सुर्खेत, २६ साउन ।
बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर–९ का सञ्चालक समिति अध्यक्ष पञ्चसिं रोकायको निधन भएको छ । क्यान्सरबाट पीडित रोकायको उपचारकै क्रममा सोमबार विहान घर लाटीकोइलीमै निधन भएको हो । बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारीको संस्थापक तथा पाँचौ कार्यकाल अध्यक्ष रहनुभएका रोकायले जिल्लाका धेरै सामाजिक संघ, संस्था र अभियानहरुमा सहभागि हुनुभएको थियो ।
ढुवानी सेवा र बुद्ध सप्लायर्स हार्डवयर व्यवसाय गर्दै आउनुभएका उहाँ राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रियतापूर्वक लाग्नुभएको थियो । संविधान सभा निर्वाचन र संसदीय निर्वाचनमा नयाँ शक्ति पार्टी, राष्ट्रिय जनता पार्टी, समाजवादी जनता पार्टीबाट संसदको उम्मेदवार बनेर निर्वाचनमा लड्नुभएको थियो ।
आदिवासी जनजाति महासंघ सुर्खेतको अध्यक्ष, समाजवादी जनता पार्टीको प्रदेश महासचिव, होराइजन एकेडेमीका सञ्चालक समिति सदस्य, बौद्ध गुम्वा निर्माणार्थ आयोजित महायज्ञका संयोजक, सुर्खेतपहिचान दैनिकका प्रकाशक समेत रहनुभएको थियो । उहाँको पाँच बर्ष अगाडी कलेजो ट्रान्सप्लान्ट गरिएको थियो ।
कलेजो ट्रान्सप्लान्ट सफल भएपछि २०७६ चैत्रमा मुखको खटिरा क्यान्सर पुष्टि भएको थियो । चैत्रमा क्यान्सर देखिएपछि उपचार गरिरहुनुभएको थियो । उपचारपछि घर फर्किनुभएका रोकायको निधन भएको जनाइएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।
युग संवाददाता । । २६ श्रावण २०७७, सोमबार ०९:१२