२० लाख लिएर ठेकेदारका भाई सम्पर्कविहीन

मुगु, १७ साउन ।
मुगुम कार्मारोङ गाउँपालिका –२ मुगुम गाउँमा पर्ने कोइकी पर्दमार्ग निर्माणको जिम्मा लिएका ठेकेदार उर्गिन तामाङका भाई २० लाख रुपैयाँ लिएर बेपत्ता भएका छन् । २८ वर्षीय टासी तामाङले ४ दिन अगाडि राष्ट्रिय बाणिज्य बैंक पुलु शाखाबाट २० लाख रकम भुक्तानी लिएका थिए । उक्त रकम बोकेर कोइकी पर्दमार्गमा संलग्न मजदुरलाई रकम बुझाउन पुलुबाट एक दिन टाढा रहेको आफ्नो घर मुगुम गाउँतर्फ गएका थिए । तर उनी सम्र्पकबिहीन भएको आफन्तले बताएका छन् ।

कोईकी पर्दमार्ग निर्माणको जिम्मा टासीका दाजु उर्गिन तामाङले लिएका छन् । निर्माणमा संलग्न मजदुरलाई वितरण गर्ने रकम टासीले राष्ट्रिय बाणिज्य बैंक पुलु शाखाबाट भुक्तानी लिइ गाउँतिर एक्लै गएका थिए । मुगुम कार्मारोङ गाउँपालिका–२ को चाल्ने खोलासम्म टासी एक्लै हिँडदै गरेको देखेको चाल्ने खोला आसपासमा काम गर्ने स्थानीयले बताएका छन् । चाल्ने खोलाबाट तामाङको घर तीन घण्टा टाढा पर्छ ।

ठूलो रकमसहित वेपत्ता भएका उनीबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद शाहले बताए । प्रहरी नायव उपरीक्षक शाहका अनुसार ठूलो रकमसहित चार दिनदेखि तामाङ वेपत्ता भएको भन्ने जानकारी आएपछि सीमा प्रहरी चौकी मुगुबाट प्रहरी नायब निरीक्षक र पुलु प्रहरी चौकिबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोलीले खोजी गरिरहेको छ ।

साउन १३ गते पुलुबाट हिँडेका तामाङ चिताई कुनामा बास बसेको जानकारीमा आएको छ । तामाङ बास बसेको स्थानमा अन्य व्यक्तिहरुबीच झगडा हुँदा तामाङले दुबै पक्षलाई छुट्टाएको जानकारीमा आएको प्रहरी बताएको छ । मुगुम कार्मारोङ गाउँपालिका–२ का अध्यक्ष कार्मा तामाङले दिएको जानकारी अनुसार टासीले पदमार्गमा संलग्न कामदारलाई बझाउने रकम बैंकबाट भुक्तानी लिएर गाउँतर्फ गएको र हालसम्म घर नपुगेको भन्ने जानकारी आएको छ ।

तपाईको प्रतिक्रिया