संकलनका लागि खुला नहुँदा पाटनमै खेर गयो यार्सागुम्बा

गुम्यो राजश्व, खोसियो आम्दानी, भोकमरीको चिन्ता

सुर्खेत, २४ असार ।

कर्णालीमा पाइने यार्सागुम्बा (हिमाली हिरा) यसपालीमा पाटनमै खेर गएको छ । यहाँका हिमाली जिल्लामा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन हुन नसकेपछि पाटनमै बिलाएको हो । कोरोना महामारीका कारण संकलनमा प्रतिबन्ध लगाइएका कारण यो वर्ष स्थानीयले यार्सा संकलन गर्न पाएनन् । यो जडिबुटी बैशाख तेस्रो सातादेखि असार तेस्रो सातासम्म हिमाली जिल्लाका उच्च पाटनहरुमा पाइन्छ ।

तर यसपाली असार तेस्रो साता बितिसक्दा पनि यार्सा संकलन खुला नगरिएपछि यार्सा पाटनमै खेर गएको हो । हिमाली जिल्ला डोल्पा र मुगुमा यार्सा धेरै पाइन्छ । बर्सेनी यार्सा संकलन गरेर डोल्पा, मुगु, जाजरकोट, जुम्ला, हुम्ला र रुकुमका नागरिकले धेरै आम्दानी गर्दै आएका थिए । त्यही आम्दानबाट उनीहरुको छाक टर्ने गरेको थियो । तर यसपाली यार्सा संकलन खुला नहुँदा उनीहरुलाई छाक टार्ने पीरलो बढेको हो । महँगो मुल्यमा बिक्री हुने र जमिनमुनिबाट निकालिने भएकाले यो जडिबुटीलाई स्थानीयले हिमाली हिरा पनि भन्ने गर्दछन् ।

यार्सा संकलनका लागि अघिल्ला वर्षमा स्थानीयहरु बन्दोवस्तीसहित दुई महिनासम्म पाटनमै हुन्थे । घरमा ताला लगाएर अभिभावकहरु पाटन जान्थे भने विद्यार्थी र शिक्षक पनि स्कुल बन्द गरेर यार्सा संकलनमा पुग्थे । यसपाली संकलन खुला नगर्दा बहुमुल्य यार्सा पाटनमै बिलाएको र आफूहरुको रोजीरोटी नै गुमेको स्थानीयको पीडा छ । स्थानीयको रोजीरोटी नै गुम्ने अवस्था आएपछि प्रदेश सरकारले गत जेठ २५ गतेदेखि यार्सा संकलन खुला गर्न केन्द्र सरकारलाई सिफारिस गरेको थियो । यार्सा पाइने जिल्लामा कोरोनाको संक्रमण नभएको र जोखिम कम भएको निस्कर्षसहित प्रदेश सरकारले यार्सा संकलन खुला गर्ने निर्णय गरेको थियो ।

राज्यले गुमायो करोडौं राजस्व

यार्सा संकलन हुन नसकेपछि करोडौं राजश्व गुमेको छ । यार्सा संकलक र यार्सा व्यापारीबाट सरकारले राजश्व संकलन गर्दै आएको थियो । तर यसपाली यार्सा संकलन नै नभएपछि सरकारलाई उक्त राजश्व प्राप्त हुन नसकेको हो । यार्सा ब्यापारी र ठेकेदारले सरकारलाई निकासी कर छुटै बुझाउँथे भने यार्सा संकलन गर्न गएका सर्वसाधारणले पनि शुल्क तिर्नु पथ्र्यो । यार्सागुम्बाबाट डोल्पाले यसबर्ष करिब पाँच करोड राजस्व गुमाएको छ । संकलनपछि छुटपुर्जी दिने डिभिजन बन कार्यालयले एककरोड भन्दा धेरै राजश्व गुमाएको छ ।

यस्तै संकलनका लागि प्रवेश अनुमति दिने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले तीन करोड भन्दा धेरै राजश्व गुमेको जनाएको छ । अघिल्लो बर्ष यो निकुञ्जले प्रवेश अनुमतिबाट तीन करोडभन्दा माथिको राजश्व संकलन गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए । जिल्ला बाहिरकालाई प्रवेश शुल्क तीन हजार, जिल्ला भित्रकालाई दुई हजार र निकुञ्जको कोर क्षेत्र र मध्यवर्ति क्षेत्रका बासिन्दालाई भने पाँचसय शुल्क लिएर यार्सागुम्बा संकलनका लागि प्रवेश अनुमति दिने गरिएको थियो ।

यस्तै अघिल्लो बर्ष यार्सा संकलकबाट मुगुको मुगुमकार्मारोङ गाँउपालिकाले ९९ लाख ५० हजार राजश्व संकलन गरेको थियो । यो बर्ष गाँउपालिकाले यार्सा संकलनबाट एक करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । यस्तै वन डिभिजन कार्यालयले व्यापारीबाट सात लाख राजश्व संकलन गरेको थियो । तर यसपाली उक्त राजश्व गुमेको हो ।

गुम्यो आम्दानी, खोसियो गास

यार्सा संकलन गर्न नपाएपछि कर्णालीमा धेरै परिवारको गास खोसिएको छ । यार्साबाट लाखौं आम्दानी गर्दै आएका परिवार यसपाली भोकमरीको चिन्तामा छन् । जाजरकोटको बारेकोट गाँउपालिका वडा नम्बर ३ का मुनबहादुर नेपालीले भने,‘यार्सा संकलन गरेरै घरखर्च टार्ने गरेको थिएँ, यसपाली यार्सा संकलन गर्न नपाउँदा वर्षभरी खाने आम्दानी नै गुम्यो । घरमा अरु खेती छैन, अब कसरी जहान केटाकेटी पालौं ? घरखर्च चलाउनै समस्या हुनेभयो ।’ स्थानीय रनमान बुढाको परिवारले यार्सा संकलनबाटै वर्षमा एकलाख पचास हजारसम्म कमाउँथ्यो । तर यसपाली आम्दानी गुमेपछि यो परिवार पनि भोकमरीको चिन्तामा छ ।

मुगुका बासिन्दा पनि यार्सा संकलन गर्न नपाएपछि रोजीरोटी गुमेको पीडामा छन् । मुगुमकार्मारोङ गाँउपालिका वडा नम्बर ८ का छिरिङ्ग तामाङ्ग भन्छन्,‘हाम्रो आम्दानी भनेकै यार्सा हो, यसपाली टिप्न पाइएन । कोरोनाका कारण यार्सा टिप्न पाएनौं, अब सरकारले राहत नदिए भोकै मर्ने अवस्था भयो ।’ सोही ठाउँका च्यावा तामाङ्गले अघिल्लो बर्ष यार्सा संकलनबाट दुई लाख आम्दानी गरेका थिए । तर यसपाली आम्दानी गुमेपछि घरखर्च कसरी चलाउने भन्ने चिन्तामा रहेको उनले सुनाए । कर्णालीका धेरै परिवार यतिबेला यार्सा संकलनबाट हुने आम्दानी गुमेपछि छाक टार्ने पीरलोमा छन् ।

अन्तर्राष्ट्रिय बजारमा पुग्थ्यो यार्सा

कर्णालीमा पाइने यार्साको मुख्य बजार अन्तर्राष्ट्रिय बजार नै हो । स्थानीयले संकलन गरेको यार्सा व्यापारीहरुले विदेश निर्यात गर्दथे । बार्षिक एक अर्बभन्दा बढीको यार्सा कारोवार हुने गरेको यार्सा ब्यापारी प्रेम बोहराले बताए । उनकाअनुसार नेपालको यार्सा चीन, भारत, तिब्बत र हङकङ्गतर्फ निकासी हुने गरेको थियो । व्यापारीहरुले हेलिकोप्टर नै चार्टर्ड गरेर यार्सा खरिद गर्ने गरेका थिए । यार्सा संकलन नभएपछि आफूहरुले पनि घाटा बेहोरेको व्यापारीहरुको भनाइ छ । प्रतिगोटा पाँचसय देखि दुईहजार रुपैयासम्म पर्ने यार्सा प्रतिकिलोको कम्तिमा १५ लाख रुपैयाँमा बिक्रि हुने गरेको व्यपारी बताउँछन् ।

बार्षिक ५० लाख सम्मको यार्सा कारोवार गर्ने गरेको बताउँदै जाजरकोटका ब्यापारी कालीबहादुर बस्नेतले जाजरकोटमा हरेक वर्ष यार्साबाटै १० करोड रुपैयाँ भित्रिने गरेको सुनाए । डोल्पाबाट हरेक बर्ष दुईसय क्वीन्टलसम्म यार्सा चिन, हङकङ, सिंगापुर लगायतका देशमा निर्यात हुने गरेको डिभिजन वन कार्यालय डोल्पाले जानकारी दिएको छ । बर्षमा २० किलो सम्मको यार्सा ब्यापार गर्ने यज्ञ बुढाले यो बर्ष सरकारले खुला नगरेपछि ठुलो आर्थिक चपेटामा परेको बताए ।

तपाईको प्रतिक्रिया