मैले पढेको स्कुल समेत मिलेर मलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेका थिए । त्यहाँ राष्ट्रकवि घिमिरे विशिष्ट अतिथिको रूपमा निम्त्याइनु भएको थियो । उहाँबाट सम्मान र आशिर्वाद ग्रहण गर्ने क्रममा उहाँले भन्नुभएको एउटा सानो वाक्यले मेरो भित्री दिल नै छोयो ।

मेरो बुवासँग उहाँको पहिलेदेखि नै व्यक्तिगत सम्बन्ध र संगत थियो । त्यसैले, कहिलेकाहीँ चिफसाब’ भनेपनि प्रायः उहाँ मलाई ‘बाबुु’ भनेर सम्बोधन गर्नुहुन्थ्यो । सम्मान कार्यक्रममा पनि उहाँले ‘बाबु’ नै भन्नुुभयो । उहाँको आशिषवचन थियो, ‘बाबु, यति ठूलो जिम्मेवारी लिएका छौ, सेनाको बन्दुकमा चाहिँ कहिल्यै खिया लाग्न नदिनूू है ।’ उहाँको यो आर्शिवाद मेरा लागि ठूूलो कुुरा थियो । ‘बन्दुकमा खिया लाग्न नदिनू’ भनेर ‘बन्दुक सफा गर्नू’ मात्रै भन्नुुभएको थिएन । ‘देशको रक्षाका लागि नेपाली सेनालाई सधैँ तयारीका साथ राख्नू’ भन्न खोज्नुभएको थियो ।

नेपाली सेनाबाट मानार्थ सहायकरथीको सम्मान पाइसकेपछि, यदि चाहनु भयो भने उहाँको जन्मस्थल लमजुङको भीरपुस्तुन गाउँ नेपाली सेनाको हेलिकोप्टरमार्फत् लगिदिने मेरो चाहना थियो । मैले उहाँसँग त्यो प्रस्ताव गरेँ । तर,उहाँले भन्नुभयो, ‘जन्मस्थल त म जन्मे–हुर्केको ठाउँ हो । त्यहाँ विभिन्न अवसरमा गइरहेकै हुन्छु । म नगएको र जान अत्यन्तै इच्छा भएको ठाउँ रारा हो । सकिन्छ भने त्यहाँ जान पाए हुन्थ्यो ।’

उहाँको उमेर सय वर्ष पुगिसकेको थियो । उमेरका कारण रारा क्षेत्रको ‘अल्टिच्युड’ उहाँका लागि अनुुकूल नहुुन सक्थ्यो । ‘अल्टिच्युड सिकनेस’ को डरैडरका बावजुद पनि हाम्रो एउटा ‘ट्रेनिङ फ्लाइट’ मा चिकित्सकसहित राष्ट्रकविलाई रारा पुरयाउने बन्दोबस्त गर्यौ ं। श्रीमतिसहित त्यहाँ पुुग्न पाउँदा उहाँ असाध्यै खुसी हुुनुुभयो । ‘पाँच–सात दिन यहीँ बस्न पाए हुन्थ्यो’ भन्ने इच्छा गर्नुभया े। उहाँले त्यही बसेर कविता पनि लेख्नुभयो । उहाँले रारा छोड्नै चाहनु भएको थिएन । तर, उहाँको उमेर र स्वास्थ्यका कारण आउनै पर्ने स्थिति थियो ।

राराबाट फर्केर आएपछि मलाई फोन गर्नुभयो । भन्नुभयो, ‘चिफसाब, मेरो जीवनको एउटा ठूलो इच्छा पुरा गरिदिनुभयो, त्यसका लागि हृदयदेखि नै धन्यवाद ज्ञापन गरेको छु है ।’ प्रधानसेनापति रहुन्जेल उहाँसँग भेट गरिरहन्थेँ । उहाँको जन्म उत्सवका बेला पनि उहाँको निवासमा पुगेर भेट्थेँ । उहाँ विरामी हुनुहुँदा सैनिक चिकित्सक–नर्स पठाएर उपचारमा सहयोग गथ्र्याैँ । हामीले सकेको गर्यौं, तर त्यो नै पर्याप्त चाहिँ थिएन ।

नेपाली सेनाबाट सेवानिवृत्त भएपछि मैले उहाँलाई एकपटक भेटेँ । त्यो भेटमा एउटा सानो ‘मोमेन्टो’ उपहार पनि दिएको थिएँ । ‘म अवकास भएँ है’ भन्ने जानकारी दिन उहाँसँग त्यो भेट गरेको थिए । पछिल्लोपटक ‘लकडाउन’ का कारण मेरो उहाँसँग भेट भएको थिएन । उहाँले ‘राष्ट्रकवि’ को रूपमा उच्चतम पहिचान प्राप्त गरिसक्नु भएको छ । उहाँ आफ्नो सिर्जनाका कारण अमर हुनुहुुन्छ । नेपालीहरूको मनमस्तिष्कमा उहाँका कृतिहरु अमर बनेर रहिरहनेछन् । राष्ट्रिय भावनाले ओतप्रोत उहाँको गीत ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ ले सम्पूर्ण नेपालीलाई एकतावद्ध गर्न, राष्ट्र–राष्ट्रियताप्रति समर्पित गराउन विशिष्ट भूमिका खेलेको थियो, खेलिराखेको छ र भविष्यमा पनि खेल्नेछ भन्ने मलाई पूर्ण विश्वास छ । (पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीसँग सूत्रन्यूजका रामकुमार डिसीले गरेको कुराकानीमा आधारित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार