अदालतले दोषी ठहर गरेका अपराधीहरु खोज्दै प्रहरी

सुर्खेत, १८ साउन ।
यही साउन ५ गते दैलेखको दुल्लु नगरपालिका–१० का विष्णुबहादुर थापा सुर्खेतको बाङ्गेसिमलबाट पक्राउ परे । उनलाई कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरेको थियो । थापालाई जिल्ला अदालत दैलेखले १० वर्ष कैद सजाय तोकेको थियो । तर उनी लामो समयदेखि प्रहरी र अदालतलाई छल्दै फरार थिए ।

साउन ७ गते दैलेखकै डुङ्गेश्वर गाउँपालिका वडा नम्बर ३ का टोपबहादुर खत्री वीरेन्द्रनगर १२ चनौटेबाट पक्राउ परे । जबर्जस्ती करणी मुद्दामा खत्रीलाई अदालतले तीन वर्षको कैद सजाय तोकेको थियो । उनी पनि अदालतको फैसलापछि फरार थिए । त्यस्तै साउन ८ गते मात्र वीरेन्द्रनगर १ का नवराज शर्मा पक्राउ परे । चेक अनादर मुद्दामा अदालतले शर्मालाई दुई वर्षको कैद सजाय तोकेको थियो । उनी पनि फरार थिए ।

तर घरमै लुकिछिपी बसेका शर्मालाई पनि प्रहरीले घरबाटै पक्राउ गरेको हो । माथि उल्लेखित घटना र पात्रहरु केवल केही प्रतिनिधिमुलक मात्र हुन् । पछिल्लो समय प्रहरीले अदालतबाट दोषी ठहर भएका तर फरार रहेकाहरुको खोजी अभियानलाई तीव्र बनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले अपराध अनुसन्धानमा सक्रियता बढाएपछि अभियुक्तहरु धमाधम पक्राउ पर्नेेक्रम बढेको हो । प्रहरीका अनुसार अदालतबाट सजाय तोकिएका तर लामो समयदेखि फरार रहेकाहरुको खोजी कार्यलाई तीव्रता दिइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गत बैशाखयता मात्र ८५ जनालाई पक्राउ गरिएको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय तोकिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाउन थालेको हो ।  कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता एसएसपी राजेशनाथ बास्तोलाका अनुसार बैशाखयता सुर्खेतमा पाँच जना, दैलखमा तीन जना, जाजरकोटमा एक जना, सल्यानमा ७४ जना र डोल्पामा दुई जना फरार अभियुक्तहरु पक्राउ परेका छन् । उनीहरुको कैद सजाय अवधि जोड्दा ६३ वर्ष ६ महिना २ दिन हुने प्रहरीको भनाइ छ ।

दुई हजार अपराधी फरार
कर्णाली प्रदेशमा झण्डै दुई हजार अपराधी लामो समयदेखि फरार रहेका छन् । प्रदेश प्रहरीको तथ्याङ्क अनुसार अदालतको आदेशपछि कर्णालीमा एक हजार नौंँ सय ६९ जना अपराधी फरार रहेका छन् । जसमध्ये सुर्खेतका सबैभन्दा बढी अर्थात एक हजार एकसय ५४ जना, दैलेखका एकसय एक, जाजरकोटमा ८३ र रुकुमपश्चिमा एकसय ४९ जना अपराधीहरु फरार छन् ।

त्यस्तै सल्यानमा दुई सय ९७, जुम्लामा २३ जना, हुम्लामा १३ जना, डोल्पाका ३० जना, मुगुका २९ जना र कालिकोटका ९० जना अपराधी फरार रहेका छन् । फरार अपराधीहरुलाई यसै वर्षमा कानुनी कठघरामा ल्याइने प्रहरीको भनाइ छ । यद्यपी देशभरको तुलनामा कर्णालीमा कम अपराधिक गतिविधि हुने क्षेत्र पर्दछ । कर्णालीमा सामाजिक अपराध, बलात्कार, आत्महत्या लगायतका घटनाहरु बढी हुने गरेको प्रहरीको अनुसन्धानले देखाउँछ ।

सल्यानमा चार दिनमा ५० जना पक्राउ
अपराध अनुसन्धानमा सल्यान प्रहरी सक्रिय देखिएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार बैशाखदेखि हालसम्म सल्यानमा मात्रै ७४ जना प्रक्राउ परेका छन् । पछिल्लो चार दिनको अवधिमा मात्रै सल्यानमा ५० जना अभियुक्त पक्राउ परेका हुन् । उनीहरु सबै अदालतबाट सजाय तोकिएका तर फरार रहेकाहरु हुन् ।

साउन १० गते सवारी ज्यान मुद्दामा तीन जना, करकाप, सम्बन्ध विच्छेद र विधिमुद्धामा एक÷एक जना गरी ६ जना, साउन ११ गते सवारी मुद्दामा दुई जना, सम्बन्धविच्छेद, करकाप मुद्दाका एक/एक जना र चेक अनधर मुद्दामा दुई जना गरी आठ जना पक्राउ परेका छन् । त्यस्तै साउन १२ गते सात जना पक्राउ परेका प्रहरीले जनाएको छ ।


बन्यजन्तु चोरी सिकारी मुद्दाका आठ जना, सम्बन्धविच्छेद मुद्दाका तीन जना, नाता प्रमाणित मुद्दाका एक जना, कर्तव्य मुद्दाका एक जना, सार्वजनिक अपरा मुद्दाका दुई जना गरी १७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साउन १४ गते सल्यानबाट कुटपिट मुद्दाका पाँच जना र सवारी ज्यान मुद्दाका एक जना गरी ६ जना पक्राउ परेका छन् ।

अपराधीको मुख्य अखडा बन्दै सहर
पछिल्लो पटक दैलेखका दुई जना अभियुक्त सुर्खेतबाट पक्राउ परे । उनीहरु वीरेन्द्रनगरमै लामो समय लुकिछिपी बसेका थिए । जिल्लामा हुँदा पक्राउ पर्ने डरले उनीहरु वीरेन्द्रनगरमा बस्दै आएको प्रहरीको भनाइ छ । गाउँमा अपराध गर्ने र सहरमा लुक्ने उनीहरुमात्रै होइनन्, पछिल्लो समय विभिन्न अपराधमा संलग्न भएकाहरुले सहरलाई नै सुरक्षित ठान्ने गरेको प्रहरीको निस्कर्ष छ ।

प्रहरीका अनुसार कर्णालीका दश जिल्लामध्ये सुर्खेत धेरै अपराध हुने जिल्लामा पर्दछ । तथ्याङ्क अनुसार हालसम्म सुर्खेतमा एक हजार एकसय ५४ जना अभियुक्तहरु फरार छन् । अदालतबाट दोषी ठहर भए पनि उनीहरुलाई पक्राउ गर्न सकिएको छैन । त्यस्तै दैलेखका एकसय एक, जाजरकोटका ८३, रुकुमपश्चिमा एकसय ४९ र सल्यानका दुईसय ९७ जना अपराधिहरु फरार छन् । सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुमपश्चिममा बढी अपराधिक गतिविधिहरु हुने प्रहरीको तथ्याङ्कले बताउँछ ।

त्यस्तै ठूला अपराधहरु पनि सहरमै बढी हुने गरेका छन् । बैशाखयता सुर्खेतमा पक्राउ परेका पाँच जना अभियुक्तलाई अदालतले २० वर्ष दुई महिना १५ दिन र दैलेखका तीन जनाको २० वर्ष ३ महिना १५ दिन सजाय तोकिएको छ । यसले सहरमा ठूला अपराधहरु हुने गरेको प्रमाणित गर्दछ । त्यस्तै डोल्पाका दुई जनाको १६ वर्ष १० महिना, जाजरकोटका एक जनाको आठ हजार जरिवाना, सल्यानमा ७४ जनाको ६ बर्ष दुई महिना तीन दिन कैद र ९७ हजार ६ सय ७४ रुपैयाँ जरिवारना तोकिएको प्रवत्ता बास्तोलाले जानकारी दिए ।

प्रविधिको अभावले अनुसन्धानमा समस्या
अपराध अनुसन्धानका लागि आधुनिक प्रविधिको प्रयोग सबैभन्दा सहज र उत्तम विकल्प हो । तर कर्णाली प्रदेश प्रहरीसँग भने आधुनिकहरु प्रविधिहरु पर्याप्त छैनन् । सरकारले सबै प्रदेशमा फरेन्सी ल्याव (अनुसन्धान प्रयोगशाला) स्थापना गर्ने नीति लिएको छ । तर अपराधिको बैज्ञानिक परीक्षण गर्नु परेको खण्डमा प्रदेशले काठमाडौंको प्रयोगशालामा पठाउनुपर्ने बाध्यता छ ।

यतिसम्म कि भौतिक संरचना अभावका कारण कर्णाली प्रदेशले आफ्नो मातहतमा रहेका प्रहरी जनशक्ति नै प्रयोग गर्न सकेको छैन । अनुसन्धानमा सघाउन कर्णाली प्रदेशका लागि तालिम प्राप्त कुकुरहरु नेपालगञ्जमा छन् । तत्कालन अनुसन्धान गर्नु परेको खण्डमा कर्णालीले नेपालगञ्जको भर पर्नुपर्ने बाध्यता छन् ।

‘कर्णालीमा तालिम प्राप्त कुखुर झिकाएर अनुसन्धान गर्नुपर्ने घटनाहरु छैनन्, तर प्रदेशमै भएको खण्डमा सहज हुन्थ्यो’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता एसएसपी राजेशनाथ बास्तोला भन्छन्, ‘ भौतिक संरचना अभाव कारण दंगा प्रहरी गण, प्रहरी तालिम केन्द्रसँगै तालिम प्राप्त कुकुर पनि नेपालगञ्जमै राख्नुपर्ने बाध्यता छ ।’

आरोपी घटनामा संलग्न हो वा होइन भनेर सामान्य चेकजाँच गर्न सकिने फिङ्गर प्रिन्टसमेत जिल्लाका प्रहरीसँग छैन । यद्यपी अपराध अनुसन्धानका लागि आवश्यक पर्ने सबै प्रविधिहरु कर्णाली प्रदेशमा प्रयो गर्न सकिने प्रहरीको दाबी छ । तर अपराध अनुसन्धानका लागि उच्च प्रविधियुक्त स्रोत साधान र जनशक्ति अभाव रहेको प्रहरीको स्वकारोक्ती छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार