‘खेत बेचेको पैसाले लोकसेवाको तयारी गरे’

सुरेश सुनार
प्रमुख जिल्ला अधिकारी, डोल्पा

अभाव र दुःखलाई जित्नेहरुले नै जीवनमा सफलता प्राप्त गर्न सक्छन् । जीवन संघर्ष पनि हो । यस्तै दुःख र अभावमा नहार्ने अर्थात संघर्ष गर्ने एउटा व्यक्ति हुन् सुरेश सुनार । गरिबी, अभाव र समाजको अपहेलनाको सामु उनी कहिले पनि झुकेनन् । २०४५ साल असार २० गते बुवा केशव र स्व. जया सुनारको पहिलो सन्तानका रुपमा उनको जन्म भएको हो । भेरी नगरपालिका–४ शान्तिचौतारा स्थायी बासिन्दा सुरेश हाल डोल्पाको प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत छन् । प्रस्तु छ, उनको जीवन भोगाई र निजामति क्षेत्रका अनुभवमा केन्द्रित रहेर गरिएको कुराकानीको शारांश ।

पढाइमा अब्बल
सुरेश सानैदेखि पढाइमा अब्बल थिए । उनका बुवाले एसएलसीसम्म पढेका थिए । जसकाकारण सुरेशलाई पढाइमा ठूलो सहयोग मिल्यो । ‘मैले घरायसी समस्याले पढाइ पुरा गर्न पाइन, अब पढेर जागिर खाने सपना तँैले पुरा गर्नुपर्छ’ सुरेशलाई उनका बुवाले सधै यस्तै भन्थे । कक्षा १ देखि ८ सम्म प्रथम भए । उमेर बढ्दै जाँदा घरको आर्थिक अवस्था, बुवाआमाको दुःख र समाजले दलित समुदायप्रति गर्ने व्यवहार उनले राम्रोसँग नियाल्न थाले । ‘समाजको व्यवहार, गरिव हुनुको पीडा र बुवाआमाको दुःखले गर्दा पढेर केही गर्नुपर्छ भन्ने लाग्थ्यो’ सुरेश भन्छन् ।

उसो त सुरेश निजामित क्षेत्रमा दलित समुदायबाट औलामा गन्न सकिने व्यक्तिमा पर्छन् । दलित समुदायबाट नेपाल सरकारको सात जना उपसचिव मध्ये सुरेश एक हुन् । सानैदेखि पढाइमा अब्बल सुरेशले प्रारम्भी शिक्षा (कक्षा १ देखि ८ सम्म) त्रिभुवन निम्न माध्यमिक विद्यालय रिसाङ, ९ र १० त्रिभुवन माध्यमिक विद्यालय थाप्लेचौर, भेरी ज्ञानोदय क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह (११, १२), तत्कालिन वीरेन्द्रनगर बहुमखि क्याम्पस सुर्खेतबाट स्नातक र त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसबाट स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।

बुवाले खेत नै बेचिदिए
एसएलसीपछि सुरेशलाई उनका बुवाले इन्जिनियर (ओभरसियर) पढाउने सोच गरेका थिए । इन्जिनियर पढाउनका लागि आर्थिक अवस्थाले भ्याउँन्थेन । तर पनि इन्जिनियर पढाउनकै लागि उनका बुवाले २० मुरी धान फल्ने खेत बेचिसकेका थिए । खेत बेचेको थाहा पाएपछि सुरेशले बुवालाई कति दुःख दिनु भन्ने सोचे । ‘इन्जिनियर पढाउने बुवाको सपना थियो, तर इन्जिनियर पढ्न कि चितवन कि काठमाडौँमा जानु पथ्र्याै’ उनी भन्छन्, ‘ आम्दानीको स्रोत थिएन, खेत बेचेको पैसाले पढ्न पुग्थेन जसले गर्दा इन्जिनियर पढिन ।’

हुन पनि खेत बेचेको ९० हजार रुपैयाँ बाहेक आम्दानीको अन्य स्रोत थिएन । जसले गर्दा छोरालाई इन्जिनियर बढाउने बुवाको सपनालाई सुरेशले त्यागिदिए । बरु बुवाको दुःखलाई साथ दिन गाउँमै उच्च शिक्षा पढ्ने सोच बनाए । खेत बेचेको पैसा इन्टरको पढाइ र लोकसेवा आयोगको तयारीमा खर्चिए ।

अनि लोकसेवाको लत बस्यो
एसएलसीपछि सुरेश दिनभरी फुर्सदमा हुन्थे । क्याम्पसको पढाइ विहान हुन्थ्यो । क्याम्पसबाट फर्कदै गर्दा उनले बाटोमा कर्मचारीहरु अफिस गइरहेको भेट्थे । म पनि यस्तै कर्मचारी हुन पाए हुन्थ्यो, कहिलेकाँही मनमा यस्तै कुरा खेलाउँथे । कर्मचारी हुन के गुर्नपर्छ ? थाहा थिएन । एकदिन अग्रज साथीहरुले भने, ‘सुरेश अब तँ पनि लोकसेवा पढ् ।’ उनी छक्क परे ।

लोकसेवा पढेर के हुन्छ ? सुरेशले साथीहरुलाई प्रश्न गरे । साथीहरुले कर्मचारी बन्नका लागि लोकसेवा आयोग पास गर्नुपर्ने सुनाए । त्यसका लागि अध्ययन गर्नुपर्ने विषय बस्तुहरु बताए । त्यसपछि सुरुभयो लोकसेवाको बाटो । नेपालको भूगोल, इतिहास र सामान्यज्ञान उनका लागि धेरै अप्ठेरा थिएनन् । तर सामान्य ज्ञान जान्दैमा लोकसेवा पास हुने अवस्था पनि थिएन । समय वित्दै जाँदा सुरेशलाई लोकसेवा बाहेक अनेत्र ध्यान नै गएन । पढाइ छोडेर भए पनि आयोगको तयारीमा जुट्ने निधो गरे । सुरेश साथीसँगै लोकसेवाको तयारी गर्न सुर्खेत आए । ‘जाजरकोटबाट सुर्खेत आएपछि क्याम्पस जान सम्भव भएन’ उनी भन्छन्, ‘समय मिलाएर लोकसेवा र क्याम्पसको तयारी गर्थेँ, दुबैमा सफलता मिल्यो ।’

उमेर कम हुँदा तनाव
आयोगको तयारी गरिरहदा सुरेशलाई उमेर कम भएका कारण तनाव भयो । किनकी आयोगको प्रतिस्पर्धा गर्नका लागि १८ वर्ष पुग्नुपथ्र्याे । तर सुरेश १६ वर्षका मात्र थिए । संयोगबशः त्यही समयमा घरेलु उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतले उपसहायक (मुखिया) पदमा अस्थायी कर्मचारी माग्यो । जहाँ उमेर १६ वर्ष र शैक्षिक योग्यता दश कक्षा उत्तीर्ण थियो ।

सुरेशले यो मौका चुकाउन नहुने निधो गरे । नभन्दै सुरेशका सफल भएर रोल्पामा जागिर गर्न पुगे । त्यहाँ पुगेपछि पनि आयोगको तयारी गर्न छोडेनन् । ‘सँगैका साथीहरु भोली लोकसेवा पास गरेर हाकिम होलान्, म अस्थायी जागिरमै भुल्नु हुँदैन भन्ने सोच्थेँ’ सुरेशले सुनाउँछन्, ‘अस्थायी जागिर खाएपछि अझै पढ्ने जाँगर बढ्यो ।’

२०६५ सालमा लोकसेवा आयोगले पहिलो पटक समावेशी व्यवस्था सहितको कर्मचारी माग ग¥यो । हुन त नायव सुब्बामा एक जना मात्रै थियो । तर त्यही समावेशी विज्ञापन सुरेशका लागि अर्काे ठूलो अवसर बन्यो । लिखित र मौखिक दुबैमा सुरेशले नाम निकाले ।  अनि नावय सुब्बा (नासु बनेर आफ्नै जिल्ला (जाजरकोमा) जिल्ला विकास समितिमा पोष्टिङ भए । त्यसपछि सुरेशको जीवनले नयाँ मोड लियो । जिन्दगीको एउटा अध्याय पुरा गरे जस्तो लाग्यो । जागिर र पढाइलाई सँगसँगै अगाडि बढाए । २०६९ साल अधिकृतमा सफल भए । २०७५ साल असारमा सुरेश उपसचिव भए । जागिरको क्रममा रोल्पा, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, काठमाडौं, कैलालीमा पुगेका उनी हाल डोल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पुरा गरिरहेका छन् ।

अन्तरजातिय विवाह
२०६६ सालमा सुरेश जाजरकोटबाट सरुवा भएर सुर्खेत आए । पढाइ र जागिर सँगसँगै अगाडी बढाउन उनी सुर्खेत आएका थिए । त्यहीबेला उनको लागि अर्काे अवसर आयो । कोठा नजिकै भगवती बस्नेत (सुरेशकी श्रीमति) बस्थिन् । नजिकै भएका कारण दैनिक हुने देखभेट माया प्रेमका रुपमा बदलियो ।  त्यहीवर्ष सुरेशले भगवतीलाई जीवनसाथी बनाए । बिहे गरेको केही दिनसम्म लुकेर बसे । ‘१४ दिनजति लुकियो, तर अफिसको जागिर थियो । कति दिन लुक्नु’ सुरेश भन्छन्, ‘बिहे नगर्दै अफ्ठेरो आउनसक्छ भन्ने थाहा भएकै कारण नराम्रो महसुस भएन ।’

अनि मात्रै देशले कोल्टेफेर्छ…
झण्डै २० वर्ष मुलुक जनप्रतिनिधिबिहीन बन्यो । त्योबेला जनप्रतिनिधिको भूमिका कर्मचारीले पुरा गरे । ‘लामो अस्थिरतापछि मुलुकमा शासकीय स्वरुप बदलिएको छ । तर विकास निर्माणले गति लिएको छैन’ उनी भन्छन्, ‘अब जनता, राजनीतिक दल र कर्मचारी सुध्रिनुपर्छ, नत्र देशले कोल्टे फेर्दैन ।’ पुरानै प्रवृतिका चल्ने कर्मचारीतन्त्र, नागरिकमा जनचेतनाको र जनप्रतिनिधिमा अनुभवको कमी हुँदा विकास निर्माणले गति लिन नसकेको उनको बुझाइ छ । (२०७७ साउन १८ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया