चीनतर्फका सीमा स्तम्भ पहिचान

हुम्ला, २२ साउन ।
उत्तरी चीन सँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको छ । सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको चौकीले एक महिनामा सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको हो ।

चौकी स्थापना भएको छोटो अवधिमा तिब्बततर्फ मरुभूमि खण्डमा सीमा स्तम्भ पहिचान गर्ने कार्य सम्पन्न गर्न टोली सफल भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए । गत असार ६ गते हुम्लाको हिल्सामा सीमा सुरक्षा चौकी स्थापना भएको थियो । चौकी स्थापना भएदेखि दैनिक रूपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पहिलो पटक सीमामा गस्ती सुरु गरेको थियो । हाल सबै स्तम्भ पहिचान गर्ने कार्य भएको उनले बताए ।

नेपाल र चीनको सीमाअन्तर्गत हुम्ला खण्डको २६२ दशमलव तीन किलोमिटर क्षेत्रमा कुल १५ वटा सीमा स्तम्भ रहेको बताउँदै प्रजिअ गिरीले पिल्लर नम्बर ११ मात्र नभेटिएको र अन्य सबैको पहिचान भएको बताए । कुल सीमा स्तम्भमध्ये १० वटा मुख्य र पाँचवटा सहायक पिल्लर हुम्ला खण्डमा छन् । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको पठार क्षेत्र भएका कारण सीमा सुरक्षा चौकीलाई स्तम्भ पहिचान गर्न निकै कठिन भए पनि त्यसमा सफलता मिलेको उनले बताए ।

पत्ता नलागेको एउटाबाहेक अन्य सबै सीमा स्तम्भको अवस्था मिश्रित रहेको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टले बताए । केही पिल्लर ढलेका र केहीको अवस्था राम्रो छ । पिल्लर ढले पनि सीमामा कतै तलमाथि भएको छैन । हुम्लामा पर्ने सबै सीमा स्तम्भको अवस्थाबारे कार्ययोजना निर्माण गर्न सीमा सुरक्षा चौकी हिल्साका इन्चार्ज तथा सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको टोली लागेको छ ।

तपाईको प्रतिक्रिया