दानसिंह परियार
प्रदेशसभा सदस्य, कर्णाली
कर्णाली राजमार्ग हुँदै नाग्म–गमगढी सम्मको सडक खण्ड वर्षौदेखि स्तरोन्नती हुन सकेको छैन । प्रमुख पर्यटकीय स्थल रारा पुग्ने सडक मार्गमा यात्रुले सास्ती खेप्दै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । एक दशक वित्न लाग्दासमेत यो सडकको स्तरोन्नतीमा ढिलासुस्ती भइरहेको छ । सडककै कारण मुगुवासी र रारा पुग्ने जोसुकै यात्रुले सास्ती खेप्नु परेको हो । तर पक्की सडकमा सहज रुपले यात्रा गर्ने मुगुवासी र रारा जाने पर्यटकका सपना चाँडै पुरा हुने कर्णाली प्रदेश सभा सदस्य दानसिंह परियारको भनाइ छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीका सारांशः
मुगुमा प्रदेश सरकारद्वारा सञ्चालित योजनाहरुको अवस्था कस्तो छ ?
यसअघि कर्णाली प्रदेशको सहयोगमा सञ्चालित गत आर्थिक वर्षका योजनाहरुको अनुगमन गर्ने काम सकिएको छ । म आफै मुगु पुगेर अनुगमन गरेँ । विशेषगरी केही सडक, विद्यालय, खानेपानी, सिचाइँ, कृषि, भेटेनरी लगायतका लक्षितवर्गका कार्यक्रमको पनि अनुगमन भयो । अनुगमनका क्रममा सञ्चालित कार्यक्रमको उपलब्धि सन्तोषजनक नै पाएँ । अहिले प्रदेश सभाको बैठक पनि भएको छैन । त्यसैले यो बिचमा फेरी एकपटक जिल्लामा आएर यो वर्षको नयाँ नीति कार्यक्रममा समेटिएका योजनाको कसरी कार्यान्वयन गर्ने भन्ने बिषयमा छलफल गर्न लागेको छु । नयाँ कार्यक्रम कार्यान्वयनबारे जिल्लावासीसँग छलफल गर्ने र गत वर्षका सम्पन्न कार्यक्रमहरुको पनि वार्षिक समिक्षा गर्ने तयारी छ ।
सांसदले कार्यविधिमा नटेकेरै योजना बाँड्नुको कारण के होला ?
सांसद विकास कोषको बजेट गतवर्ष स्थानीय तहले कार्यान्वयन गर्ने गर्दा यसमा केही समस्या देखिए । दोस्रो कुरा सांसद विकास कार्यक्रममा २० लाखभन्दा तलका योजना छनोट गर्न नपाइने र अधिकतम एकसय ५० लाखसम्मका योजना स्विकृत गर्ने भनेर गतवर्ष कार्यविधि बन्यो । योवर्ष प्रदेश सरकारका आफ्नै कार्यालयले कार्यक्रम कार्यान्वयन गर्छन् । र योवर्ष सांसद विकास कोषको रकम पनि महामारी, भोकमारी हटाउने र रोजगार बृद्धि गर्ने जस्ता कार्यक्रममा खर्च गर्ने तयारी छ । कोरोना भाइरस माहामारीलाई मध्यनजर गरी यस्तो रणनीति अपनाइएको हो । मुगुमा पनि खाद्यन्नको अभाव र भोकमारी सृर्जना हुने खालका बस्तीहरु धेरै भएकाले त्यस्ता टोल, बस्तीलाई प्राथमिकतामा राखेर आगामी योजना अघि बढाउने सोचेका छांै । नियम संगत नागरिकका माग पुरा गर्नैपर्ने हुन्छ । तर नियत खराब हुने कोही कसै जनप्रतिनि र समुदायले योजनाको दुरुपयोग गरे होलान् । त्यो नैतिकता र आचरण विपरीत कुरा हो । सबै एउटै दाजोमा पनि हुदैनन् । त्यस्तो किसिमको हर्कत र गतिविधि गर्ने जनप्रतिनिधि, उपभोक्ता समितिलाई कानुन अनुसार कारवाहीको दायरामा पनि ल्याउनुपर्छ ।
तपाइँको गृहजिल्ला पुग्ने नाग्म– गमगढी सडकको हालत बेहाल छ । तपाइँको ध्यानाकर्षण नभएको हो ?
विशेषगरी अहिले नाग्म–गमगढी सडक खण्ड अलपत्र अवस्थामा छ । दुईहप्ता अघि मात्रै म आफै जिल्ला जादाँ बाटोमा धेरै ठाउँ गाडीहरु डुब्ने जस्ता दुर्घटनाको जोखिम देखेँ । अहिले दिनहँु हजारौ जनताले कर्णाली राजमार्ग हँुदै नाग्म– गमगढी सडक खण्डमा सास्ती खेप्नु परिरहेको छ । नाग्म–गमगढी हुदै नाक्चेनाग्ला पुग्ने सडक राष्ट्रिय योजनाको सडकभित्र परेकाले पनि गत वर्ष हामीले प्रदेशबाट छुट्याएको ३० करोड खर्च गर्नसक्ने वातावरण भएन । त्यो केन्द्र सरकार मातहत परेको सडक भएकाले प्रदेश सरकारले छुट्याएको बजेट खर्च गर्न सकेनौं । अहिले संघीय सरकारले यो सडक स्तरबृद्धिका लागि ५२ करोड रकम हालेको छ । चार खण्डमा सडक कालोपत्रे गर्नेदेखि दुईलाइनको बनाउने काम सुरु गर्न टेण्डर भइसकेको छ ।
अब छिट्टै बाटो स्तरोन्नती हुन्छ । र बाटोमा यात्रुले भोग्दै आएका सास्ती हट्ने विश्वास लिएको छु । मेरै कार्यकालमा नाग्म–गमगढी सडक पक्कि भएको देख्न पाइनेमा विश्वस्त छु । केन्द्र सरकारले हालेको बजेटमा कमि भए म प्रदेश सरकारसँग समन्वय गरी बजेट व्यवस्थापनमा भुमिका खेल्नेछु । अहिले हामीले प्रदेश सरकारबाट २० करोड छुट्याएर जुम्ला, न्याउरीघाट हुँदै रारा पुग्ने फास्टट्रयाक निर्माण कार्य जारी छ ।
रारा पुग्ने पर्यटकको सहजताका लागि केही योजना छन् की ?
नाग्म–गमगढी सडक खण्डको समस्या हो । रारा पुग्ने जो सुकैले यो सडक खण्डमा सास्ती भोग्नु पर्दा समस्या भएको छ । सडक स्तरीय र सहज भएको भए पर्यटक सजिलै एकदिनमा घुम्न सक्ने र आफुले चाहेको स्थानमा आएर सुरक्षित महसुश गर्दै बस्न सक्ने स्थिति हुन्थ्यो । अहिले सडककै कारण त्यो अवस्था छैन । जबसम्म बाटोको अवस्था सुधार्न सकिदैन । तबसम्म राराको समस्या ज्यूँका त्यूँ रहने अवस्था छ । निकुञ्ज भएकाले पनि रारा भित्रको अवस्था सुधारका लागि केन्द्र सरकार बाहेक स्थानीय र प्रदेश सरकारले चाहेर पनि केही गर्न नसकिने अवस्था हो । तर बाहिरी संरचनाको लागि हामी निरन्तर पहलमा छौं ।
कोरोना महामारी र विपत्मा प्रदेश सरकारको भुमिकाप्रति तपाइँको धारणा कस्तो छ ?
कोरोनाका नाममा हामीले बाहिर जति जनताका लागि नारा लगाए पनि वास्तविक रुपमा जनताले पाउने सेवा पाएका छैनन् । कर्णालीमा संक्रमितको संख्या पनि बढिरहेको छ । दैलेख र सुर्खेतको अवस्था झन् भयावह छ । सरकारले जुन कोरोना नियन्त्रणमा लाग्नुपर्ने हो, ठोस कार्यक्रम ल्याउनुपर्ने हो । तर त्यसो गर्न सकेको छैन । जहाँ जसले जे लाग्छ, त्यसैअनुरुप धमाधम खर्च गरे । एउटा जिल्लामा न्यूनतम कति क्वारेन्टाइन, कति आइसोलेसन, के कति औषधि लगायत सामग्री व्यवस्थापन गर्ने भन्ने निक्र्यौल नै नगरी हचुवाको भरमा खर्च गरिएको छ ।
ठोस योजना नबनाएकै कारण अहिले कोरोनाको नाममा गएको जति पनि बजेट छ, त्यसको कार्यान्वयन भइराखेको छैन । भने अर्कोतिर जनस्तरमा प्रत्यक्ष जनताले प्रत्यक्ष लाभ पाउनेगरी अभियान पनि सञ्चालन भएनन् । अब ठोस योजना बनाएर अघि बढ्नुपर्छ, नत्र कोरोानाका नाममा हजारौले ज्यान गुमाउनुपर्ने र आर्थिक अनियमितता बढ्दै जाने सम्भावना देखिन्छ ।
अन्त्यमा, यहाँले मुगुको विकासको लागि गरेका काम र अबको योजना केही छन् ?
विशेषगरी जनता सडक कार्यक्रमबाट १० करोडमा मैले मुगुका गाउँपालिका जोड्ने दुई वटा सडक अघि बढाएको छु । राराताल वरिपरी साइकल यात्राका लागि पदमार्ग तयार पार्ने योजना कार्यान्वयन हुँदैछ । छायाँनाथ मन्दिर विकासका लागि काम हँुदैछ । त्यसका लागि आवश्यक बजेटको कमि हुनेछैन । विशेषगरी नाग्म–गमगढी हुँदै नाक्चेनाग्ला पुग्ने सडक, लगायतका सडक तथा अन्य केही गौरवका योजनामा मेरो प्राथमिकता छ । सकेसम्म मेरो कार्यकालमा जिल्लाको विकासका लागि भुमिका खेल्नेछु । बेरोजगार युवाहरुलाई उत्पादन र रोजगारीमा कसरी जोड्ने भन्ने कुरामा योजना बनाउदै छौं । जिल्लामा गौरवका आयोजना र मुगाली जतनाका समृद्धिसँग जोडिएका योजना अघि बढाउन म लागि परेको छु । जनभावना अनुसार पहिलेभन्दा अब अवश्य केही फरक काम गर्ने अठोट छ । (२०७७ साउन २८ गते बुधबार युगआव्हान राष्ट्रिय दैनिकको साताको हाम्रो सरकार स्तम्भमा प्रकाशित)
युग संवाददाता । । २९ श्रावण २०७७, बिहीबार १२:५४