काठमाडौं, २९ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेका दुई खेमाबीचको विवाद हल गर्न क्रियाशील नेताहरुले महाधिवेशनमा जानेगरी गृहकार्य अघि बढाएका छन् । त्यसका लागि अहिलेको पार्टीको केन्द्रीय कमिटी विघटन गरी महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने, त्यसको प्रस्ताव तयार पार्न पार्टी सचिवालय बैठक बस्ने तयारी भएको हो । केही दिनभित्रै पार्टी सचिवालय बैठक बस्नेसम्मको गृहकार्य भइरहेको छ ।
प्रधानमन्त्रीका तर्फबाट नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा लगायतका नेताहरुले यसका लागि काम गरिरहेको स्रोतको दाबी छ । यो समूह ओली र प्रचण्डसँग सम्पर्कमा रही गृहकार्य गरिरहेको स्रोतले जानकारी दिएको छ ।
नेकपाका एक स्थायी कमिटी सदस्यले दिएको जानकारी अनुसार सचिवालय बैठक डाकी त्यहाँबाट महाधिवेशनमा जाने बारे प्रस्ताव तयार पार्ने र वर्तमान केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने भन्ने बारे दुबै अध्यक्षबीच अलग–अलग छलफलमा सहमति जुटिसकेको छ ।
स्थायी कमिटीबाट यही प्रस्ताव पारित गरी जारी बैठक अन्त्य गर्ने तयारी सहित गृहकार्य भइरहेको छ । महाधिवेशन आयोजक कमिटीका अध्यक्ष प्रचण्ड मात्रै रहनुपर्ने प्रचण्ड– माधव नेपाल पक्षको दाबी छ । यसलाई ओली समूहले स्वीकार गरेको छैन । ओली पनि अध्यक्ष रहने तर कार्यकारी अध्यक्ष प्रचण्डले नै महाधिवेशनसम्म पार्टीको मुख्य जिम्मेवारी दिने गरी बीचको बाटो निकाल्ने प्रयत्न जारी छ । प्रचण्डका तर्फबाट केन्द्रीय कमिटी आयोजक कमिटीमा रुपान्तरण भएसँगै दुवै अध्यक्षले राजीनामा गर्ने र प्रचण्ड मात्र आयोजक कमिटीको संयोजक बन्ने प्रस्तावलाई ओली समूहले अस्वीकार गरेको छ ।
एमाले र माओवादी दुई पार्टीबीच एकीकरण भएपछि एकता महाधिवेशन अगावै कुनै पनि अध्यक्षले छाडेमा एकताले पूर्णता नपाउने भएकाले महाधिवेशनसम्म दुवै अध्यक्ष रहनुपर्ने ओली पक्षको तर्क छ । नेकपा सचिवालयको साउन ३ गते बसेको बैठकले मंसिरमा ‘अर्ली महाधिवेशन’ गर्ने सर्वसम्मत निर्णय गरेको थियो । त्यसको भोलिपल्ट शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुगेका प्रधानमन्त्री ओलीले त्यहीँ रहेका प्रचण्डसामु ‘जबज’ स्वीकारेर अधिवेशन पनि अध्यक्ष र प्रधानमन्त्री दुवै हुन आग्रह गरेपछि यो भाँडिन पुगेको हो ।
नेकपाको साउन १३ गते डाकिएको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डले त्यहीँ ओली पक्ष बाहेकका स्थायी कमिटी सदस्यहरुको बैठक डाकेका थिए । त्यसपछि विवादले चरम रुप लिएको थियो । पुनः झलनाथ खनाल र सुवास नेम्वाङसमेत सहभागी गराएका साउन १८ देखि अध्यक्षद्वयबीचको बैठक पनि तीन पटकभन्दा बस्न सकेन ।
साउन २१ गते डाकिएको बैठक स्थगित गरी प्रचण्ड तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान गएर आफू पक्षधर पत्रकारको भेलामा सहभागी भएदेखि अध्यक्षद्वयबीच संवाद पनि अन्त्य भएको छ । नेकपा दुवै पक्षका नेताहरु पार्टी फुट्न नदिने भन्दै सहमतिका लागि प्रयास गरिरहेका छन् ।
युग संवाददाता । । २९ श्रावण २०७७, बिहीबार ०७:४५