सुर्खेत, २५ असार ।
सुर्खेत क्याम्पस शिक्षाको क्याम्पस प्रमुखमा माधव प्रसाद खनाल नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले चार बर्षका लागि क्याम्पस प्रमुखमा खनाललाई नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयको सबैभन्दा पुरानो र ठुलो मध्येको आगिंक क्याम्पसको रुपमा रहेको सुर्खेत क्याम्पस शिक्षाले नयाँ नेतृत्व पाएको हो ।
२०५५ सालमा शिक्षण सहायक करारबाट सेवा सुरु गरेका नव नियुक्त क्याम्पस प्रमुख खनाल ०६१ सालदेखि त्रिविको उपप्राध्यापक रहेका छन् । प्रजातान्त्रिक प्राध्यापकहरुको बाहुल्यता रहेको सुर्खेत क्याम्पस शिक्षाको नेतृत्व गर्ने जिम्मेवारी पाउने बामपन्थी प्राध्यापक मध्ये खनाल तेस्रो हुन । यस अघि वामपन्थी आस्थाका महेन्द्र प्रसाद गिरी र बालाराम खड्काले क्याम्पस प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए ।
दुल्लु नगरपालिका–७ हाल वीरेन्द्रनगर–३ निवासी खनालले कर्णाली प्रदेशको मुख्य आक्रर्षणको रुपमा रहेको सुर्खेत क्याम्पस शिक्षाको शैक्षिक गुणस्तर, विद्यार्थीको आक्रर्षण बढाउने प्रतिवद्धता जनाएका छन् । उनले भने ‘त्रिविको प्रत्यक्ष सहयोगमा सञ्चालित कर्णालीको सबैभन्दा पुरानो र ठुलो क्याम्पस यही हो । यसमा विद्यार्थीहरुको आक्रर्षण बढाउन आवश्यक छ । काठमाडौंकै शिक्षा सुर्खेतमा अध्ययन गर्न पाउनु कर्णालीका विद्यार्थीका लागि सुनौलो अवसर पनि हो ।’
त्रिभुवन विश्वविद्यालयको ऐन, नियम, कानून अनुसार चल्ने भएकाले यस क्याम्पसले कर्णालीबासीलाई नै फाइदा हुने उनले बताए । त्रिभुवन विश्वविद्यालयको कार्यक्रम प्रदेशमै दुई वटा मात्रै आंगिक क्याम्पस रहेका छन् । जुम्लाको जुम्ला बहुमुखी क्याम्पस र सुर्खेत क्याम्पस (शिक्षा) हुन ।
सरकारी साधन स्रोत आउने भएकाले यहाँका विद्यार्थीहरुले सर्वसुलभ रुपमा शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको नव नियुक्त क्याम्पस प्रमुख खनालले बताए । ‘यहाँको शिक्षा सवल बनाउने, सक्षम बनाउने, शैक्षिक गुणस्तरबृद्धि गर्ने लक्ष्य राखिएको छ’ उनको भनाई थियो । सुर्खेत क्याम्पस शिक्षामा स्नातक तहमा आइसीटी, विज्ञान, कम्प्यूटर गरी १० वटा विषय र स्नातकोत्तर तहमा ७ वटा विषयको छुट्टा छुट्टै कार्यक्रम सञ्चालन भैरहेको छ भने खुल्ला तथा दुरसिकाई कार्यक्रम स्नातकोत्तर तहमा सञ्चालित रहेको छ ।
युग संवाददाता । । २५ असार २०७७, बिहीबार ०८:१३