कपुरकाेटबाट ६ करोडको तरकारी निकासी

सल्यान, ३२ साउन ।
सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुरकोटबाट तीन महिनाको अवधिमा ६ करोड रुपैयाँ बराबरको ताजा तरकारी निकासी भएको छ । कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठ २० देखि साउनसम्म ६ करोड रुपैयाँको ताजा तरकारी निकासी भएको हा ।

बन्दाबन्दीका कारण सुरुमा तरकारी बिक्री नहुँदा किसानमा समस्यामा परेपनि अहिले भने तरकारीले उचित मुल्य पाइरहेको कृषि उपज बजार केन्द्र सञ्चालक समितिका सचिव तिलक शर्माले बताए । विगतका वर्षहरुमा भन्दा यो वर्ष किसानले तरकारीको राम्रो मुल्य पाएका छन् । तर उत्पादन भने कम रहेको उनको भनाई छ ।

उनले भने, ‘लामो समयसम्मको बन्दाबन्दीका कारण किसानले समयमै तरकारी उत्पादन गर्न नसक्दा र लगातारको वर्षातका कारण तरकारीमा रोग लाग्दा उत्पादनमा भने केही कमी आएको छ ।’ गत वर्ष कपुरकोटबाट मात्रै २६ करोड रुपैयाँ बराबरको तरकारी निकासी भएकोमा यो वर्ष भने दश करोड रुपैयाँ बराबरको मात्र ताजा तरकारी निकासी हुने अनुमान गरिएको शर्माको भनाई छ ।

कपुरकोटका अन्य २८ सहायक बजारबाट पनि तरकारी निकासी भइरहेको उनले बताए। बन्दाबन्दीले भारतको तरकारी नआउँदा र तराईमा बाढी पहिरोका कारण यो वर्ष तरकारीले राम्रो बजार पाएको किसान उज्जर सिहं पुनले बताए । कपुरकोट बेमौसमी तरकारी खेतीका लागि परिचित रहेको र यो वर्ष कोरोना भाइरसको त्रासका विक्री हुँदैन भनेर धेरै किसानले थोरै तरकारी उत्पादन गरेको उनको भनाइ छ ।

उनले भने, ‘कोरोना भाइरसको डरले तरकारी बिक्री गर्न पाइँदैन भनेर थोरै थोरै लगाए, उत्पादन कम भए पनि बजार मुल्य भने यो वर्ष सन्तोषजनक नै छ ।’ कपुरकोटबाट बुटवल, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र दाङको तुलसीपुर लगायतका बजारमा तरकारी बेच्न लैजाने गरिएको छ ।

तपाईको प्रतिक्रिया