चार वर्षदेखि इलाका प्रशासन प्रमुखविहीन

मुगु, २८ साउन ।
सोरु गाउँपालिकाको सोरुकोटमा रहेको इलाका प्रशासन कार्यालय ४ वर्षदेखि प्रमुखविहीन बनेको छ । सोरु, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाका बासिन्दाको सरकारी सेवाप्रवाह सहज बनाउन सोरुकोटमा इलाका प्रशासन स्थापना गरिएको थियो । इलाका प्रशासन लामो समयदेखि प्रमुखविहीन भएपछि नाथर्पु, फोतु, जिमा, भीइ, धैनकोट, सोरुकोट, पुरुमुरु, सिपलगायत गाउँका बासिन्दा २ दिन हिँडेर सदरमुकाम आएर सरकारी कामकाज गर्न बाध्य छन् ।

कार्यालय स्थापना भएको एक वर्षसम्म इलाकामा सहायक प्रमुख जिल्ला अधिकारी दिलबहादुर पौडेल कार्यरत थिए । उनी सरुवा भएर गएपछि गृह मन्त्रालयले अर्को व्यवस्था नगर्दा कार्यालय प्रमुखविहीन बनेको हो । अहिले कार्यालयमा कार्यालय सहयोगीहरु गोर्ख मल्ल र जनक कार्की मात्र कार्यरत छन् । उनीहरुले दैनिक कार्यालय खोल्ने र बन्द गर्ने काम मात्र गरिरहेका छन् ।

इलाका प्रशासनबाट सेवा प्रवाह नभए पनि घर भाडाको नाममा सरकारी बजेट खर्च भइरहेको छ । कार्यालयका कुर्सी, टेब्ल, दराजलगायत फर्निचर पनि प्रयोगविहीन छन् । नाम मात्रको इलाका प्रशासनका कारण जनताले सास्ती भोग्नु परेको सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए ।

कार्यालय प्रमुखको व्यवस्था गरिदिन बारम्बार विभिन्न निकायमा आग्रह गर्दा पनि बेवास्ता भइरहेको उनको गुनासो छ । ‘नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम जानुपर्ने बाध्यताको अझै अन्त्य भएन,’ उनले भने, ‘कार्यालय खोलेर सरकारी रकमको दुरुपयोग मात्र भएको छ ।’

उनका अनुसार विकास निर्माणलगायत पञ्जीकरण र विभिन्न सरकारी कामकाज स्थानीय तहबाटै हुने गरे पनि जनताले नागरिकता बनाउन सास्ती भोगिरहेका छन् । जिल्ला प्रशासनमै कर्मचारी अभाव हुँदा सोरुकोटमा पठाउन नसकिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए ।

तपाईको प्रतिक्रिया