कोरोना रोकथाममा छुट्याइएको सात करोड बजेट नै फ्रिज

सुर्खेत, १७ साउन ।
कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विनियोजन गरिएको बजेट नै फ्रिज भएको छ । अर्थात प्रदेश सरकारले कोरोना महामारीविरुद्ध जुध्नका लागि छुट्याएको बजेट मध्ये सात करोड रुपैयाँ खर्च हुन नसकेको हो । खर्च नभएपछि उक्त बजेट फ्रिज भएको हो ।

कर्णालीमा केन्द्र र प्रदेश सरकारले कोरोनाविरुद्ध जुध्नका लागि जम्मा ३० करोड ५९ लाख १५ हजार रुपैयाँ छुट्याइएको थियो । जसमध्ये सात करोड ३६ लाख चारसय ५० रुपैयाँ फ्रिज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना प्रतिकार्यको ७७ प्रतिशत अर्थात २३ करोड ५५ लाख ५४ हजार पाँचसय ५० रुपैयाँ मात्रै कार्यान्वयन भएको छ ।

कोरोनाको त्रासपछि कर्णाली प्रदेश सरकारले १० करोड चारलाख १५ हजार रुपैयाँ विकास बजेट कटौती गरेर प्रतिकार्यका लागि रकमान्तर गरेको थियो । त्यस्तै राहत कोषबाट थप दुई करोड ५० लाख रुपैयाँ कोरोना विशेष अस्पतालाई उपलब्ध गराएको थियो । जसमा प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एक÷एक करोड र रुकुमपश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

त्यस्तै कोरोना प्रतिकार्यकै लागि अर्थ बजेटबाट थप १६ करोड ५० लाख रुपैयाँ र संघीय सरकारले प्रदेश अस्पताल सुर्खेत र स्वास्थ्य कार्यालय दैलेखलाई एक/एक करोड रुपैयाँ कोरोना प्रतिकार्यका लागि उपलब्ध गराएको थियो ।  बजेट खर्च हुन नसकेको फ्रिज हुन प्रदेश सरकारको कमजोरी भएको सरोकारवालाहरुको भनाइ छ । जिल्ला तहमा नागरिकले प्रभावकारी स्वास्थ्य सुविधा नपाएको, अस्पतालहरुमा आवश्यक उपकरण नभएको, औषधिको उपलब्धता नभएको र अधिकांश क्वारेन्टाइन र आइसोलेसनमा न्युनतम सुविधा पनि नदिएको प्रदेश सरकारले बजेट खर्च गर्न नसकेर खेचाँची गरेको उनीहरुको भनाइ छ ।

‘लकडाउनले गर्दा बजेट कार्यान्वयन हुन सकेन’
कोरोना रोकथामका लागि विनियोजन गरिएको बजेट लकडाउनका कारण कार्यान्वयनमा बाधा परेको सम्बन्धित अस्पताल तथा स्वास्थ्य कार्यालयहरुले बताएका छन् । सबैभन्दा बढी बजेट फ्रिज भएको प्रदेश अस्पतालले लकडाउनकै कारण बजेट कार्यान्वयन गर्न कठिनाइ भएको बताएको छ ।

अस्पतालले पीसीआर मेसिन र विभिन्न किट तथा बेडहरु खरिद गरेको तर लकडाउनका कारण पुरै बजेट कार्यान्वयन गर्न नसकेको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बताए ।  त्यस्तै डोल्पा अस्पतालले पनि भेन्टिलेर र आइसीयूका सामान आपूर्तिका लागि गरेको टेन्डरसमेत रद्द गर्नु परेको बताएको छ । ‘समयमै बजेट आएको भए, उपकरणहरु खरिद गर्न सकिन्थ्यो’ डाक्टर सिजन रावलले भने, ‘लकडाउन कढाइ भएपछि मात्रै बजेट आयो, जसले गर्दा सामान खरिदका लागि गरेको टेन्डरसमेत गद्द गरौँ ।’


प्रदेशले डोल्पामा जेठमा मात्रै बजेट पठाएको थियो । बजेट ढिलो आउँदा सामान खरिद गर्न नसकेको अस्पतालले जनाएको छ । यद्यपी कोरोना भाइरको त्रासपछि कर्णालीका सबै अस्पतालमा कुनै न कुनै उपकरणहरु थप भएका छन् । सात वटा जिल्ला अस्पतालमध्ये हुम्लामामा दुइ बेडको आइसीयु कक्ष, मुगुमा एउटा पोर्टेबल भेन्टिलेटर, दैलेखमा दुइ वटा भेन्टिलेर र पाँच बेडको आइसीयू कक्ष निर्माण गरिएको छ । त्यस्तै कालिकोटमा पाँच बेड आइसीयसहितको अस्पताल सञ्चालनकाको चरणमा छ ।

कुन अस्पतालको कति रकम फ्रिज ?
सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना विशेष अस्पतालका रुपमा रहेको प्रदेश अस्पताल सुर्खेतको सबैभन्दा धेरै अर्थात तीन करोड ४३ लाख एकहजार ६ सय ९५ रुपैयाँ फ्रिज भएको छ । प्रदेश अस्पताललाई संघीय सरकारले एक करोड र प्रदेश सरकारले चालु र पूजिँगततर्फ नौं करोड ७५ लाख १५ हजार रुपैयाँ कोरोना प्रतिकार्यका लागि उपलब्ध गराएका थिए । जसमध्ये अस्पतालले ६२ प्रतिशत अर्थात ६ करोड ६२ लाख ८३ हजार तीनसय पाँच रुपैयाँ मात्रै खर्च गरेको छ ।

प्रदेश अस्पताल कर्णाली प्रदेश सरकार मातहतको सबैभन्दा ठूलो अस्पताल समेत हो । तर प्रदेशका अन्य दुई वटा कोरोना विशेष अस्पतालले भने शतप्रतिशत बजेट खर्च गरेका छन् । कोरोना अस्पतालका रुपमा तोकिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुमपश्चिमले शतप्रतिशत बजेट खर्च गरेका हुन् । प्रदेश सरकारले प्रतिष्ठानलाई तीन करोड २५ लाख र चौरजहारीका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । जसमध्ये प्रतिष्ठानले ९७ प्रतिशत र चौरजहारीले ९९ प्रतिशत खर्च गरेको छन् ।

स्वास्थ्य सेवा निर्देशनालयको एक करोड ७९ लाखमध्ये ५३ प्रतिशत अर्थात ९६ लाख ४८ हजार एकसय रुपैयाँ मात्रै कार्यान्वयन भएको छ । बाँकी ८२ लाख ५१ हजार नौँ सय रुपैयाँ फ्रिज भएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयको ३५ लाख ५० हजार रुपैयाँमध्ये २७ लाख १५ हजार पाँचसय रुपैयाँ कार्यान्वयनमा आउँदा आठ लाख ३५ हजार रुपैयाँ फ्रिज भएको छ ।

दैलेखमा सबैभन्दा धेरै बजेट खर्च
कर्णाली प्रदेशका दश वटा जनस्वास्थ्य कार्यालय (जिल्ला अस्पताल) मध्ये दैलेखमा कोरोना प्रतिकार्यको ९४ प्रतिशत बजेट कार्यान्वयन भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित भएको दैलेखमा संघ र प्रदेशबाट एक करोड ८९ लाख ५० हजार प्राप्त भएको थियो । जसमध्ये ९४ प्रतिशत अर्थात एक करोड ७९ लखा सात हजार सातसय ५० रुपैयाँ खर्च भएको छ ।
बाँकी दश लाख ४२ हजार दुईसय ५० रुपैयाँ फ्रिज भएको छ । यस्तै जनस्वास्थ्य कार्यालय सुर्खेतको एक करोड २६ लाखमध्ये ४६ लाख ९९ हजार आठसय फ्रिज भएको छ । सल्यानको एक करोड ३३ लाखमध्ये १७ लाख ४२ हजार तीन सय, रुकुमपश्चिमको एक करोड आठ लाखमध्ये ११ लखा १७ हजार, जाजरकोटको एक करोड ९६ लाखमध्ये २३ लखा ७१ हजार ६ सय रुपैयाँ फ्रिज भएको छ ।
कालिकोटको एक करोड ३७ लाखमध्ये ११ लाख ५० हजार आठ सय जुम्लाको ४३ लाखमध्ये ६ लाख ५३ हजार ६, हुम्लाको ७१ लाखमध्ये १४ लाख ८१ हजार र मुगुको ८७ लाखमध्ये १२ लाख ९६ हजार तीन सय रुपैयाँ फ्रिज भएको छ । त्यस्तै डोल्पामा ५५ लाखमध्ये १० लाख २३ हजार, मेहलकुना अस्पतालको ९५ लाखमध्ये १३ लाख १५ हजार र प्रदेश आयुर्वेद औषधधालयको ७२ लाखमध्ये ६० लाख ४८ हजार रुपैयाँ फ्रिज गएको सामाजिक विकास मन्त्रालयका तथ्याङ्क अधिकृत विनोद आचार्यले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार