कर्णालीका सबै जिल्लामा अक्सिजन प्लान्ट

कर्णालीमा कोरोनाविरुद्ध दोस्रो चरणको तयारी

सुर्खेत, २१ साउन ।
लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम पूर्ण अवस्था आएको भन्दै कर्णाली प्रदेश सरकारले दोस्रो चरणको लकडाउनबारे छलफल सुरु गरेको छ । छिमेकी प्रदेश र तराइका जिल्लामा कडा लक्षणसहितका संक्रमित भेटिन थालेपछि कर्णालीमा सतर्कता अपनाउन थालिएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको बताएका छन् । ‘तराइ र छिमेकी प्रदेशमा कडा लक्षणसहितका कोरोना संक्रमित देखिन थालेका छन्’ मुख्यमन्त्री शाहीले भने, ‘कोरोना संक्रमणका हिसावले कर्णाली पहिलेभन्दा थप जोखिमपूर्ण अवस्थामा छ ।’ जोखिम बढ्दै जाँदा कोरोना परीक्षणको दायरा बढाउनेदेखि अक्सिजन प्लान्ट स्थापना सम्मका योजनाहरु बनाएको छ । परीक्षणको दायर बढाउन प्रदेशमा थप तीन वटा ठूला क्षमताका मेसिन अर्थात ‘अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन सिस्टम’ मेसिन जडानको तयारी गरिएको छ ।

एउटा मेसिनले दैनिक कम्तिमा एक हजार स्वाब परीक्षण गर्ने उद्देश्यले जुम्ला र सुर्खेतमा तीन वटा मेसिन थप गर्न लागिएको हो । समुदायमा कोरोना संक्रमण फैलिएको छ/छैन भनेर पत्ता लगाउन र संक्रमण समुदायमा फैलिन नदिन परीक्षणको दायरा बढाउन थालिएको प्रदेश सरकारको भनाइ छ । जस अन्तरगत सुर्खेत र दैलेख जिल्लामा समुदायस्तरमै कोरोना परीक्षण सुरु गरिएको छ । संक्रमणको जोखिम बढ्दै गएको भन्दै प्रदेश सरकारले हरेक जिल्लामा अक्सिजन प्लान्ट राख्ने तयारी गरेको छ । कोरोना संक्रमितको उपचारमा सहजता ल्याउन हरेक जिल्लामा अक्सिजन प्लान्ट राख्ने तयारी गरेको हो ।

तत्काल अक्सिजन प्लान्ट राख्न सम्भव नहुने जिल्ला भने सुर्खेतबाट आपूर्ति गरिनेछ । अक्सिजनको अभावमा संक्रमितको मृत्यु नहोस् भन्ने उद्देश्यले सबै जिल्लामा अक्सिजन पुरयाइने सरकारको भनाइ छ । यस्तै तत्काल प्रदेशमा भेन्टिलेटरको संख्या कम्तिमा ५० र आइसीयू बेडको संख्या एकसय पु¥याइने भएको छ । त्यस्तै हरेक पालिकामा ५० बेडको आइसोलेसन सेन्टर र प्रत्येक वडाका क्वारेन्टाइन राखिनेछ ।

प्रदेशका हरेक नागरिकलाई दुई वटा मास्क
कर्णालीका सबै नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने गरी प्रदेश सरकारले नयाँ रणनीति बनाएको छ । कोरोना समुदायमा फैलिन नदिन प्रदेशमा रहेका सबै नागरिकलाई अनिवार्य रुपमा मास्क वितरण गरिनेछ ।  हाल कर्णालीमा करिब १८ लाख जनसंख्या रहेको प्रदेश सरकारको अनुमान छ ।

हरेकलाई दुई वटाका दरले मास्क निशुल्क बाँड्ने तयारी थालिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए । ‘सामाजिक दुरी कायम गराउन प्रयास गर्नेछौं, मास्क अनिवार्य प्रयोग गर्ने अभियान नै संचालन हुनेछ’ मुख्यमन्त्री शाहीले भने,‘हरेकलाई दुई वटा मास्क वितरण गर्नेछौं, मास्क धुन मिल्ने र लामो समयसम्म प्रयोग गर्न मिल्ने खालको हुनेछ ।’ कतिपयले आफै पनि मास्क खरिद गर्न सक्ने भएकाले नसक्ने नागरिकहरुको हकमा सरकारले निशुल्क उपलब्ध गराउने योजना रहेको मुख्यमन्त्री शाहीले बताए ।

पूर्वी तराइ र सुदूरबाट आउनेमाथि निगरानी
हाल पूर्वी तराइ र सुदूरपश्चिमका जिल्लामा कडा लक्षणसहितको कोरोना भाइरस देखिएको छ । यसकारण कर्णाली सरकारले अब सुदूरपश्चिमका जिल्ला र तराइका जिल्लाबाट कर्णाली आउने नागरिकलाई विशेष निगरानीमा राख्ने भएको छ ।

‘जोखिमपूर्ण ठाउँबाट फर्केका नागरिकलाई हप्तादिनसम्म विशेष निगरानी गर्छाैँ’ मुख्यमन्त्री शाहीले भने, ‘सुदूरपश्चिम र तराइका जिल्लाबाट फर्कने हरेक नागरिकलाई पीसीआर परीक्षण गरेर मात्रै गाउँमा पठाउँछाँै ।’ हालसम्म कर्णाली प्रदेशमा कडा लक्षण सहितका संक्रमित नभेटिएको प्रदेश सरकारको निष्कर्ष छ । कुल एकहजार नौँ सय ४५ जना संक्रमित कसैलाई पनि कोरोनाको कडा लक्षण देखिएको छैन ।

नाकामा अनिवार्य पीसीआर परीक्षण
कोरोना संक्रमण बढ्दै गएको खण्डमा कर्णालीमा प्रवेश गर्ने नाकामा पीसीआर रिपोर्ट अनिवार्य गरिने भएको छ । प्रदेशमा कडा लक्षणसहितको कोरोना भित्रिन नदिन पीसीआर परीक्षण अनिवार्य गर्न लागेको हो । ‘काठमाडौं प्रवेश गर्न पीसीआर रिपोर्ट चाहिने, तर कर्णाली प्रवेश गर्दा किन नचाहिने ?’ मुख्यमन्त्री शाहीले भने, ‘अब कर्णाली प्रवेश गर्न अनिवार्य पीसीआर परीक्षण गरिनेछ, बबईमा परीक्षण गरेर मात्र प्रवेश दिइनेछ ।’

प्रदेशमा कडा लक्षणसहितका संक्रमित भित्रिन नदिन पीसीआरलाई अनिवार्य गरिने उनको छ । यसका लागि सरकारले लकडाउन गरेपछि मात्र बाध्यकारी बनाइने छ । पीसीआर रिपोर्ट भएपछि मात्रै कर्णालीमा प्रवेश गर्न पाइने र सिमा नाकाहरुमा चेकजाँचमा कडाइ गरिने प्रदेश सरकारको तयारी छ ।

कृष्ण जन्माष्टमी र तीजमा रोक
कोरोनाको संक्रमणको जोखिमपूर्ण अवस्था आएको भन्दै सुर्खेतमा आउँदै गरेको जन्माष्टमी र तीज पर्वमा रोक लगाइने भएको छ । कोरोना नियन्त्रणका लागि सभा, गोष्ठी, सेमिनार, तालिम, जुलुस, जात्रा, महोत्सवलगायत धार्मिक कार्यक्रमहरुमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

मंगलवार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । जसअनुसार कृष्ण जन्माष्टमी, हरितालिका तीज लगायतका पर्वहरु खुला रुपमा मनाउन रोक लगाइएको हो । तीज र जन्माष्टमीमा भीडभाड हुने भएकाले रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।

हरेक वर्ष वीरेन्द्रनगरको खुल्लामञ्चमा तीज प्रतियोगिता हुँदै आएको छ । त्यस्तै कृष्ण जन्माष्टमीको वीरेन्द्रनगर बजारमा लाखे नाँच र कृष्ण मन्दिरहरुमा विशेष मेलासमेत गरिदै आएको छ । यो वर्षभने कोरोना भाइरसका कारण तीज र जन्माष्टमी पर्वमा रोक लगाइएको हो ।

हेलिकोप्टर भाडामा लिने तयारी
त्यस्तै प्रदेश सरकारले आगामी असोजसम्मको लागि हेलिकोप्टर भाडामा लिने तयारी गरेको छ । बाढीपहिरो जस्ता विपत्मा तत्काल उद्दार गर्न र राहत पु¥याउने उद्देश्यले हेलिकोप्टर भाडामा लिने तयारी गरेको हो ।  हेलिकोप्टर नहुँदा बाढीपहिरो जस्ता घटनामा उद्दार गर्न र राहत पुरयाउन समस्या भएको भन्दै प्रदेश सरकार आफैले आफैले हेलिकोप्टर भाडामा लिने तयारी गरेको हो ।

‘गाडी नपुग्ने स्थानमा हेलिकोप्टरबाटै राहत र उद्दारका सामग्रीहरु पु¥याउनुपर्छ, तर सरकारसँग हेलिकोप्टर छैन’ मुख्यमन्त्री शाहीले भने, ‘केन्द्र सरकारलाई गुहार्नुभन्दा हामी आफैले हेलिकोप्टर भाडामा लिने तयारी गरेका छौँ ।’ बर्षेनी बाढीपहिरोले लाखौँ धनजनको क्षति हुन थालेपछि प्रदेश सरकारले हरेक वडामा उद्दार कार्यदल निर्माण गरेको छ ।

सुरक्षा निकायको नेतृत्वमा गठन भएको कार्यदलका हरेक सदस्यलाई विपतमा उद्दारका लागि आवश्यक टेनिङसमेत दिइएको छ । यस्तै उद्दारमा प्रयोग हुने सामग्रीहरु खरिदका लागि पाँच लाख रुपैयाँ हरेक जिल्ला विपद व्यवस्थापन समितिलाई उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया