काठमाडौं, २० साउन ।
नेपाली कांग्रेसले फागुनमा हुने १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणका काम सुरू गरेको छ । कोरोना कहरबीच कांग्रेसले वडा तहमा क्रियाशील सदस्यता फारम भराएको हो । आन्तरिक समायोजन गरिएका ६५ जिल्लाभित्रका वडा तहमा क्रियाशील सदस्यताका काम अगाडि बढिसकेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । संघीय संरचनाअनुसार आन्तरिक समायोजन नसकिएका जिल्ला कार्यसमितिले भने क्रियाशील सदस्यता फारम केन्द्रीय कार्यालयबाट पाएका छैनन् ।
क्रियाशील सदस्यता बाँड्ने काम वडा तहमा रहेको समितिले गर्ने भएकोले पहिले आन्तरिक समायोजन सक्न कांग्रेसको जिल्ला कार्यसमितिहरूलाई दबाब छ । ‘बाँकी रहेका जिल्लामा समायोजनका काम छिटै टुंगिन्छ,’ शर्माले भने, ‘समायोजन सकेका जिल्लामा क्रियाशील सदस्यताका काम अगाडि बढेको छ ।’
कांग्रेसले पुस ६ गतेदेखि तल्ला तहमा अधिवेशन गर्दैछ । अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन्छन् । क्रियाशील सदस्यको अन्तिम नामावली केन्द्रीय कार्यालयबाट तल्ला तहमा पठाएपछि मात्रै अधिवेशनका काम सुरू हुन्छन् । कांग्रेसमा हरेक महाधिवेशनका बेला क्रियाशील सदस्यता विवाद देखा पर्छ । २०७२ सालमा भएको १३ औं अधिवेशनका बेला पनि क्रियाशील सदस्यता विवाद थियो । त्यसबेला रोकिएको क्रियाशील सदस्यता विवाद सभापति शेरबहादुर देउवाको चार वर्षे नियमित कार्यकालमा समेत टुंगिएन ।
१३ औं महाधिवेशनमा कांग्रेसका चार लाख ७० हजार क्रियाशील सदस्य थिए । उपसभापति विजयकुमार गच्छदारबाट समायोजन भई आएकाहरूलाई २५ हजार क्रियाशील सदस्यता दिने सहमतिअनुसार क्रियाशील सदस्यता पाँच लाख पुगेको छ । यसपटक कम्तिमा दुई लाख क्रियाशील सदस्य थपेर क्रियाशील सदस्यता संख्या ७ लाख पु¥याउने कांग्रेसको तयारीअनुसार वडा तहमा अहिले फारम भर्ने काम भइरहेका हुन् ।
कांग्रेसले जिल्ला कार्यसमितिलाई गत फागुनमा पत्र पठाएर क्रियाशील सदस्यता साविकको संख्याको ५० प्रतिशतसम्म बढाउन सकिने निर्देशन दिएको थियो । कांग्रेसको वडा तहमा कम्तिमा ४२ जना क्रियाशील सदस्य हुनु पर्ने नियम छ । कांग्रेसले साधारण र क्रियाशील सदस्यता गरी दुई प्रकारका सदस्यता वितरण गर्छ । साधारण सदस्यता प्राप्त गरेको निश्चित समयपछि संगठनमा उसले पु¥याएको योगदान हेरेर क्रियाशील सदस्यता दिने गर्छ । वडा तहबाट दिइएको क्रियाशील सदस्यतामा विवाद भए छानबिनका लागि केन्द्रमा उजुरी गर्न सकिने व्यवस्थासमेत छ । क्रियाशील सदस्य मध्येबाट क्षेत्रीय प्रतिनिधि बनेकाहरू महाधिवेशन प्रतिनिधिका रूपमा महाधिवेशनका मतदाता हुन्छन् । उनीहरूले नै सभापतिदेखि केन्द्रीय समिति चुन्ने काम गर्छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिका रूपमा आउने चार हजार एक सय २५ प्रतिनिधि र साबिकका केन्द्रीय सदस्य तथा पदाधिकारी महाधिवेशनका मतदाता हुन्छन् । गत फागुनबाट क्रियाशील सदस्यता वितरण सुरू गर्ने तयारी गरेको कांग्रेसले कोरोनाका कारण पार्टीभित्रका सम्पूर्ण काम चार महिना रोकेको थियो । सभापति देउवाको नियमित कार्यकाल गत फागुनमै सकिएको हो। देउवाले विधानकै व्यवस्था अनुसार एक वर्ष कार्यकाल थपेर फागुन १९ सम्म म्याद बढाएका हुन् ।
युग संवाददाता । । २० श्रावण २०७७, मंगलवार ०९:०३