श्रीखण्ड र रक्तचन्दनको मूल्य पनि तोकियो

सुर्खेतमा मजदुरको कसकाे कति बढ्यो दैनिक ज्याला

निर्माण सामाग्रिकाे मुल्य यतावत

सुर्खेत, २० साउन ।
सुर्खेतमा निर्माण सामग्री र जडिबुटीको मूल्य तोकिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय अन्तर्गतको दररेट निर्धारण समितिले निर्माण सामग्रीको मूल्यमा हेरफेर गरेको हो । यस्तै सोही समितिले मजदुर हरुको ज्याला पनि तोकेको छ । बजारमा महँगी बढ्दै जाँदा समितिले मूल्य निर्धारण गरेको हो । त्यसैगरी मजदुरहरुको ज्यालामा पनि हेरफेर गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

अब यही समितिले निर्धारण गरेको दररेट अनुसार नै कारोबार हुनेछ भने मजदुरले तोकिएको दरमा ज्याला पाउनेछन् । आफूखुशी बजार मूल्य तोक्ने र मजदुरलाई कम ज्याला दिएर शोषण गर्ने क्रम बढेपछि प्रशासनले यस्तो दररेट निर्धारण गरेको हो । यसको कार्यान्वयनका लागि नियमिति अनुगमन गरिने प्रशासन कार्यालयले जनाएको छ ।

समितिले निर्धारण गरेको दररेट अनुसार अब सरकारी काममा खटिने मजदुरको एकसय रुपैयाँ ज्याला बढेको छ । आर्थिक ऐन अनुसार १२ प्रतिशतसम्म मजदुरको ज्याला बढाइएको हो । यस्तै निजी तथा गैरसरकारी संघ संस्थाहरुमा दैनिक ज्यालामदजुरी गर्नेहरुको पारिश्रमिक पनि बढेको छ । जसअनुसार डकर्मी, सिकर्मी, चित्रकार र पेन्टरको एकसय रुपैयाँ ज्याला बढेको छ । यसअघि दैनिक आठसय पारिश्रमिक पाउने मजदुरहरुले अबदेखि नौंसय रुपैयाँ दैनिक ज्याला पाउनेछन् ।

काम गराउनेले अब साविकको भन्दा एकसय रुपैयाँ बढी दैनिक ज्याला दिनुपर्ने छ । यस्तै निर्धारित दररेट अनुसार अब ज्यामीको दैनिक ६ सय, पलम्बरको ६ सय ८८, सिनियर पलम्बरको सात सय, इलेक्ट्रिसियन हेल्परको ६ सय, इलेक्ट्रिसियनको सातसय, निर्माण सामग्री परीक्षण गर्ने ल्याव असिस्टेनको ६ सय ४० र टेक्निसियनको सात सय ४५ रुपैयाँ तोकिएको छ ।

सोही अनुसार अब उनीहरुले दैनिक ज्याला पाउनेछन् । त्यस्तै हलुका ड्राइभरको हकमा ६ सय ६०, हेभि ड्राइभरको हकमा सातसय ३०, हेभि इक्यिुमेन्ट अप्रेटरको आठसय २०, ड्राइभर सहयोगीको ६ सय, नगर निरीक्षक अर्थात कार्यालय सहयोगी सरहलाई ६ सय, नर्सरी नाइके, क्याम्पस वर्कर, चौकिदार, कुचिकार, सर्भे हेल्पर र मालिको ६÷६ सय रुपैयाँ दैनिक ज्याला निर्धारण गरिएको छ ।

मजदुरको हकमा गत आर्थिक वर्षको तलुनामा ६० रुपैयाँदेखि एकसय रुपैयाँसम्म ज्याला बढेको हो । यस्तै मजदुरको हकमा अब २६ दिनसम्म काम गरेको खण्डमा एक महिना मान्नुपर्ने समितिले निर्णय गरेको छ । अबदेखि मजदुरले २६ दिनमात्रै काम गरे पनि एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुपर्ने छ ।

नेपाल सरकारको आर्थिक ऐन अनुसार सरकारी क्षेत्रका काम गर्ने मजदुर र निर्माण सामग्रीको हकमा मूल्य निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बताए । यता नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेशका अध्यक्ष तेजप्रकाश जिसीले सरकारी क्षेत्रमा काम गर्ने मजदुरले सामाजिक सुरक्षा र श्रमिकका हकअधिकार कार्यान्वय हुन नसकेको बताउँछन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, श्रम तथा रोजगार कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुले समेत श्रम र श्रमिकका अधिकारहरु कार्यान्वयन गराउन नगराएको उनको भनाइ छ । प्रशासन कार्यालयले मूल्य र ज्याला निर्धारण गरेसँगै बजारमा कालोबजारी नहुने र मजदुरले उपयुक्त ज्याला पाउने विश्वास जिल्ला प्रशासन कार्यालयले गरेको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि अनुगमनलाई कडाइ गरिनेसमेत प्रशासनको भनाइ छ ।

विद्युतीय सामग्रीको मूल्य बाँकेकै भरमा
सुर्खेतको मूल्य निर्धारण समितिले विद्युतीय लगायतको केही सामग्रीको मूल्य निर्धारण गर्न भने सकेको छैन । विद्युतीय पोल ट्रकबाट ढुवानी र विद्युत सम्बन्धी सम्पूर्ण निर्माण सामग्रीको मूल्य बाँकेमा स्वीकृत दररेट तथा ढुवानी अनुसार कायम हुने व्यवस्था गरिएको छ । त्यस्तै जिआई पाइप, जिआई फिटिङ लगायतका सामग्री पनि बाँकेकै दररेट अनुसार सुर्खेतमा लागु हुनेछ ।

हालसम्म सुर्खेत जिल्लामा स्वीकृत दररेटमा समावेश नभएको भन्दै उक्त सामग्रीको हकमा बाँकेमा लागु गरिएको मूल्य सूची सुर्खेतमा लागु गर्नुपरेको हो । बाँकेमासमेत निर्धारण नभएका मूल्य सूची भने काठमाडौंको दररेट अनुसार बिक्री वितरण गर्नुपर्नेछ ।

निर्माण सामग्रीको मूल्य यथावत इट्टाको भने यसपाली बढाइयो
मूल्य निर्धारण समितिले अधिकांश निर्माण सामग्रीको मूल्य गत वर्षकै यथावत राखेको छ । समितिले निर्धारण गरेको दररेट अनुसार पीपीसी सिमेन्टतर्फ नेपाली र भारतीय ४५ ग्रेडको प्रतिबोरा सातसय र भारतीय र नेपाली ५३ ग्रेड सातसय ३० रुपैयाँ कामय गरिएको छ ।  त्यस्तै ओपीसी सिमेन्टतर्फ भारतीय र नेपाली ५३ ग्रेडको आठ सय ४० रुपैयाँ, नेपाली ४३ ग्रेडको आठसय २० रुपैयाँ र ४० किलोको सेतो सिमेन्ट प्रतिबोरा एक हजार दुईसय ५० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै ढुङ्गातर्फ फोरुवा र बोल्डरको हकमा प्रति घनमिटर एकहजार आठसय, कार्बाेरेन्डम प्रतिथान ६ सय र मार्बल चिप्स प्रतिकेजी १६ रुपैयाँ तोकिएको छ । उल्लेखित सबै निर्माण सामग्री मूल्य गत वर्षकै यतावत छ । तर इट्टाको मूल्य भने यसपाली बढाइएको छ । यसअघि ढुवानीसमेत जोडर प्रति हजार वटाको चौध हजार पाँचसय निर्धारण गरिएकोमा चालु आर्थिक वर्षमा १५ हजार कायम गरिएको छ ।  रंगरोगनतर्फ सिमेन्ट पेन्ट प्रतिकेजी ८५ रुपैयाँ, तयारी इनामेल पेन्ट प्रतिलिटर, ६ सय ६५, आल्युनियम पेन्ट प्रतिलिटर सात सय, उड प्राइमर प्रति लिटर चार सय ५०, चुना प्रतिकेजी ३० रुपैयाँ, चुनामा लगाउने गम प्रतिकेजी दुईसय रुपैयाँ निर्धारण गरिएको छ ।

श्रीखण्ड र रक्तचन्दनको मूल्य पनि तोकियो
मूल्य निर्धारण समितिले श्रीखण्ड र रक्तचन्दन लगायतका वन तथा भू–संरक्षण तर्फको पनि मूल्य तोकेको छ । जसअनुसार प्रतिकिलो श्रीखण्डको तीन हजार, रक्तचन्दनको दुई हजार, कपुरको दुई हजार पाँचसय, तेजपत्ताको एकहजार, लप्सीको तीनसय, टिमुरको तीन सय र बकाइनोको मूल्य तीनसय रुपैयाँ तोकिएको छ । त्यस्तै रुदाक्ष प्रतिगोटाको दुई सय र सर्पगन्धको पाँचसय रुपैयाँ तोकिएको छ । त्यस्तै विरुवाका लागि दाँते ओखर प्रति गोटाको २५ रुपैयाँ, उन्नत जातको चिली प्रतिगोटाको एकसय रुपैयाँ निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

तपाईको प्रतिक्रिया