कर्णालीमा थपिए २० जना कोरोना संक्रमित

सुर्खेत, २४ असार ।

कर्णाली प्रदेशमा बुधवार थप २० जनामा कोरोना संक्रमण देखा परेको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल, पशुपंक्षी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जना संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश अस्पताल, पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १३ जना, दैलेखका २ जना, गुगुका २ जना गरी १७ जना र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ३ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तगर्तको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या १५ सय ५० पुगेको छ ।

त्यस्तै, कर्णालीमा १६ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको डा. तिवारीले बताए । रुकुमपश्चिमको चौरजहारी अस्पतालबाट २ जना, सल्यान अस्पतालबाट ५ जना, सुर्खेतको सालकोट आइसोलेसनबाट १ जना र चौकुने गाउँपालिकाको आइसोलेसनबाट ८ जना कोरोना संक्रमणमुक्त भई घरफर्किएका छन् ।

हालसम्म कर्णालीमा कोरोनामुक्त हुनेको संख्या १२ सय ९१ पुगेको छ भने संक्रमित २ सय ५३ जनाको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया