प्रशान्ती धार्मिक वनमा ठेकेदारको मनपरी

सम्बन्धित निकाय बेखबर

सुर्खेत, २१ असार ।

सुर्खेतमा रहेको प्रशान्ती धार्मिक वनमा ठेकेदारहरुले मनपरी रुपमा ढुंगा, गिट्टी, र बालुवा राखेर रजाई गरेका छन् । वीरेन्द्रनगर ११ मा रहेको प्रशान्ती धार्मिक वनमा ठेकेदारहरुले चारबर्षदेखि मनपरी रुपमा ढुंगा, गिट्टी, र बालुवा राखेर रजाई गर्दै आएका हुन् ।

उनीहरुले वन नै नष्ट हुने गरी ढुंगा, गिट्टी, र बालुवा राख्दा समेत नियमक निकाय भने मुखदर्शक बनेर बसेको छ । डिभिजन वन कार्यालय सुर्खेत र प्रशान्ती धार्मिक वनसंग कुनै पनि सहमती नगरी ठेकेदारहरुले आफुखुशी वनमा रजाई गर्दै आएका छन् । भेरीपुलको दक्षिणतर्फ वनलाई नोक्सान गरेर ठुल्लो मैदान बनाएर ठेकेदारहरुले गिट्टी र बालुवा जम्मा गर्ने गरेका छन् ।

धार्मिक वन सम्बन्धी व्यवस्था वन ऐन २०४९ मा कुनै धार्मिक स्थल वा त्यसको वरिपरी कुनै कार्य गर्न नपाईने नियम छ । तर अहिलेसम्म उनीहरुलाई कुनैपनि निकायले रोकतोक गरेको छैन । वनको उपयोग गर्नुपरे धार्मिक निकाय, समुदायले वनको क्षेत्रफल, चार किल्लाका विवरणहरु खुलाई डिभिजनल वन अधिकृत समक्ष निवेदन दिनु पर्ने व्यवास्था रहेको छ ।

तर उनीहरुले कानुन नियमको खिल्ली उडाउदै बर्षादेखि यसरी ढुंगा, गिट्टी, र बालुवा राख्दै आएका छन् । आर्थिक बर्ष २०७१÷७२ मा धार्मिक प्रयोजनको लागी दर्ता भएको १९ दशमलव ४५ हेक्टर क्षेत्रफल वन प्रशान्ती धार्मिक वनका नामबाट प्रशान्ती वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ अध्यक्ष रहने गरी डिभिजन वन कार्यालयमा दर्ता भएको छ ।

प्रशान्ती वृद्धाश्रम सचिव चेत अधिकारीले वन क्षेत्रमा के भईरहेको छ भन्ने समेत आफुलाई कुनै जानकारी नभएको बताए । संस्थाका सदस्य भद्र भण्डारीले २०७३ सालमा आश्रमको पहमा एक हजार भन्दा बढि विभिन्न जातका विरुवाहरु वृक्षारोपण गरिएपनि अहिले त्यसक्षेत्रमा कुनै पनि रुखविरुवा नभएको जिकिर गरे ।

उनले यस विषयमा डिभिजन वन कार्यालयलाई पत्राचार गर्दा समेत कार्यालयले वेवास्ता गरेको उल्लेख गरे । अहिले धार्मिक वन क्षेत्रमा नयाँ रोपेका विरुवा पुर्ण रुपमा नस्ट भएका छन् भने अन्य रुख विरुवाहरु समेत सुकेका छन् ।

अहिले धार्मिक वनमा टिपर डोजर, ट्याक्टर आवत आजवतले जंगलमा रहेका बोटबिरुवा संगै जंगली जनवार र त्यहाँ रहेको बौद्ध गुम्वालाई समेत असर गरेको स्थानियको भनाई छ । धार्मिक वनमा वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने गरी वा सार्वजनिक रुपमा हानी नोक्सानी हुने गरी रुख कटान गर्न नपाइने कानुनी व्यवस्था छ ।

धार्मिक वनको अनुगमन डिभिजन वन अधिकृतले गर्ने कानुनी व्यवस्था भएपनि अनुगमन भने भएको छैन । यता डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्दप्रसाद दाहालले त्यसक्षेत्रमा के भईरहेको छ भन्ने आफुलाई कुनै जानकारी नभएको बताए । उनले आज नै त्यसक्षेत्रको प्रत्यक्ष अवलोकन गरेर वास्तविकता पत्ता लगाउने जानकारी दिए ।

अहिले त्यस क्षेत्रमा ढुंगा, गिट्टी, र बालुवा झन्डै दुई हजार टिपर भन्दा धेरै रहेको स्थानियले बताएका छन् । ठेकेदारहरुले अन्य समयमा नजिकै रहेको झुप्रा खोला र भेरीबाट नदिजन्य पदार्थ निकाल्ने र बर्षादको समयमा महंगो मुल्यमा विक्रिवितरण गर्ने गरेका छन् ।

गतबर्ष वीरेन्द्रनगर नगरपालिकाले ८४ हजार घनमिटर ढुंगा, गिट्टी, र बालुवा उठाउनको लागि एक कोरोड ७६ लाखमा टेन्डर गरेको थियो । नगरपालीकाको फितलो अनुगमन आर्थिक चलखेलका कारण बर्षेनी टेन्डर भएको भन्दा कम मुल्यमा दिने छ ।

ठेकेदारहरुले डोजर लगाएर नदिजन्य पदार्थहरुको उत्खन गरेर झुप्रामा बसोबास गर्ने दलित समुदायको वस्तीनै जोखिम परेको छ । अहिले सुर्खेतका विभिन्न ठाँउमा जम्मा गरेर राखेको ढुंगा, गिट्टी, र बालुवा नगरपालिकाले टेन्डर गरेको भन्दा धेरै रहेको छ ।

तपाईको प्रतिक्रिया