कर्णालीका नौ हजार घरका छाना जस्तापाताले छाइँदै

सुर्खेत, २ भदौं ।
सरकारले कर्णाली प्रदेशका झण्डै नौ हजार घरपरिवारको सुरक्षित आवास निर्माण गरिदिने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगर्त चालु आर्थिक वर्ष भित्रमा प्रदेशका नौ हजार घरपरिवारको आवास निर्माण गरिदिने भएको हो । निर्माण हुने सबै घरका छानामा जस्तापाता लगाइने छ । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी अर्थात दुई हजार ६ सय ४३ परिवारका लागि सुरक्षित आवास निर्माण गरिनेछ ।

त्यस्तै रुकुमपश्चिममा एकहजार एकसय ९९, सल्यानमा एक हजार ६ सय ९१ र दैलेखमा एकहजार सातसय ८९ परिवारको सुरक्षित आवास निर्माण गरिनेछ । त्यस्तै जाजरकोटमा एक हजार १५, डोल्पाको पाँचसय १२ र जुम्लामा पाँच सय ६ घरपरिवारले सुरक्षित आवास पाउने छन् । उनीहरुलाई घरको छानो छाउन जस्तापाता उपलब्ध गराइने छ ।

यो कार्यक्रम अन्तर्गत सुरक्षित र वातावरणमैत्री आवासको लागि गरिवीको रेखामुनी रहेका, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण घरबारविहीन बनेकाहरु समावेश हुनेछन् । साथै खर तथा परालको छाना भएका घरधुरीमा पनि जस्तापाताले छाना छाउन सरकारले सहयोग गनेए भएको हो । जसमध्ये सुर्खेतको क्षेत्र नम्बर १ मा सुरक्षित आवास निर्माण हुने परिवारको संख्या टुङ्गो लागेको छ । सुर्खेत क्षेत्र नम्बर १ का संघीय सांसद ध्रुवकुमार शाही र सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुको बैठकले क्षेत्र नम्बर १ मा निर्माण हुने घरहरुको संख्या टुङ्गो लगाएको हो ।

सुर्खेतका दुई हजार ६ सय ४३ घरधुरी मध्ये क्षेत्र नम्बर १ मा मात्रै एकहजार पाँचसय २० वटा घरहरुमा जस्तापाताको छाना लगाइने छ । जसमध्ये सिम्ता गाउँपालिकाका दुईसय ३०, गुर्भाकोट नगरपालिकमा तीनसय २० भेरीगंगा नगरपालिकामा दुईसय ५०, चिगांड गाउँपालिकामा दुईसय, लेकवेशी नगरपालिकामा दुईसय ५०, वीरेन्द्रनगरमा ६३ र दुईसय सात बाढीपीडित परिवार गरी एकहजार पाँचसय २० घरमा जस्ताको छाना लगाइने छ । सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीकाअनुसार विपन्न घरपरिवार, बृद्ध, एकल महिला, बालबालकालिका नै घरमुली भएको परिवार र प्राकृतिक प्रकोपबाट घरबारबिहीन भएका परिवार प्राथमिकतामा पर्नेछन् ।

जस्तापाता छाउनका लागि प्रति घरपरिवार ५० हजार रुपैयाँ उपलब्धि गराइने छ । सिम्ता गाउँपालिकामा गरिवीको रेखामुनी रहेका दुईसय ३० घरधुरीलाई चालु आर्थिक वर्षभित्र जस्तापाताको छानो लगाइसक्ने उनको भनाइ छ । जस्तापाताले घर छाउनको लागि सरकारले प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने शहरी डिभिजन तथा भवन निर्माण आयोजना सुर्खेतका इन्जिनियर टिकाराम पोखरेलले बताए । उनकाअनुसार आयोजनाबाट प्राप्त हुने रकम घरमूलिले सम्बन्धित स्थानीय तहबाट प्राप्त गर्नेछन् । चालु आर्थिक वर्षभित्र नै यो कार्यक्रम मार्फत प्रदेशभर नौ हजार घरका छानामा जस्तापाता लगाउने योजना रहेको छ ।  जस्तापाता लगाएमा आगलागीबाट सुरक्षित हुने र गरिब परिवारले राहत महशुस गर्ने सरकारले अपेक्षा गरेको छ ।


समयमै जस्तापाता नपाउँदा घर नै भत्किए
त्यसैबीच दैलेखको नारायण नगरपालिकाले समयमै जस्तापाता उपलब्ध नगराएपछि विपन्न परिवारका घर भत्किएका छन् । नगरपालिकाले जस्तापाता दिने भनेपछि स्थानीय इन्द्रबहादुर सार्कीले खरको छानो हटाए । उनी नगरपालिकाले दिने भनेको जस्तापाता कुर्दै थिए । तर यही साउन १४ गतेको अविरिल वर्षापछि उनको घर नै भत्कियो ।

घरमा पाता लगाउन खरको छानो हटाएका इन्द्रबहादरको घर नै भत्कियो । ‘नगरपालिकाले दिने भनेको जस्तापाता कुर्दाकुर्दै घर भत्कियो’ उनले भने, ‘ अहिले परिवार नै बिचल्लीमा परेको छ ।’ गत आर्थिक बर्ष २०७६/०७७ मा नगरपालिकाले खरको छानोमुक्त बनाउने अभियान थालेको थियो । तर नगरपालिकाले समयमै पाता उपलब्ध नगराउँदा धेरैजना समस्यामा परेका छन् ।

जस्तापाता पाउने आशमा सबै तयारी गरेर जस्तापाता पर्खिदापर्खिदै अधिकाँशका घर भत्किईसकेका छन् । केहीका घरहरु जोखिममा छन् । जस्तापातामा खरिद प्रक्रियामा भएको ढिलाइ र जस्तापाता आइसक्दासमेत वितरणमा वेवास्ता गरेका कारण खरको छानोमुक्त नभइ आफुहरु घरमुक्त नै हुन थालेको स्थानीयको गुनासो छ । गरिब तथा विपन्न परिवारका खरले छाएका छाना हटाउन र मुन्ना घरलाई जस्तापाताले छाउन गत आर्थिक बर्षमा नगरपालिकाले ३० लाख, कर्णाली प्रदेश सरकारले ३५ लाख र संघीय सरकारले एक करोड रुपैयाँ विनियोजन गरेका थिए ।

नगरपालिकाभर आठसय ८९ घरधुरीलाई घरको छानो र मुन्ना घरमुक्त बनाउने अभियान अन्तरगर्त गत बर्षको कार्यक्रमबाट झण्डै तीन सय घरमा छानो फेरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका मेयर रत्नबहादुर खड्काले तत्काल नगरका तीनसय विपन्न तथा गरिब घरपरिवारलाई जस्तापाता वितरण गरिसक्ने बताए । कोरोना भाइरस र लकडाउनका कारण टेन्डर प्रक्रियामा ढिलाइ हुँदा समयमै जस्तापाता दिन नसकेको उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार