कृषकलाई सिँचाईमा सकस

सुर्खेत, २२ असार ।

चौकुने गाउँपालिका–९ घाटगाउँका कृषकलाइ सिँचाईमा सकस भएको छ । गाउँमा सिँचाई सुविधा नहुँदा उनीहरुले लगाएको तरकारी बारीमै सुक्न थालेको छ । गाउँमा सिँचाईको अभावले खेती गर्न समस्या भएपछि गाउँलेहरुले समस्या समाधानका लागि हारगुहार गरेका हुन् ।

यसअघि घाटगाउँमा व्यवसायीक तरकारी खेती गर्ने चलन थिएन । तर कृषकले तरकारी खेती गर्न थालेपछि सिँचाई समस्याले सकस भएको हो । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दलित जनजाती लक्षित कार्यक्रम अन्तर्गत ४० लाख रुपैंया बराबरको कार्यक्रमबाट उपसभामुख पुष्पा विष्ट घर्तीमगरले घाटगाउँका कृषकलाई तरकारी टनेल उपलब्ध गराएपछि सिँचाईको माग बढेको हो ।

उनको छनोटमा घाटगाउँमा तीन सय घरधुरीमध्ये कसैलाइ बाख्रा र कसैलाइ तरकारी खेतीका लागि टनेल अनुदान दिइएको छ । अनुदान पाउनेमध्ये साठी प्रतिशत घरधुरी दलित समुदायका छन् । ती दलित समुदायका पचास प्रतिशत नागरिक ज्याला मजदुरी गर्नका लागि भारतका विभिन्न शहरमा काम गर्न जाने परम्परा कायमै छ । सोही परम्परा तोड्नका लागि भन्दै कृषकलाई कृषि पेशामा आकर्षण गर्न कार्यक्रम छनौट गरिएको उपसभामुख घर्तीले बताईन् ।

कम्तिमा यहाँका नागरिकले तरकारी खान सिकुन, बालबच्चाले पोषण पाउन र कुपोषित हुन नपरोस भन्ने कार्यक्रमको ध्येय हो । कार्यक्रमबाट घाटगाउँका बीस घरमा तरकारी टनेल निर्माण गरिएको छ । भने ६ घरमा ३५ वटाका दले लोकल कुखुरा पालन सुरु भएको छ । यस्तै ३२ घरमा दुइ वटा वोयर जातका पाठाका दरले चौसट्ठी वटा पाठी र दुइ वटा बोयर जातको बोका वितरण गरिएको छ । ‘गाउँमा तरकारीबाट जीविकोपार्जन गर्न सकिन्छ भन्ने बुझाइ थिएन ।

तरकारीबाट पनि सजिलै आन्दानी लिन सकिने रहेछ’ कृषक देउसरी विकले भनिन्, ‘तर तरकारी उत्पादनका लागि सिँचाई सुविधाको अभाव छ । तरकारी टनेल पायौं अब सिँचाई समस्या समाधानका लागि पनि पहल गरियोस् ।’ सिँचाई समस्या र तरकारीमा रोग किराको प्रकोपले टनेलमै तरकारी कुहिने अवस्था भएको उनले बताइन् । कृषक प्रदिप नेपालीले आम्दानीका लागि व्यवसायीक रुपमा बाख्रा पालन गरेकोले अब काम खोज्दै भारत जान नपर्ने बताए । कृषि विकास निर्देशनालयका सूचना अधिकारी यामबहादुर रानाले अपेक्षा अनुसार नागरिकले काम नगरेको भन्दै जीविकोपार्जनमा सुधार आउने गरी काम गर्न अनुरोध गरे ।

तपाईको प्रतिक्रिया