बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

बाँके, २ भदौं ।
बाँकेमा कोरोना संक्रमणबाट गए राति थप एक जनाको मृत्यु भएको छ । फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार गए राति ११।४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरोना परीक्षणमा सोमबार दिउँसो पोजेटिभको रिपोर्ट आएको थियो ।  मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । यसअघि नरैनापुर, बैजनाथ, कोहलपुरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया