एमयूका नयाँ उपकुलपतिका दर्जन नयाँ योजना

विश्वविद्यालयलाई आत्मनिर्भर बनाइने

सुर्खेत, २२ साउन ।
सुर्खेतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भएको दशवर्ष पुरा भइसकेको छ । तर दश वर्षसम्म आइपुग्दा विश्वविद्यालयमा जनताको अपेक्षाविपरितका गतिविधिहरु हुँदै आए । सुरुवातमै पदाधिकारीहरुको भ्रष्टाचार काण्डले विश्वविद्यालय नै बदनाम भयो । त्यसपछि पनि विश्वविद्यालयलाई भर्ती केन्द्रको रुपमा प्रयोग गरियो ।

कर्मचारी नियुक्तीको प्रक्रियामा शैक्षिक योग्यता र क्षमताको कुनै कदर भएन । शक्ति केन्द्रबाट शिक्षक कर्मचारीहरुको नियुक्ती गर्ने परिपाटी बस्यो । परिणामत विश्वविद्यालयको शैक्षिक गुणस्तरमै प्रश्न उठ्न थाल्यो । जनताले चन्दा संकलन गरेर जन्माएको विश्वविद्यालयमा हाल ७६ करोड बेरुजु छ । विश्वविद्यालमा यस्ता उथलपुथल र विकृतिको चाङ नै लागेको छ । यस्तो चुनौतीकाबीच विश्वविद्यालयमा केही महिना अघिमात्र नयाँ उपकुलपतिको रुपमा प्रा.डा. नन्दबहादुर सिंहले नेतृत्व सम्हालेका छन् ।

बन्द, हड्ताल र विवादले जेलिएको यो विश्वविद्यालयको स्वरुप बदल्ने महत्वाकाँक्षी योजनाहरु उपकुलपति सिंहले सार्जजनिक गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उपकुलपति सिंहले विश्वविद्यालयको साख जोगाउने र आत्मनिर्भर बन्नेसहितका नयाँ योजनाहरु सार्वजनिक गरेका छन् । विश्वविद्यालयमा नियुक्ती भएको एकसय ५८ दिनको अवधिमा तयार पारेको भौतिक संरचनासहितको गुरुयोजना उनले सार्वजनिक गरेका हुन् । जसमा शैक्षिक गुणस्तरका लागि उपकुलपति, रजिष्ट्रार, डीनले पनि मासिक रुपमा अध्यापन गराउनेदेखि भ्रष्टाचार निवारणसम्मका योजनाहरु रहेका छन् ।

यसअघिका पदाधिकारीले पनि विश्वविद्यालयको स्वरुप बदल्ने योजना सार्वजनिक नगरेका होइनन् । तर सुरुवातमा महत्वाकाँक्षी योजना बनाउने तर काम नगर्ने संस्कार हिजोका पदाधिकारीले छाडेर गएका छन् । यसपटक उपकुलपति सिंहले अगाडि सारेको विश्वविद्यालयको भौत्तिक सुधार र आत्मनिर्भरताको योजना कार्यान्वयन गर्ने दाबी गरेका छन् । आफू जागिर खानका लागि नभई यहाँको शैक्षिक विकासका लागि आएको दाबी गरेका उपकुलपति सिंहले काम गर्दा राजनीतिक दवाब आएका एक मिनेट पनि पदमा नबस्ने घोषणा गरे । योग्यता भएकाहरुलाई अवसर दिइने भन्दै उनले शैक्षिक गुणस्तरमा सम्झौता नहुने बताए ।

होटलमा सेमिनार गर्न नपाइने
विश्वविद्यालयको केन्द्रिय कार्यालय वा अन्य निकायले आयोजना गर्ने सेमिनारहरु होटल र रेष्टुरेन्टहरुमा गर्न नपाइने भएको छ । राष्ट्रिय र अन्तर्राष्टिय कार्यक्रमहरु भने विश्वविद्यालयको स्विकृति लिएर मात्रै होटल तथा रेष्टुरेन्टहरुमा गर्न पाइने भएको छ । त्यस्तै विश्वविद्यालयका सम्पूर्ण संकाय, क्याम्पस र विभागले कुनै पनि खरिद कार्य गर्दा केन्द्रिय कार्यालयबाट स्विकृति लिनुपर्ने छ । विश्वविद्यालयको आर्थिक भार घटाउन र भ्रष्टाचार न्यूनिकरणका लागि यस्तो निर्णय गरिएको हो ।

विश्वविद्यालयबाट आर्थिक पारदर्शिता र भ्रष्टाचार न्यूनिकरणका लागि पप्लिक अडिट (सार्वजनिक सुनुवाई गर्ने, विश्वविद्यालयको सम्पूर्ण जिन्सी सामानहरु अनलाइनमा राख्ने, सबै कर्मचारीलाई भ्रष्टाचार निर्मूलनका लागि प्रतिबद्ध गराउने लगायतका योजनाहरु बनाएको छ ।

योग्यताका आधारमा कर्मचारी नियुक्ती
विश्वविद्याललयको शैक्षिक गुणस्तर सुधारका लागि अब शैक्षिक योग्यताका आधारमा मात्रै कर्मचारीहरु नियुक्ती गरिने भएको छ । विश्वविद्यालयको कार्यकारी परिषदको निर्णय अनुसार मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगत विभिन्न संकाय तथा संकाय अन्तरगतका विभाग, अनुसन्धान केन्द्र वा अन्य निकायमा कर्मचारी नियुक्ती गर्दा शैक्षिक विशिष्टता अर्थात गोल्डमेटलिष्ट, विशिष्ट, प्रथम स्थान हाँसिल गरेका जनशक्तीलाई प्राथमिकतादिने छ । नेपालमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट रजिष्टार र डिनहरुको नियुक्ती प्रक्रिया थालेका शैक्षिक क्षेत्रको सुधारका लागि यस्तो प्रयास गरेको जनाएको छ ।


अत्याधुनिक भवन, डिजिटल गेट
विश्वविद्यालयलाई आत्मनिर्भर बनाउनका लगि उपकुलपति सिंहले क्याम्पसमै योगसेन्टरदेखि पाटीप्यालेसम्मका योजनाहरु समावेश गरेका छन् । उपकुलपतिको गुरुयोजना अनुसार अब क्याम्पसभित्रै एमयूमहल, योगेसेन्टर, पाटीप्यालेस, स्वमिङपुल र टेलिस्कोप निर्माण गरिनेछ । एमयूमहलमा कर्णालीमा उत्पादनहरु बिक्री वितरण गरिनेछ । वीरेन्द्रनगर उपत्यका देखिने गरी नौ तले भू–टावर (टेलिस्कोप) हुनेछ ।

केन्द्रीय कार्यालय रहेको कुइनेपानीको २० विघाह क्षेत्रफलको बाहिरी कम्पाउन्डसहितका सटरहरु ब्यापारिक प्रयोजनमा प्रयोग गरिनेछ । आम नागरिकलाई लक्षित गरी होटल र होस्टेलहरु रहने छन् । होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले होटलमा काम गर्नेछन् भने प्राध्यापकहरु होटल सञ्चालनको जिम्मेवारी लिनेछन् ।

हाल विश्वविद्यालयको मातहतमा रहेको जग्गामा अत्याधुनिक भवन निर्माण गर्ने, डिजिटल गेट राख्ने, विद्युतीय पुस्तकालय स्थापना, अन्तर्राष्टिय स्तरको सेमिनार हल, इन्डोर खेल खेल्न मिल्ने संरचना निर्माण र विद्यार्थीमैत्री संरचनाहरु निर्माण गर्ने उनको योजनामा समावेश गरिएका छन् । यसका लागि दाताहरुको खोजी गरिएको भन्दै उपकुलपति सिंहले अबको दुई वर्षभित्रमा योजनाहरु कार्यान्वयन गरिने दाबी गरे ।

पदाधिकारीले पनि पढाउने
विश्वविद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि उपकुलपति, रजिष्ट्रार, डीन, कार्यकारी निर्देशक, सहायक डिन लगायतले अनिवार्य रुपमा पढाउनुपर्ने निर्णय उपकुलपति सिंहले गराएका छन् । विश्वविद्यालयको कार्यकारी परिषद्को बैठले उपकलुपति र रजिष्ट्रारले महिनामा दुईपटक, डीन, कार्यकारी निर्देशक र सो सरहका पदाधिकारीहले महिनामा चार पटक, सहायक डीनले महिनामा ६ पटक, क्याम्पसक प्रमुखले महिनामा आठ पटक र सहायक क्याम्पस प्रमुखले नियमित अध्यापन गराउनुपर्ने छ ।

\शैक्षिक गुणस्तर सुधार्न र आंशिक शिक्षक संख्या घटाउन यस्तो निर्णय गरिएको हो । नपढाउने तर जागिर खाने प्राध्यापकहरुलाई कारबाही गर्न लागिएको उपकुलपति सिंहले बताए । त्यस्तै यो विश्वविद्यालयमा जागिर खाने र विश्वविद्यालयमा आएका विद्यार्थीहरुलाई ललाइफकाई गरेर आफ्नो निजी कलेज चलाउने प्राध्यापकहरु पनि उपकुलपतिको निशानामा परेका छन् । त्यस्तै अबको दुई वर्षभित्र विश्वविद्यालयका सम्पूर्ण संकायहरुमा अनलाइक कक्षा सञ्चालनका लागि सम्भव गराउने, आउँदो मंसिरसम्म वीएसी ऐजी, फरेष्ट र हेल्थ साइन्सको अध्यापन सुरु गर्ने लगायतका योजनाहरु अगाडि सारिएका छन् । (२०७७ साउन २२ गते विहिबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार