क्वारेन्टाइन व्यवस्थित बनाउन सुझाव

सुर्खेत, २३ असार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गाउँ कमिटी बराहतालले गाउँपालिकाले निर्माण गरेका अधिकांश क्वारेन्टाइन मापदण्ड विपरित रहेको निस्कर्ष निकालेको छ । गाउँ कमिटी अध्यक्ष ओमबहादुर महतराको अध्यक्षतामा सोमबार बसेको बैठकले क्वारेन्टाइन मापदण्ड विपरित रहेको दावी गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलन नदिन भारत लगायत अन्य ठाउँबाट आएका मानिसलाई राख्न बनाइएका अधिकांश क्वारेन्टाइन मापदण्ड अनुसारका नहुँदा नागरिकले समस्या भोग्नु परेको बैठकको निस्कर्ष छ । बैठकमा सहभागीले लकडाउनका बेला गाउँपालिकाले न्योचित राहत वितरण गर्न नसकेको औल्याए । गाउँकमिटीको चौथो बैठकले क्वारेन्टाइन र राहत वितरण बारे समिक्षा गर्दै क्वारेन्टाइन व्यवस्थित बनाउन सुझाव दिएको छ ।

बैठकले गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम र हाल सम्पन्न हुन लागेका योजनामा सुधार ल्याउँनु सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको हो । गाउँ कमिटी सचिव बलबहादुर कठायतले नेकपा केन्द्रमा देखिएको विवादलाई पार्टीको बिधानमा रही बलियो एकताका साथ अघि बढ्नु पर्ने तर्क गरे । साथै गत जेठ ९ गते ५ नं. वडा कमिती अध्यक्ष सर्बजित गरंजामगरको असामयिक निधन प्रति शोक व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया