राखेपको कार्यवाहक सदस्य सचिवमा ढकाल

सुर्खेत, २२ असार ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कार्यवाहक सदस्य सचिवमा सुर्खेतका भक्तबहादुर ढकाललाई नियुक्त गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले आज (सोमवार) ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । मन्त्रालयको खेलकूद विभाग महाशाखाका प्रमुख रहेका ढकाललाई आइतबारको मन्त्रीस्तरीय निर्णयानुसार सदस्य–सचिवको जिम्मेवारी दिइएको हो ।


राष्ट्रिय खेलकूद विकास ऐन, २०७७ को दफा १७ को उपदफा ९१२० बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि राखेपको सदस्य–सचिवले गर्ने कार्य गर्ने गरी ढकाललाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । नयाँ खेलकूद विकास ऐन बिहीबारदेखि लागू भएको थियो । खेलकूद विकास ऐन, २०४८ निष्कृय भएसँगै राखेपमा सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनालगायत बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो । नयाँ ऐनमा सदस्य–सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने व्यवस्था गरिएको छ ।

समितिले योग्यता पुगेका व्यक्तिबाट सदस्य–सचिवका लागि एक महिलासहित तीन जनाको नाम मन्त्रालयलाई सिफारिस गर्ने प्रावधान छ । समितिबाट प्रस्तावित नाम मन्त्रालयले नियुक्तिका लागि मन्त्रिपरिषद्समक्ष पेश गर्नेछ । मन्त्रिपरिषद्ले उपयुक्त ठानेको व्यक्तिलाई चार वर्षका लागि सदस्य–सचिवमा नियुक्त गर्ने नयाँ खेलकूद ऐनमा व्यवस्था गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार