जाजरकोटमा ३० किलोमिटरको भाडा १२ सय !

जाजरकोट, १८ साउन ।
जाजरकोट–डोल्पा सडकको खलंगा कालीमाठी खण्डमा निजी तथा व्यवसायी समितिका यातायातका साधनले मनोमानी भाडा असुल्दा यात्रु मर्कामा परेका छन् । जिप, बस लगायत साधनले कालीमाठीदेखि खलंगासम्म प्रतियात्रु एक हजार दुईसय भाडा लिँदै आएका छन् । यातायातका साधनले टिकट नकाटेरै मनलाग्दी भाडा लिएर यात्रुलाई मारमा पारेको बारेकोट ८ का कल्से कुमाईले बताए ।

‘करिब ३० किलोमिटर दुरीको सडकमा एक हजार दुईसय, त्यो भन्दा अरु अन्याय के होला,’ उनले भने । ‘गत वैशाखसम्म उक्त खण्डमा प्रतियात्रु दुईसय लाग्थ्यो । अहिले यस्तो महँगो भयो,’ उनले कुमाइले भने । उनका अनुसार एक वर्ष अघिसम्म उक्त खण्डमा दुईसय रुपैयाँ भाडा कायम थियो ।

व्यवसायीले कोराना संक्रमणको वास्तै नगरेर गाडीमा कोचाकोच यात्रु राख्ने गरेको स्थानीय कमल केसीले बताए । ‘भेडाबाख्रा हुलेझैं यात्रु राख्छन्, भाडा पनि अचाक्ली महँगो भयो,’ उनले भने, ‘प्रहरी प्रशासनको बेवास्ताले व्यवसायीको मनपरी छ ।’ लकडाउनका कारण आर्थिक मार खेप्दै आएका स्थानीयलाई मनलाग्दी गाडी भाडाले मर्का परेको उनको भनाइ छ ।

अन्य सडकमा पनि निर्धारित भाडादरलाई बेवास्ता गर्दै व्यवसायीले मनपरी भाडा असुलेको स्थानीयको गुनासो छ । ग्रामीण सडकमा प्रतिकिलोमिटरको ४० रुपैयाँसम्म भाडा तिर्नुपर्ने बाध्यता रहेको नलगाड– ६ की कौशिला घर्तीले बताइन् । उनका अनुसार जाजरकोटदेखि नेपालगन्जसम्मको भाडा पनि मनोमानी छ । कोराना संक्रमणअघि ६ सय रुपैयाँ भाडा लिने व्यवसायीले अहिले एक हजार पाँचसय रुपैयाँसम्म असुलीरहेको उनको गुनासो छ ।

कोराना, बाढी– पहिरोलगायतका जोखिमका कारण नियमित दरभन्दा बढी भाडा लिने गरेको व्यवसायी भीमबहादुर बुढाले बताए । उनका अनुसार चिरा परेका सडक र खोलामा जवरजस्ती गाडी गुडाउनुपर्ने बाध्यता छ ।  गाडी सञ् चालकले स्थानीय प्रशासनको अनुमतिबिना यातायातका साधन चलाएर यात्रु ठग्ने गरेका छन् । त्यस्तै यातायात व्यवसायीले जाजरकोटदेखि नेपालगन्जसम्मको भाडा पनि मनोमानी असुल्ने गरेका छन् ।

कोराना संक्रमणअघि ६ सय भाडा लिने व्यवसायीले यतिबेला एक हजार पाँचसय लिने गरेका छन् । तर सम्बन्धित निकायको त्यसतर्फ ध्यान पुग्न सकेको छैन । यसरी यात्रुबाट चर्को भाडा असुल्दा समेत नियमन निकाय मौन देखिएको छ । व्यवसायीले जिल्ला प्रशासन र यातायात व्यवसायीको अनुमतिबिना गाडी चलाएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । मनपरी भाडा असुल्ने तथा यात्रुका लागि कोरानाबाट असुरक्षा हुने भएकोले गाडी संचालनमा रोक लगाउनु पर्ने अवस्था आएको प्रजिअ पन्तको भनाइ छ ।

विभिन्न सडकमा व्यवसायीले चर्को भाडा असुलेको जनगुनासोबारे प्रशासनले निगरानी गर्न सुरु गरेको उनले बताए । चर्को भाडा असुल्ने व्यवसायीलाई कानुनी दायरामा ल्याई तत्काल कारबाही गरिने प्रजिअ पन्तले बताए । उनले यस सम्बन्धमा तत्काल अनुगमन गरिने पनि बताए ।

पहिरोले ग्रामीण सडक अवरुद्ध
बाढी–पहिरोको कारण गत असारदेखि यहाँका दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएका छन् । ग्रामीण सडकमा यातायात अवरुद्ध हुँदा स्थानीयलाई जिल्लाभित्र र बाहिर आउजाउ गर्न समस्या भएको छ ।

खलंगा–पैंक–छेडा, मनघाट–सुयाडा, खलंगा–थलह, थलहबजार– छेडाबजार, थहलबजार–टापुचौर, कालीमाटी– बारेकोट, खलंगा–पाँचकाटीया, खलंगा–कार्कीगाउलगायत सडकमा यातायात अवरुद्ध भएका हुन् । यातायात सेवा अवरुद्ध भएपछि स्थानीयबासी २/३ दिन पैदल हिँडेर खलंगा आउन बाध्य भएको बारेकोट– ४ का गणेशबहादुर सिंहले बताए ।

तपाईको प्रतिक्रिया