वीरेन्द्रनगरमा एकैदिन ३५ जनामा कोरोना, वडा कार्यालयहरु बन्द

सुर्खेत, २९ साउन ।
वीरेन्द्रनगर नगरपालिकामा कोरोना संक्रमण बढ्न थालेपछि नरपालिका उच्च जोखिमा पुगेको छ । नगरपालिकामा एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण समुदाय स्तरमा फैलिन थालेपछि नगरपालिकाले वडा कार्यालय बन्द गर्ने र अन्तर वडा आवत, जावतमा कडाई गर्ने भएको छ ।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतले नगर कार्यपालिका र आफ्नो मातहतका सम्पूर्ण वडा कार्यालयहरु र अन्तर वडा आवत जावतमा समेत पूर्ण रुपमा बन्द गर्ने भएको छ । यहि साउन ३० देखि आगामी भदौं ५ गते सम्म बन्द रहने जनाएको छ । नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको निर्णय अनुसार वीरेन्द्रनगर नगरपालिका र मातहतका वडा कार्यालयहरु पूर्णरुपमा बन्द हुने जनाएको हो । तर यस अवधीमा भने कोरोना व्यवस्थापन, स्वास्थ्य तथा सरसफाई, फोहरमैला व्यवस्थापन र विपद व्यवस्थापन भने सुचारु हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले यसबाट जनतामा पर्न जाने असुविधा प्रति क्षमायाचना गर्दै कोरोना भाइरसको संक्रमण न्यूनीकरणकालागि उच्च सतर्कता अपनाई अतिआवश्किय काम बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । साथै नगरबासीहरुमा चाडवाड र धार्मिक परम्परा संग सम्बन्धित भिडभाड हुने र असुरक्षित हुने गतिविधीहरु सञ्चालन नगर्न अनुरोध गरेको छ ।

एकैदिन ३५ जनामा कोरोना संक्रमण
वीरेन्द्रनगरमा एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १, ५, ७, १० र १२ एक÷एक जना, वडा नं. ३ र १२ का दुई/दुई जना, वडा नम्बर ११ मा तीन जना र वडा नम्बर ४ मा चार जनामा बुधवार कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै बुधवार नै लेकवे शी नगरपालिकाका एकजनासहित वीरेन्द्रनगरकाका १७ जनामा संक्रमण पुष्टि भएको छ ।

वीरेन्द्रनगरका ३५ जनामध्ये समुदायस्तरका पाँच जना र १७ जना विदेशबाट आएका हुन् । वीरेन्द्रनगरका १८ जनासहित दैलेखका चार जना र सल्यानका एकजना गरी बुधबार कर्णाली प्रदेशमा २३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीका कुल संक्रमितको संख्या दुई हजार ३४ जना पुगेको छ । सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ६ का एक जनासहित वीरेन्द्रनगरका १८ जनाको प्रदेश अस्पताल/पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा गर्दा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै दैलेख अस्पतालमा पीसीआर परीक्षण गर्दा दैलेखको नारायण नगरपालिका वडा नं. १, ३, ५ र दुल्लु नगरपालिका वडा नं. ३ का एक/एक जनामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै बुधबार नै कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट गरी तीन जना डिस्चार्ज भएका छन् । हालसम्म कर्णालीमा डिस्चार्ज हुनेको संख्या एकहजार आठसय ९४ जना पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया