कर्मचारीमा कोरोना देखिएपछि गेटमै कागज संकलन

अमर सुनार

दैलेख, २३ असार ।

नारायण नगरपालिकाका छ जना जनप्रतितिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवाग्राहीका काम मूलगेटमै कागजपत्र संकलन गर्न थालिएको छ । एक महिला जनप्रतिनिधि, एक जना वडाध्यक्ष र दुई शाखा प्रमुख समेत चार जना कर्मचारीमा आइतवार कोरोना पुष्टि भएको थियो ।

सेवाग्राहीले गेटमै कागजपत्र छोड्ने र कर्मचारीहरुले सम्वन्धित फाँट पु¥याई काम सम्पादन गर्ने व्यवस्था मिलाइएको छ । भीडभाड हुन नदिन वाध्यतावस त्यसो गरिएको नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाललीले टिप्पणी गरे । कार्यालयको मूलगेटमै कागजपत्र संकलन गर्ने प्रवन्ध मिलाएपछि रितपुगेका काम छिटो गराउन सहज भएको नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले बताए । ‘सबैले भित्र जाँदा पहुँचवालाको काम छिटो हुन्थ्यो, अहिले प्रक्रिया पुगेकाहरुको काम हुन्छ’ नगरप्रमुख खड्काले भने ।

आर्थिक वर्षको अन्तिम समय परेको कारण सुरक्षाका विभिन्न उपाय अपनाएर दैनिक प्रशासनिक काम सञ्चालन गरिएको नारायण नगरपालिकाका सूचना अधिकारी निरकबहादुर रावलले बताए । ‘आर्थिक वर्षको अन्तिम समय नभएको भए नगरपालिका सिल गर्नुपर्ने हुन्थ्यो’ रावलले भने । कोरोना संक्रमण पुष्टि भएका एक महिला जनप्रतिनिधि, एक महिला कर्मचारी र अर्को एक पुरुष कर्मचारीले आफ्नै घरमा आइसोसेलन बस्न चाहेको कारण घरमै बस्नु भएको र सबैको स्वास्थ्य अवस्था राम्रो रहेको नारायण नगरपालिकाका स्वास्थ्य शाखाका सिअहेब लालबहादुर खड्काले बताए ।

नारायण नगरपलिका कार्यालयमा आइतवार ४८ जनाका नोजल स्वाव संकलन गरिएकोमा दैलेख प्रयोगशालाले गरेको परीक्षणमा छ जना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए ।

दैलेख प्रयोगशाला गत सोमवारदेखि परीक्षण थालिएको एक साता अवधिमा तीन सय ११ जनाको परीक्षण गरिएका मध्ये २५ जना कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । संक्रमितहरुको त्यो संख्यामा १० जना पुरोना संक्रमितहरु दोश्रो पटक कोरोना देखिएको दैलेख ल्यावका इञ्चार्ज शंकर शाहीले बताए ।

तपाईको प्रतिक्रिया