गाडी गुडाउने सपना, खच्चड हिड्नै मुस्किल

हेमन्त केसी

जाजरकोट, २३ असार ।

बर्षाको झरीसँगै भिरालो जमिन, बलौटे माटोमा निर्माण गरिएका विकास निर्माणको काम छिनभरमै विनास हुँने गरेको छ । जथाभावी डोजर प्रयोग गरेर निर्माण गरिएका सडकहरु वर्षायामको झरीसँगै छिनभरमै बग्ने गरेका छन् । असार महीनामा मात्र बढी डोजरहरु प्रयोग गरी सडक तथा अन्य विकास निर्माणका काम हुँदा बर्षाको झरीसँगै सवै सडक बग्ने गरेको छ ।

जाजरकोटको बारेकोट ,शिवालय,जुनिचाँदे,कुशे गाउँपालिका , छेडागाड, भेरी र नलगाड नगरपालिका भित्रका अधिकांश नयाँ सडकहरु बर्षाको झरी सँगै सडकहरु बगेका छन् । वातावरणीय प्रभाव मुल्याकंन विना नै डोजर चालक नै ईन्जिनियर भएर गाउँ पिच्छे लगिएका सडकहरुमा अहिले खच्चड समेत चल्न मुस्किल भएको छ । गाउँ , गाउँमा सडक लिएर हिड्ने दुखबाट उन्मुक्ती पाउने आशा व्यक्त गरेका स्थानीयवासीहरु सडकले नै खेतीयोग्य जमिन बगाउदा हैरान भएका छन् ।

जथाभावी सडक लिएर धानबाली लगाएको खेत पुरिदिएपछि शिवालय गाउँपालिका –५ की पानसरी रेग्मी पहिराले पुरिदिएको खेतमा गई निरास भएको बताए । उनले भने, “ धेरै दुख गरेर खेतमा धान रोपियो , तर अहिले सवै सडकबाट आएको पहिरोले पुरिदिएछ कसलाई के भन्यौँ ।” उनका अनुसार गाउँ ,गाउँमा खनिएका सडकहरुले घरहरु समेत जोखिममा परेका छन् ।

गाउँको टाँठा , बाँठाहरुले डोजर चालकलाई आफू अनुकूल विना प्राविधिक स्टामेट सडक घुमाउन लगाउदा समस्या भएको हो । गाडी गुड्ने सपनाका साथ खनिएका सडकहरुमा खच्चड नै चल्न नसक्ने अवस्था आएपछि गाउँ , गाउँमा हैरान भएको छ ।

जुनिचाँदे गाउँपालिका – १ काप्रा , बेसीपाटा ,पन्चाला हुँदै जुनिसडक खण्डको लोड्ने लगाएतका दर्जन ठाउँमा मापदण्ड विपरित सडक निर्माण हुँदा गाडी चल्न सक्ने अवस्था नरहेको स्थानीयवासी रेशम खड्काले जानकारी दिए । निर्माण व्यवसायीको चरम लापरवाही र सरोकारवाला निकायले चाँसो नदिदा यो सडक खण्डमा यातायातका साधनहरु सञ्चालन गर्न मुस्किल भएको हो ।


यही ठाउँमा हप्ता दिन अघि जिप दुर्घटना हुँदा पाँच जना घाईते भएका थिए । त्यस्तै भेरी नगरपालिका –२ रिसाङबाट बाहुनथाना सम्माको सडकमा दैनिक यातायातका साधनहरु सञ्चालन गर्न मुस्किल हुँदै आएको छ । नलगाड नगरपालिकाको नलगाड जलविद्युत आयोजनाले निर्माण गरेको कालीमटी – सिर्के सडक खण्डमा पानी पर्न वितिकै यातायातका साधनहरु चल्न सक्ने अवस्था नरहेको स्थानीयवासी नरेन्द्र ओलीले जानकारी दिए ।

जथाभावी ठाडो डाडामा (काल्लो) सडक खन्दा यातायातका साधनहरु सञ्चालन गर्न मुस्किल भएको हो । त्यस्तै बारेकोट गाउँपालिकाले निर्माण गरेका आन्तरिक सडकहरुमा समेत यातायातका साधनहरु चल्न सक्ने अवस्था कम्जोर रहेको छ । यहाँ निर्माण भएका सडकहरु डोजरबाट खनिएका कारण ठाउँ , ठाउँमा पहिरो जाँदा यातायातका साधनहरु ,(खच्चड) चल्न सक्ने अवस्था कम्जोर भएको हो । छेडागाड नगरपालिकामा समेत आन्तरिक रुपमा निर्माण गरिएका सडकहरु दुई हप्ता देखि परेको अविरल वर्षाले सवै क्षतविच्छेद पारिसकेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट दिनमा निर्माण गरिएका सडकहरु बेलुकी परेको पानीले बगाउदा, निर्माण गरिएका सडकहरु निर्माण नगरे झैँ भएको रोजगार संयोजकहरुले बताएका छन् । दैनिक कामहरु खटिएर गरिएको छ तर झरीसँगै गरिएको पहिरो र भलले सवै बगाउदा प्रतिफल दिन नसक्दो रहेछ शिवालय गाउँपालिकाका रोजगार संयोजक प्रकाश पौडेलले बताए ।

वर्षेनी खडक खन्दै, पुर्दै

जाजरकोट लगाएत कर्णाली प्रदेशका अधिकांश स्थानीय तहमा निर्माण भएका सडकहरु वर्षेनी निर्माण गदै र वर्षायाममा पुर्दै गर्दा करोडौँको आर्थिक नोक्सान हुँदै आएको छ । वातावरणीय प्रभाव मुल्याकंन नगरी निर्माण गरिएका सडकमा हिउँद याममा समेत मुस्किलले जिपहरु सञ्चालन हुँने गरेपनि वर्षायाममा पुरै ठप्प हुँने गरेका छन् । बिभिन्न स्वार्थका कारण जथाभावी माटो जाँच विना लिईएको सडकले अधिकांश ठाउँमा विनास समेत ल्याएको छ । भारी जमिनमा पहिरो तथा भुक्षय समेत गएको छ ।

जसले गर्दा धेरै खेतीयोग्य जमिन मासिएको पाईएको छ । प्रदेशबाट निर्माण गरिएका सडक तथा विकास निर्माणका अधिकांश ठाउँमा वातावरणीय प्रभाव मुल्यांकन नगरी पहुँचको भरमा योजना दिदा लथालिङ भएको कार्यालयका प्रमुखले बताएका छन् । आफूहरुले पठाएको योजना भन्दा अकै योजना आउदा काम गर्न गाह्रो भएको उनीहरुको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार