साढे १२ सयले जिते कोरोना

सुर्खेत, २२ असार ।

कर्णाली प्रदेशमा हालसम्म १२ सय ३१ जनाले कोरोना जितेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्म १२ सय ३१ जना कोरोना संक्रमण मुक्त भएका हुन् । कर्णालीको कोरोना इपीसेन्टर भनेर चिनिने दैलेखमा मात्रै सातसय तीन जनाले कारोना जीतेर घर फर्किएका छन् ।

स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार दैलेखका कोरोना संक्रमित सातसय ८६ जनामध्ये ६ सय ५५ जना पुरुष र ४८ जना महिला संक्रमणमुक्त भएका छन् । जसमा दैलेखको नारायण नगरपालिकामा दुईसय २३, दुल्लु नगरपालिका ७२, आठबिस नगरपालिका २०, ठाटिकाध गाउँपालिका तीन, भैरवी गाउँपालिकामा पाँच, महाबु गाउँपालिकामा एकसय ६३, नौमुले गाउँपालिका एकसय ३९, भगवतीमाई गाउँपालिका चार, डुंगेश्वर गाउँपालिकाका ६६ र गुराँस गाउँपालिकाका आठ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

अब दैलेखमा एकसय ३१ र प्रदेशभर दुईसय ६१ जना कोरोना संक्रमित विभिन्न आइसोलेसनमा बसेका छन् । आइतबारमात्रै प्रदेश अस्पतालबाट १३, मेहलकुना अस्पताल सुर्खेतबाट तीन, गुर्भाकोट आइसोलेसन सुर्खेतबाट तीन, सल्यान अस्पतालबाट पाँच र कालिकोट अस्पतालबाट दुईजना गरी कुल ३० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रणमुक्त हुनेको संख्या घट्दै जाँदा नयाँ थपिनेक्रममा पनि कमी आएको छ ।

कर्णालीमा आइतबार नौ जना संक्रमित थपिएका छन् । दैलेख अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप नौ जना संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दैलेख जिल्ला अस्पतालमा गरिएको परीक्षणमा आठ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण फेला परेको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ संक्रमितमध्ये दैलेखका पाँच, सुर्खेत, सल्यान, चितवन र नवलपरासीका एक÷एक जना रहेका छन् । योसँगै कर्णालीमा संक्रमितको संख्या १४ सय ९८ पुगेका छ ।

तपाईको प्रतिक्रिया