‘हिमाली हिरा’ अर्थात यार्सागुम्बा । अझभनौ, हिमाली भेगका नागरिकको बाँच्ने मुख्य आधार । कर्णाली प्रदेशका नागरिकको आम्दानीको स्रोत । विशेषगरी माथिल्लो डोल्पावासीको जीवन चलाउने आधार नै यार्सागुम्बा हो । तर यस वर्ष भने यार्सागुम्बा पाटनमै कुहिएको छ । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसबाट यार्सागुम्बा संकलन कार्य पनि अछुतो रहेन । महंगो मूल्यमा विदेशी बजारहरुमा विक्ने यार्सागुम्बा पाटनमै कुहिएको छ । यार्सागुम्बा संकलन गरेर जिवन निर्वाह गर्ने स्थानीयका सपना यो वर्ष सपनामै सिमित बने । कर्णालीका हिमाली जिल्ला डोल्पा र मुगुमा यार्सा धेरै पाइन्छ । डोल्पा, मुगु, जाजरकोट, जुम्ला, हुम्ला र रुकुमका नागरिकले बर्सेनी यार्सा संकलन गरेर लाखौ आम्दानी गर्दै आएका थिए ।
त्यही आम्दानीबाट उनीहरुको छाक टाथ्र्यो । यार्सा संकलनका लागि अघिल्ला वर्षमा स्थानीयहरु बन्दोवस्तीसहित दुई महिनासम्म पाटनमै हुन्थे । घरमा ताला लगाएर अभिभावकहरु पाटन जान्थे । भने विद्यार्थी र शिक्षक पनि स्कुल बन्द गरेर यार्सा संकलनमा पुग्थे । यसपाली यार्सा संकलन खुला भएन । कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै संकलनमा रोक लगाएपछि स्थानीयलाइ छाक टार्ने पीरलो बढेको छ । उनीहरुको रोजीरोटी गुमेको छ । राज्यलाइ पनि आर्थिक रुपमा घाटा पुगेको छ । किनकी यार्सा संकलक र यार्सा व्यापारीबाट सरकारले बर्सेनी करोडौं राजश्व संकलन गर्दै आएको थियो । यार्सा ब्यापारी र ठेकेदारले निकासी कर छुटै बुझाउँथे । भने यार्सा संकलन गर्न गएका सर्वसाधारणले पनि शुल्क तिर्नुपथ्र्यो । यार्सागुम्बाबाट डोल्पाले यसबर्ष करिब पाँच करोड राजश्व गुमाएको छ । संकलनपछि छुटपुर्जी दिने डिभिजन वन कार्यालयले एक करोडभन्दा धेरै राजश्व गुमाएको छ । संकलनका लागि प्रवेश अनुमति दिने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले तीन करोड भन्दा धेरै राजश्व गुमाएको छ । यसरी हेर्दा राज्यले पनि आर्थिक रुपमा ठूलो घाटा बेहोरेको हो । राज्यले बेहोरेको घाटा राज्यले कुनै न कुनै रुपमा पूर्तिगर्ला ।
तर त्योभन्दा ठूलो चिन्ता अब स्थानीय नागरिकको छ । किनकी यार्सागुम्बा संकलन गरेर जीवन निर्वाह गर्ने स्थानीय नागरिकलाइ सबै थोक गुमेजस्तो लागेको छ । यार्सागुम्बा संकलन गर्न नपाएकै कारण स्थानीयले आर्थिक र भोकमरीको संकट बेहोर्नुपर्ने पक्कापक्की छ । तसर्थ हिमालमा पनि अब सरकार पुग्नु आवश्यक छ । कोरोना विपत्तिले निम्त्याएको यो संकटलाई टार्न सरकारले राहतका कार्यक्रमहरु ल्याउन आवश्यक छ । अती विपन्न नागरिकलाइ आर्थिक सहायता उपलब्ध गराउ । भोकमरी हुन नदिन अहिले नै खाद्यान्न भण्डारण गर । जीविकोपार्जनमा सहजताका लागि भए पनि हिमाली जिल्लाका नागरिकलाइ रोजगारमूलक कार्यक्रमबाट विशेष प्राथमिकता देऊ ।
रोजगारी बृद्धिका लागि विकास निर्माणका कार्यक्रमहरु हिमाली जिल्ला केन्द्रित गर । यार्सागुम्बा साटेर जीवन चलाउने क्षेत्रका नागरिकको हकमा भोकमरी, आर्थिक बृद्धि र विकास निर्माणलाइ सँगसँगै अघि बढाउ । समग्रमा पाटनमै यार्सागुम्बा विलाएजस्तै गरी नागरिकका बाँकी गरी खाने विकल्पका सपनाहरु विलाउन नदेऊ ।
(२०७७ असार २५ गते बिहीबार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित)
युग संवाददाता । । २५ असार २०७७, बिहीबार १०:३३