जागिर खोज्न जाँदा हातको घडी नै बेचेँ

जीवनमा जस्तोसुकै बाधा र अड्चन आएपनि । जसले डटेर लड्ने क्षमता राख्छ, अवश्य ऊ सफल हुन्छ । यस्तै मध्येका एक हुन् नेत्रमणि चालिसे । हाल उनी वीरेन्द्रनगरमा रहेको चन्द्रगंगा मावि गाग्रेतालका प्रधानाध्यापक छन् । उनको जीवन भोगाइ र संघर्षको कथा पे्ररणादायी छ । सानो छँदा पढाइमा रुची नभएका उनले विद्यालय फेर्दै कक्षा चढ्दै पढेका हुन् । विवाहपछि भागेर भारतको हरिद्धारमा गई आश्रममा बसेर उच्च शिक्षा अध्ययन गरेका उनले जागिर खोज्दै मधेसदेखि हिमालसम्म धाउनु पर्यो । प्रस्तुत छ, आजको जम्काभेटमा उनीसँग गरिएको कुराकानी :-

बाल्यकाल
मेरो जन्म २०२२ साल बैशाख १७ गते भयो । बाग्लुङ्ग जिल्लाको अध्यवाखानथाप भन्ने स्थानमा जन्मे । बाल्यकाल पनि गाउँमै वित्यो । हामी आठ भाइबहिनी थियौं । जसमध्ये अहिले पाँच जना छौं । म घरको जेठो छोरो हुँ । म सानो हुदाँ मेरो बुवाले भारतमा एउटा कम्पनीमा काम गर्नुहुन्थ्यो । त्योबेला आमा उमेरले २१ वर्षको मात्रै हुनुहुन्थ्यो । आमाले बाबा काम गर्ने ठाउँमा गएर बाबालाई बाग्लुङ्ग फर्काउनुभयो । घरमा बुवाले भैंसी किनेबेच गर्नुहुन्थ्यो । त्यसैले पनि भैंसीका लागि पर्याप्त मात्रामा घाँस काट्नु पथ्र्यो । म दैनिकजसो घाँस काटन जान्थेँ । सोनोमा म पढ्नभन्दा काम गर्न रुची राख्थ्यँे ।

विद्यालय फेर्दै, कक्षा चढ्दै
त्योबेला गाउँमा अध्ययनको नाममा वेद र चण्डी पढ्ने चलन थियो । बुवाले मलाइ त्यही पढाउने कुरा गर्नुभयो । म पढाइमा खासै रुची राख्दैन थिएँ । बुवाले गाउँकै जिद्धीखर्क विद्यालयमा मलाइ कक्षा १ मा भर्ना गर्नुभयो । हामी चार जनाको समुह थियो । जसमा सबैभन्दा कमजोर विद्यार्थी म नै थिएँ । तर म कक्षा १ पछि सिधै कक्षा ३ मा भर्ना भएँ । अन्य बिषयको तुलनामा गणितमा म झन् निकै कमजोर थिएँ । कक्षा ४ बाट मात्रै अंग्रेजी बिषयको पढाइ हुन्थ्यो । त्यसपछि मैले कक्षा ४ मा पढिनँ । बुवाले सरकुवा भन्ने स्कुलमा सिधै कक्षा ५ मा भर्ना गरिदिनुभयो । मेरो बाजे भविश्वर चालिसेलाई गाउँमा साहु भन्थ्ये ।

बाजेको पहिचानले बुवा पनि त्यो ठाउँमा परिचित हुनुहु्न्थ्यो । सरकुवा स्कुलमा कक्षा ५ मा भर्ना त भएँ । तर त्यो बेलासम्म मलाइ राम्रोसँग पाठ पढ्न नै आउदैन थियो । एकदिन स्कुलमा सरले पाठ पढ्न लगाउँदा मैले नेपालीमा राम र सीता पनि भन्न जानिन । तर बुवाको पहिचानकै नाताले स्कुलमा म कक्षा ५ भर्ना भएँ । यसरी कक्षा ५ पनि पुरा गरेपछि कक्षा ६ मा नपढेर म फेरी कक्षा ७ मा अर्देवाजैवी भन्ने स्कुलमा भर्ना भएँ । सरहरुले मलाइ पढाईमा निकै कमजोर छ, भन्ने कुरा घरमा सुनाएपछि बुवा पनि रिसाएर अब हलो जोत्ने काम गर भन्नुभयो । म बिहानै उठेर पढ्न बस्थेँ । तर पढाइमा मन नै जान्थ्येन । त्योबेला म घरमा कोही पाहुना आईदिएको भए आमा, बाबा कुरामा भुल्थ्ये मलाइ पढ्न पर्दैन थियो भन्ने लाग्थ्यो । फेरी कक्षा ८ मा सरकुवामा भर्ना भएँ । त्यो बेलासम्म म आफैले मेरो नाम अंग्रेजीमा लेख्न जानिन । नाम लेख्न नजान्दा एक जना सरले बाँसको लठ्ठीले पिटेको अहिले पनि याद छ ।

१६ वर्षमै विहे
कक्षा ८ मा पढ्दै गर्दा मेरो परिवार बाग्लुङ्गबाट बसाइँ सरेर बर्दियाको गोला भन्ने ठाउँमा आयो । बर्दियामा घरायासी अवस्था कमजोर भएपछि १४ वर्षको उमेरै म घरबाट भागेर इन्डिया गएँ । त्यहाँ ९ महिना जति वाकमेन काम गरेँ । त्यसपछि मलाइ मेरो भविष्यका लागि त्यो काम ठिक लाग्न छाड्यो । तत्काल म घर फर्किएँ ।

२०३९ जेठमा फेरी बुवाले गोला माध्यामिक विद्यालयमा कक्षा ८ मा भर्ना गरिदिनुभयो । मलाइ चञ्चले स्वभावको पढाइप्रति पटक्कै रुची नराख्ने, कताकता भाग्न थाल्यो, भनेर बुवा र अंकलको सल्लाहमा मेरो विवाह गरिदिने निर्णय भएछ । अन्तत १६ वर्षकै उमेरमा मेरो विवाह भयो । मलाइ पढ्न मन लागेन सानो उमेरमा विवाह गरे पनि अहिले हाम्रो बैवाहिक जिन्दगी निकै राम्रो चलेको छ । श्रीमतीले निकै साथ दिएकी छन् । दुईछोरा पनि हुर्किसके ।

आश्रमबाट स्कुल जाँदा
विवाहपछि फेरी म भागेर इन्डियाको हरिद्धार भन्ने ठाउँमा गएँ । त्यहाँ म कक्षा ९ मा संस्कृत पढ्न भर्ना हुने कुरा भयो । तर घरबाट बुवाले कक्षा ८ को प्रमाणपत्र बनाएर पठाउन नसकेपछि त्यहाँ भर्ना हुन मुस्किल पर्यो । विद्यालयबाट शिक्षकले निकाल्न थालेपछि मैले अदालत पुगेर पढ्नको लागि आदेश मागेँ । अदालतले आदेश गरी दिएपछि भर्ना भएर संस्कृत पढ्न सुरु गरँे । कक्षामा ३५ जना थिए । त्यहाँ पनि सबैभन्दा म कमजोर थिए । तर कक्षा १० मा जादाँ मेरो पढाइ निकै सुध्रियो । केही समय पछि म घरमा आउँदा साथीहरुले अहिलेको जमानामा पनि संस्कृत पढेर के हुन्छ भन्न थाले ।

मैले पनि अप्ठ्यारो मानेर संस्कृत होइन, अंग्रेजी पढ्छु भनेँ । गाउँ नजिकैको एउटा विद्यालयका शिक्षकले स्कुलमा अंग्रेजी पढाउन अनुरोध गरेँ । तर कसरी पढाउनु । त्यो बेला घरमा बुवाले एउटा अंग्रेजी डिक्स्नरी राख्नु भएको रहेछ । फेरी त्यही डिक्स्नरी समातेर म हरिद्धार लागँे । संस्कृतपछि बल्ल त्यो बेला मैले अंग्रेजी ‘ए, वी, सी’ पढ्न थालँे । दिनरात नभनी पुरै शब्द घोक्न थालेँ । हरिद्धारमा म आश्रममा बसेर स्कुल पढ्थेँ । मैले यूपी बोर्डबाटै प्लस टू पास गरेँ । त्यहाँ मसँग पढ्ने नेपाली साथीहरु अहिले पनि ठुलोठुलो पोष्टमा पुग्नु भएको छ । उनीहरुको घरको आर्थिक अवस्था राम्रो भएकाले प्लस टू पछि नेपाल फर्के । तर मेरो आर्थिक अवस्था कमजोर भएकाले घर फिर्ता हुन सकिन । हरिद्धारकै एक डीग्री कलेजमा भर्ना भएँ । त्यहाँबाट मैले वीए पास गरेँ ।

जागिर खोज्दै मधेसदेखि हिमालसम्म
क्षेत्रिय शिक्षा निर्देशनालयमा कार्यरत एकजना गोपाल शर्मा सर हुनुहुन्थो । उहाँलाई मैले जागिर खान मन लाग्यो, भनेपछि उहाँले मलाइ डोल्पा जान सुझाव दिनुभयो । उहाँले चिठि लेखि दिएपछि म नेपालगंजबाट डोल्पाका लागि पैदल यात्रा सुरु गरँे । करिब ९ दिनको लगातार हिडाइँपछि डोल्पा पुगेँ । तर त्यहाँ जागिर पनि पाईएन । वीए पास हुँदा मेरो बाबा खुसी भएर इन्डियाबाट किनेर ल्याइदिएको २२ सय पर्ने घडी ११ सयमा बेचेर म जहाँजमा डोल्पाबाट नेपालगंज झरेँ । परिवार पाल्न मलाइ जसरी पनि जागिर खानु थियो ।

खर्च टार्न पैंसा कमाउनु थियो । डोल्पाबाट फर्केर म नेपालगंजको एक होटलमा बस्दै गर्दा सुर्खेतको एक विद्यालयमा शिक्षक खोलेको छ भन्ने सुनँे । त्यसपछि सुर्खेत आएँ । मेरो खल्तीमा मात्र २४ रुपैया थियो । तर गाडी भाडा ३३ रुपैंयाँ रहेछ । गाडी स्टाफले मलाइ छिन्चुमा झारी दिने चेतावनी दिए । तर वीरेन्द्रनगरको राजाचौकमा झारेपछि म खुसी भएँ । अन्तत मैले २०४७ माघ २१ गते माध्यामिक विद्यालय चौरासेमा पहिलो पटक शिक्षक नियुक्ती पाएँ । एकसय भत्ता र दुई हजार तलबबाट मेरो जागिर सुरु भयो । २०५२ मा म स्थायी भएँ । यो बिचमा धेरै विद्यालयमा अध्यापन गरेँ । २०६१ आसोज १ देखि प्रधानाध्यापकको रुपमा चन्द्रगंगा मावि गाग्रेतालमा काम गरिरहेको छु । मैले शिक्षण पेशा छोडीसकेपछि समाज सेवा र कृषि व्यवसाय गर्ने सोच छ । (२०७७ साउन ३० गते साताको जम्काभेट स्तम्भमा युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया